निःशुल्क ब्लायङकेट पाउँदा जुकेखाडीका विपन्न उपभोक्ताहरुको मुहारमा खुशी

0
1262

अमित खम्बू /अर्जुनधारा । 

“हामी नहुनेलाई जाडोमा दिनुभयो उपकारै गर्नुभयो,‘आगामी दिनमा पनि यस किसिमको कार्यक्रमले निरन्तरता पाओस् समितिको सबैलाई धन्यवाद दिन्छु ।”

माथि उल्लेखित प्रतिक्रिया झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा शनिबार हर्षित मुद्रामा देखिएका ७७ वर्षीय धनबहादुर बस्नेतको हो ।

रजत वार्षिकोत्सवको सन्दर्भमा समूहले विपन्न उपभोक्ताहरुको लागि ब्लायङकेट वितरण गरेपछि धनबहादुर जस्तै निर्धारित समय भन्दा अघि नै कार्यक्रम स्थलमा पुगेका ब्लायङकेट पाउने सूचीमा रहेका उपभोक्ताहरुको मुहारमा खुशी प्रष्ट झल्किएको थियो ।

त्यस्तै अर्की उपभोक्ता ५५ वर्षीया कृष्णमाया गुरुङले पीडामा रहेको आफूलाई ब्लायङकेट प्रदान गरी समूहले ठूलो गुन लगाएको बताइन् । “ब्लायङकेट दिएझैं अब घर बनाइ दिनु भएको भए थप उद्धार हुने थियो ।”– थप उनले आफ्नो भनाइ राखिन् ।

केहि दिनदेखि मौसममा परिवर्तन भई चिसो बढेका कारण न्यानो कपडाको खोजीमा रहेका उनीहरुलाई समूहबाट निःशुल्करुपमा वितरण गरिएको उक्त ब्लायङकेट ‘ढुंगा खोज्दा देवता मिलेझैं’ भएको भान हुन्थ्यो ।

वार्षिकोत्सवको सन्दर्भमा समूहको सामाजिक उत्तरदायित्व अन्र्तगत सुरु गरिएको यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरि उनले जिल्लामा रहेको ५९ वटा सामुदायिक वनमध्ये आफ्नो वार्षिकोत्सव निरन्तररुपमा मनाउने एक मात्र सामुदायिक वन जुकेखाडी भएको दावी गरेका छन् ।

समूहका अध्यक्ष कट्टेलको अध्यक्षता र अर्जुनधारा–३ वडा समितिका अध्यक्ष जीवकुमार भण्डारी “जीवन”को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समूह अन्र्तगत रहेको ३१ वटा टोलबाट छनौट गरिएको ६२ जनालाई एक लाख पाँच हजार चार सय रुपैयाँ बराबरको ब्लायङकेट वितरण गरिएको थियो ।

संस्थापक अध्यक्ष विष्णुलाल दुलालले समूह स्थापना गर्नुको औचित्य, अनुभवसँगै भोग्नुपरेको समस्या बारे जानकारी गराइएको कार्यक्रममा नगर सभा सदस्य निर्मला घिमिरे, लेखा समिति संयोजक रामकुमार महत, पूर्व उपाध्यक्ष नविनकुमार ओलीलगायतले समूहको उक्त कार्य समय सान्दर्भिक र प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन् ।

समूहका उपाध्यक्ष नारायणप्रसाद पौड्यालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सरिता भण्डारीले गरेकी थिइन् । समूहले कोभिङ–१९ रोगको संक्रमणबाट जोगिन कार्यक्रमका सहभागीहरलाई हात धुने साबुनपानी र ह्यान्ड सेनिटाइजरको व्यवस्थापनसँगै मास्क वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here