मेचीनगरमा महिला हिंसा विरुद्धको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

काँकरभिट्टा ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा झापाको मेचीनगर नगरपालिकामा महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सकिएको छ ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले आयोजना गरेको कार्यक्रम विहीबारबाट शुरु भएको थियो । अभिमुखीकरणमा सहभागीहरुलाई अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, महिला हिंसाको स्वरुपमा परिवर्तन, हिंसा निवारणका लागि ध्यान दिनुपर्ने विषयवस्तु समेटिएको अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।

अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा नै विवाद निरुपण हुन सकेको खण्डमा अंगभंग हुने, आत्महत्या गर्नै, हत्या हुने अवस्थासम्म पुग्ने जोखिम न्यून रहने र प्रारम्भिक चरणमै विवाद निरुपणका लागि नजिकको भरपर्दाे निकाय स्थानीय तह नै रहेको जानकारी गराउनुभयो ।

महिला हिंसा निवारणमा स्थानीय तहले राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालय, महिला सेल अदालत नागरिकस्तरका संघ संस्थासँग हिंसाका घटनामा र महिला सशक्तिकरणका लागि अन्य सम्बन्धित निकायसँग सक्रिय सहकार्य बढाउन रहेको आवश्यकता औल्याउनुभयो । नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकामा हिंसाका घटना कम गर्न कस्तो नीति बनाउने तथा त्यसमा कसरी वजेट विनियोजन गर्ने भन्ने विषयमा समेत चर्चा गरिएको थियो । यस विषयमा नगरपालिका, गैरसरकारी संघ संस्था र वडास्तरीय मेलमिलापसतिका अलग अलग ग्रुप बनाएर छलफल गरिएको थियो ।

नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेलका अनुसार कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिसहित २५ जना सहभागी छन् । समापनका अवसरमा महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्की माइती नेपालका गोविन्द घिमिरेले समेत लैङ्गिक हिंसाका बारेमा विचारमा राख्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here