कोरोनाको संक्रमणका कारण झापा र सुर्खेतमा थप दुईको मृत्यु

0
1091

झापा ।

कोरोना भाइरस संक्रमणबाट झापा र सुर्खेतमा थप दुई जनाको ज्यान गएको छ । झापाको बिर्तामोड–८ की एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरलले जानकारी दिए । मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।

सुर्खेतमा कोरोना संक्रमित पुरूषको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा पञ्चपुरी नगरपालिका–६, निवासी ५३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको शनिबार साँझ ८ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार मंसिर ९ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कर्णाली प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।

प्रोटोकल अनुसारका सबै उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले बताए ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २० पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here