धुलोपीडित स्थानीय भन्छन्– कालोपत्रे कहिले बन्छ ?

0
856

भद्रपुर ।

सरकारको ‘सघन शहरी विकास कार्यक्रम’ मा कालोपत्रे सडक नपारिएको भन्दै धुलोपीडित स्थानीयद्वारा सडक अवरोध गरेका छन् ।

भद्रपुर नगरपालिका–६ र ७ जोड्ने सयपत्री मार्ग अन्तर्गतको बत्तावारीदेखि मन्त्रीचोकसम्मको डेढ किलोमिटर सडक स्थानीयवासीले बिहीबारदेखि अवरोध गरेका हुन् । सडक अवरोध हुँदा आवतजावत ठप्प बनेको छ । स्थानीय प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । सरकारले भद्रपुर नगरपालिकाको सडक स्तरोन्नतिका लागि सघन शहरी विकास कार्यक्रम अन्तर्गत दुई सय करोड रकम छुट्याएको थियो ।

सो बजेटबाट अहिले भद्रपुरमा धमाधम पक्की नालासहित कालोपत्रे सडक निर्माण भइरहेको छ । तर, सदरमुकाम जोड्ने अति व्यस्त सडकलाई भद्रपुर नगरपालिकाले सो योजना नपार्दा अहिले सो क्षेत्रका स्थानीय पीडित बनेका छन् । सघन शहरी तथा भवन विकास आयोजना भद्रपुरले सघन शहरी विकास कार्यक्रम अन्तर्गत सो सडक खण्डमा पक्की नाला र ग्राभेल सडक बनाउने बजेट मात्र छुट्याएको थियो । अहिले यहाँका स्थानीय कालोपत्रे सडक बनाउनुपर्ने र दैनिक पानी हाल्नुपर्ने दुई सूत्रीय माग राख्दै आन्दोलित बनेको स्थानीय उत्तम भट्टराईले जानकारी दिए ।

स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै दबाब स्वरूप धुलोपीडित स्थानीयले सडकमा बाँस तेस्र्याएर अवरोध गरेको उनले बताए । ‘सडक आसपासका स्थानीय धुलो र धँुवाबाट अहिले पीडित छन्– स्थानीय सृजना घिमिरेले भनिन्– ‘धुलोका कारण सडक आसपासका स्थानीय बिरामी पर्न थालिसकेका छन्, तर कालोपत्रे सडक बनाउनुपर्नेमा कसैले चासो देखाएको छैन । नगरपालिका र वडा कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनले बताइन् । यस क्षेत्रमा चिया र दाना उद्योगहरू रहेकाका कारण दैनिक ठूला सवारीसाधन चल्ने गरेका छन् । ‘ग्राभेल सडकमा ती सवारीसाधन चल्दा घरआँगनमा बसी नसक्नुहुन्छ– घिमिरेले भनिन् ।

सघन शहरी तथा भवन विकास आयोजना भद्रपुरले सो सडकमा नाला निर्माणको ठेक्का अरनिको हेवीट्याक्स जेभीलाई दिएको थियो । कम्पनीले साढे ६ किलोमिटर सडक नाला र ग्राभेल सडक निर्माण कार्य सकेको निर्माण कम्पनीका पुष्प निरौलाले जानकारी दिए । आयोजनाबाट ठेक्का लिएको काम सम्पन्न भइसकेको बताउँदै उनले भने– ‘सडकमा बेला बखत गिट्टी, बालुवा हाल्ने काम गरिरहेका छौँ ।’ तर, यसरी समस्याको समाधान हुँदैन । यसका लागि स्थानीय सरकारले चासो देखाउनुपर्छ– उनले भने । ठेक्का लगाउने बेलामै यो सडकलाई छुट्याएको हुँदा अहिले समस्या उत्पन्न भएको बताउँदै उनले भने– ‘मेरो घर जाने सडक पनि यही हो, यसलाई कालोपत्रे बनाउने विषयमा जनप्रतिनिधि र आयोजनाका कर्मचारीसँग कुराकानी गरिरहेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here