आफैंलाई चिनौं

0
1105

जीवन छोटो छ । जिन्दगी लामो छ । बाँचुञ्जेल दुःख गरिरहनु पर्छ । जीवनमा कहिले रुनु पर्छ, कहिले हाँस्नुपर्छ । हामी कहिले प्रेम, घृणा, रीस, दया, करुणा विभिन्न अवस्थामा हुन्छौं । समय परिस्थिति अनुसार हाम्रो भावना प्रकट भइरहेको हुन्छ । मान्छे एकदिन मर्छ । यो भौतिक शरीर नरहन सक्छ । तर, उसको चेतना कहिले मर्दैन ।

तपाईं आफ्नो जीवन कसरी बाँचिरहनु भएको छ ? आफ्नो जीवनप्रति अवलोकन गर्नुभएको छ त ? पक्कै पनि छैन । आफैले आफूलाई निहाल्ने फुर्सद छैन । फलानोले पैसा कमायो, गाडी किन्यो, राम्रो कपडा लगायो भनेर चियोचर्चा गर्छौं । डाह, इष्र्या गरिरहेका हुन्छौं । तपाई यो पृथ्वीमा जन्म लिएर आउनुभएको छ । यो सुन्दर जीवन पाउनु भएको छ । के यो जीवनप्रति आभारी भएका छौं त ? कृतज्ञ अनुभव गरेका छौं ? हामी प्रायजसो अरुको जीवन हेर्नमा समय बिताउँछौं । आफ्नो जीवनलाई कहिले हेरेनौं । विचार गरेनौं । कसैले राम्रो भनीदियो खुशी भयौं । नराम्रोभन्दा दुःखी भयौं । कसैले प्याच्च बोल्दा हाम्रो चित्त दुख्यो, तारिफ गर्दा हाम्रो मन फैलिइयो । आलोचना गर्दा मन संकुचित भयो । कसैले रिमोट थिची रहेको छ । अनि हामी टेलिभिजन भएका छौं । च्यानल बदलिए जस्तो हामी परिवर्तन भएका छौं ।

खान, बस्न, सुत्न, विवाह गर्नु, बालबच्चा जन्माउन, यसैमा जीवन सकिन्छ । के हामीले जीवनको उद्देश्य भेट्टाएका छौं ? जीवन जिउनुको सार्थकता के हो ? अर्थपूर्ण जीवन के हो ? किन आयौं संसारमा ? यसबारे चिन्तन मनन् गर्न आवश्यक छ । आफूले आफैंलाई चिन्न सकेका छैनौं, बुझ्न् सकेका छैनौं ।

मानिस जीवन जिउने क्रममा अलमल छ । घर बनाउँछन्, पैसा कमाउँछन्, विवाह गर्छन् । सन्तान उत्पादन गर्छन् । एश आरामको जीवन जिउन चाहन्छन् । सुख शान्तिको खोज गर्दागर्दै मानिस मर्छ । बिशाल दृष्टिकोण पारेर आफ्नो जीवनलाई नियालेर हेरौं । हाम्रो जीवन त अनन्त छ । मानिसको जन्म लिएर आउनु नै सौभाग्य हो । दिनानुदिन अहंकार पारेर बसेका छन् । कसैले धन सम्पत्तिको घमण्ड छ । कसैलाई बल, बुद्धिको विवेकको अहंकार रहेको हुन्छ । कोही–कोही मानिसहरु मर्दिन जस्तो गरेर बाचिरहेका छन् ।

जीवन भनेको रङ्गमञ्च जस्तै हो र हामी त्यसका पात्र हांै । हामी जस्तो भूमिका निर्वाह गर्छौं । त्यस्तै बन्छांै र हुन्छौं पनि । खेल्न आएका हौं । रमाउन आएका हौं । जीवनको त्यो उत्सव मनाउन आएका हौं । यो संसारबाट लिन आएका होइनौं । केही दिन आएका हौं । खाली हात आएका थियौं, खाली हातै जानेछौं । मर्दा छातीमा राखेर कसैले केही लिएर जाँदैन । चिनौं आफैंलाई । यति धेरै अहंकार घमण्ड, रिस, इष्र्या, लोभ, लालच केका लागि गर्ने ? एकदिन संसार छोडेर जानुपर्छ । मानिसहरु माया–मोहमा फसेका छन् । जीवनको त्यो सत्यमाथि टाढा रहेका छन् । जब मानिस आफूलाई चिन्न थाल्छ । उसले बुझ्न् थाल्छ कि शाश्वत सत्य के रहेछ । यी भौतिक सुखहरु फिका लाग्न थाल्छ । सुख, शान्ति, समृद्धि, आनन्द भौतिक दुनियाँमा मात्र देखेका छौं । समय परिस्थितिसँग तुलना गरेका छन् ।

