छाला सुख्खा हुनबाट जोगाउनुनै पचास प्रतिशत समाधान हो

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

– डा. गुरु पौडेल (छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ दमक अस्पताल)

डा. गुरु पौडेल दमक अस्पतालमा कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर हुन । इलाममा बाल्यकाल बिताएका पौडेलले नोबेल मेडिकल कलेज विराटनगरबाट छात्रवृत्ती कोटामा एमबीबीएस र धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला , यौन तथा कुष्ठरोगका बिषयमा विज्ञता हासिल गरेका हुन । एमबीबीएस पूरा गरेपछि जिल्ला अस्पताल ताप्लेजुङमा २ बर्ष मेडिकल अधिकृतको रुपमा उनले सेवा प्रदान गरे ।

वीपिबाट एमडी कोर्ष ( विज्ञता हासिल गरेपछि ) दुई बर्षका लागि उनलाई सेवाकोे अवसर दमक अस्पतालमा जुरेको हो । प्रस्तुत छ डा. पौडेलसग स्वास्थ्य सेवामा प्रवेशको अनुभव र स्वास्थ्य सरोकारका बिषयमा केन्द्रित भएर गरिएको कुराकानीको सार संक्षेप ः

स्वास्थ्य बिषयमा धेरै जसो बिद्यार्थीहरु एमबीबीएस अध्ययन पश्चात विदेशलाई रोज्ने गर्छन तपाइँ किन यतातिर लाग्नु भयो ?

हो धेरैको आकर्षण अहिले विदेशका युनभर्सिटीहरुमा छ यो कुरामा म सहमत छु तर विदेश अध्ययनको अवसरलाई उपयोग गरेर धेरै जनशक्ति उतै पलायन भएको पाइन्छ । यसो गर्नु मलाई राम्रो लागेन । विदेशमा कमाई त धेरै गर्न सकिएला तर हाम्रो स्वदेशप्रति एउटा जिम्मेवार नागरिकको जिम्मेवारी पूरा गर्न सकिँदैन । यही माटोमा हामी जन्मियौं, हुर्कियौं, यहिं ज्ञान हासिल गरिरहेका छौं, केही कुरा सिकिरहेका छौं यो अवसर हामीलाई हाम्रो माटोले दिएको छ । त्यसकारण हामी हाम्रो देश र हाम्रो माटोप्रति ऋणी हुनुपर्छ । त्यो ऋण हामीले यहींका जनताको सेवा गरेर मात्रै तिर्न सक्छौं । मलाई अन्तर ह्रदयदेखि लागेको कुरा हो यो । यही भावनाका कारण मैंले विदेशका अवसरहरुलाई रोजिन । मलाई स्वदेशमै सेवा गर्ने इच्छाले यहा ल्याएको हो ।

तपाइले एमडी गर्दा छाला तथा यौन रोगको बिषय नै किन रोज्नु भयो ?

कतिपय व्यवहारिक कारण पनि छन तर त्यो भन्दा महत्वपूर्ण कारण चाहिं म दुई बर्ष जति ताप्लेजुङमा मेडिकल अधिकृतका रुपमा रहदा त्यहाँ आउने विरामीहरुको अवस्था हेरें । छालाको समस्याका कारण कतिपय मानिसहरु निक्कै धेरै तनावमा पनि हुने गर्दा रहेछन । अधिकतम मानिसहरुमा यो समस्या हेर्दा हेर्दै बढेर जाने हुदो रहेछ । अहिलेको समय स्वास्थ्य त्यसमा पनि सबैभन्दा पहिला देखिने अंग छालाको हेरचाह र संरक्षण अत्यन्तै जरुरी छ । यो बिषयमा विज्ञता हासिल गर्दा यसका माध्यमबाट अधिक मानिसहरुको सेवा गर्ने अवसर पनि जुर्दो रहेछ । त्यही भएर मैंले यो बिषयलाई रोजेको हुँ ।

दमक अस्पतालमा यहाँको अनुभव कस्तो छ ?

म त्यति लामो समय भएको छैन यहाँ ( दमक ) आएको भर्खर भर्खरै हो । यो अस्पताल पनि भर्खरै अपग्रेड भएको अस्पताल रहेछ । पीएचसीबाट जिल्ला अस्पतालमा स्तरोन्नती गरिएको यो अस्पतालमा भर्खरैदेखि सशक्त र दक्ष जनशक्ति उपलब्ध हुदै गरेको पाएँ । अस्पतालका डाक्टरदेखि सबै स्वास्थ्यकर्मीहरुबीचमा एकदमै सौहार्दपूर्ण व्यवहार पाएँ । स्वास्थ्य बीमा सहितको कार्यक्रम र दक्ष जनशक्तिका कारण यहाँँ बिरामीको चाप पनि रहेछ ।

तपाइँसंग सम्बन्धित ( छाला तथा यौन) समस्या चाहिं कत्तिको पाउनु भएको छ ?

एकदमै यहाँ आउने धेरै बिरामीहरु मध्ये छाला तथा यौन समस्याका बिरामी पनि रहेछन । धेरै जसोमा दाद र इक्जेमाको समस्या पाइयो । छालामा दुई तरिकाबाट समस्याहरु आउने गर्छन – एउटा बाह्य किटाणु र अर्को आफनै भित्रि स्वास्थ्यसमस्या । यसबाहेक यौन रोगको समस्या भएका बिरामी पनि आइरहेका छन ।

तपाइँ एक जना विशेषज्ञ डाक्टर हुनुहुन्छ छाला सम्बन्धिका अधिक समस्या भएका युवायुवतीहरु धेरै हुन्छन कसरी आफनो छालालाई स्वस्थ राख्न सकिन्छ कुनै सुझावहरु छन कि ?

अवश्य पनि छाला सबैको सरोकारको अंग हो । मानिसको पहिलो नजरनै छालामा पर्ने गर्छ । त्यसकारण आफनो छालालाई स्वस्थ राख्नु जरुरी छ । छाला सम्बन्धिको आधा अर्थात ५० प्रतिशत समस्या छाला सुख्खाका कारणले हुने गर्दछ । छालालाई सधैं सुख्खा हुनबाट नियमित पर्याप्त मात्रामा नरिवलको तेल प्रयोग गर्न सकिन्छ । यदी छालामा कुनै विशेष किसिमको समस्या नआउदैदेखि सधैं चिल्लो राखिरहन सकियो भने छाला सुरक्षित हुन्छ । त्यसबाहेक छालामा रहेका अन्य समस्याहरुका आधारमा आफनो गच्छे अनुसार अलि गुणस्तरका क्रिम तथा लोसनहरुको पनि प्रयोग गर्न सकिन्छ ।

क्रिमहरुको प्रयोगले छाला नै विग्रिएका र विभिन्न समस्याहरु देखापरेका गुनासाहरु पनि आउँछन नि ?

ठिक हो, जुनसुकै क्रिम वा लोसनहरुको जथाभावी प्रयोगले त्यस किसिमका समस्याहरु आउँछन । तर सबै लोसन वा क्रिमको प्रयोगले सबैमा त्यो समस्या आउँछ भन्ने हुँदैन । छालाको अवस्था कस्तो छ ? विशेषता के छ ? त्यसका आधारमा मात्रै लोसन वा अन्य औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । हामी कहाँ सुन्दर देखिने होडबाजीमा बिषय विज्ञहरुको परामर्श नलिई जुनसुकै लोसन/ क्रिमहरु वा औषधिको प्रयोग गरिनु हानिकारक हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here