तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
सरगम संगीतालय बिर्तामोडको आयोजनामा स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीको अध्यक्षता तथा साहित्यकार , गीतकार भगवति ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सरगम संगीतालयका संगीत प्रशिक्षक मणी वर्देवाले स्वागत गरेका थिए ।
कार्यक्रममा बहुमुखी प्रतिभाका धनी मातृकाप्रसाद संग्रौलालाई सम्मान गरिएको थियो । नाकले अनेक –अनेक भाकामा मुरली र मुखले हार्मोनियम बजाउने साथै लेखन, वाद्यवादन, भजनकीर्तन एवं नृत्यमा पारंगत संग्रौलालाई साहित्य र संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप दोसल्ला,खादा र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापा , बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले स्वरसम्राट नारायण गोपालले गीत तथा संगीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा सरगम संगीतालयका कलाकारहरु अनुजा कडरिया , योगिता तिम्सिना , कृपा पौडेल , स्वरसम्राट नारायण गोपालले गाएका मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले , बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत गाएका थिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ , बिर्तामोड वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली , मानवअधिकारकर्मी विष्णु खरेल , भजन गायक राजु अधिकारी , पं दिनानाथ सिग्देल , जनक खड्का , देवी संग्रौला ,कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सरगम संगीतालयले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन मदनआश्रित चुडालले गरेको कुमार कडरियाले जानकारी दिए ।