मानिसहरु भनिरहेका हुन्छन् के गरेर पनि सुख भएन । जीवनमा शान्ति आएन । सानो छँदा खेलौना सँग प्रेम थियो, खुशी थियो । जब हामी ठूला भयौं अब न त हामी खुशी हुन सक्यौं न त प्रेम रह्यो । मनमा उठेको भावनाप्रति सजग भएर हेरौं त जीवन के रहेछ । भावनाप्रति सजगता छैन । अरुको टिप्पणी गर्न कति आतुर हुन्छौं । आफ्नो लागि टिप्पणी गर्दैन । मानिसले आफ्नो गल्ती कहिले देख्दैन । जीवनको शाश्वत सत्यमाथि चिन्तन गर्छौं ? जीवनको त्यो गहिराई पुगिन्छ । अझ उसले बुझ्दै जान्छ ।

जीवनमा खुशी बाडौं । सेवा गरौं दिनदुःखीको । समाजलाई सकारात्मक सन्देश प्रवाह गरौं । दान गरौं । पुण्य कमाऔं । यहीँ सार्थक जीवन हो । हामी घर–परिवार समाजलाई केही दिऔं । के हाम्रो समाज राष्ट्रप्रति केही पनि जिम्मेवारी छैन । मरेर गए पनि समाजको लागि केही दिएर मर्नु महानता हो । सास फेर्नु मात्र जीवन होइन । अर्थपूर्ण बाँच्नु नै सार्थक जीवन हो । हाम्रो जीवनको उद्देश्य पनि यहीँ त हो । श्रद्धा, विश्वास, आस्था, प्रेम, मनलाई शान्त बनाएर बाँच्नु नै जीवन सर्वश्रेष्ठ हो । सकारात्मक ऊर्जाशील शान्तिसँग बाँच्न सक्नुपर्छ । म को हुँ ? के गर्न आए ? मैले बाँच्नुको उद्देश्य के हो ? आफैंले आफैंलाई प्रश्न गर्नुहोस् । भगवानले दिएको उपहार हो यो हाम्रो शरीर । आफैंले आफूलाई श्रद्धा गरौं । प्रेम गरौं । जीवनमा आउने ती परिस्थितिलाई जस्ताको त्यस्तै स्वीकार गरौं । खुलेर जीवन बाँचौं । एकपटक आएको मानिसको जुनि यस्तो होस् कसैसँग गुनासो नरहोस् । तपाईंको बारेमा जे सोच्छ छोडी दिनुहोस् । जीवन यस्तो होस् कि आज म मर्दैछु भनेर जिउनु होस् । कहिलेकाहीँ हुन्छ हामीलाई मृत्युको बोध हुन्छ, तर जीवनको मूल्य बोध हामीलाई थाहा हुँदैन ।
हामी जसका लागि बाचीरहेका हुन्छौं । उनीहरुले नै बढी दुःख दिइरहेका हुन्छन् । गुनासो हुन्छ । स्वार्थ लुकेको हुन्छन् । विश्वास टुट्छ । हाम्रो मन विचलित हुन्छ । जीवनमा जति मानिस आए । कोही अभावमा आए कोही प्रभावमा आए । नकारात्मक सोच भएका सकारात्मक सोच भएका सबै मानिसलाई स्वीकार गरेर मुक्त बनौं । अरुको गल्तीको कारण नखोजौं । जीवन बुझ्नुभन्दा पहिले आफूलाई बुझौं÷चिनौं ।

जब मानिसभित्र जोश हुन्छ तब होस् हुँदैन । होस् आएपछि जोश गुम्छ । जोश गुमेपछि होश आएको के काम । आफ्नो जीवनप्रति सजग बनौं । मनमा उठेको भावना विचारमा अवलोकन गरौं । आफू बाँचेको त्यो जीवनलाई नियालौं । आफूलाई चिन्यो भने जीवन जिउनुको सार्थकता हुन्छ र चिनेपछि मर्नुको कुनै दुःख हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here