जनताका असन्तुष्टिको सम्बोधन गर

0
727

विगत लामो समयदेखि प्रतिपक्षीय धर्म निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको नेपाली कांग्रेस अब भने जुर्मुराएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नवनिर्मित पुलको उद्घाटन गर्न जाने क्रममा सत्तारुढ दल र त्यसको भातृ संगठनका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए । त्यस घटनाले तरंगित भएको कांग्रेस नेतृत्व वर्गले केन्द्रीय समितिको बैठकबाट देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णय र निर्देशन अनुसार यही २९ गते सोमबार झापामा पनि विरोध प्रदर्शन हुने भएको हो । यस सम्बन्धी जानकारी दिँदै नेका झापा सभापति उद्वव थापाले संघीयता, गणतन्त्रको रक्षा, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरेको भ्रष्टाचारको विरोध तथा संघीय संसदको बैठक तत्काल बोलाउन दबाब दिने उद्देश्यले ¥याली तथा प्रदर्शन गर्न लागिएको बताए ।

संघदेखि स्थानीय तहसम्म सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टीको वर्चस्व रहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका गौण रहेको छ । करिब दुई तिहाई बहुमतको नजिक रहेको सत्तारुढ दल नेकपाको नेतृत्व स्वेच्छाचारी भएको सत्तारुढ दल भित्रैबाट आरोप लाग्दै आएको छ । दुई जना पार्टी अध्यक्ष रहेको नेकपाभित्र व्यक्तित्वको लडाइँ उत्कर्षमा छ । एकले अर्कोलाई सिध्याउने कसरत भइरहेको अवस्थामा पार्टी बैठक पनि हुन छाडेको छ । त्यसमाथि प्रधानमन्त्री केपी ओली निकटका व्यक्तिहरु पदीय मर्यादा बिर्सिएर तल्लो तहको अभिव्यक्ति दिन थालेका छन् । जसका कारण यी दुबै गुट वा समूह औपचारिक रुपमै अलग हुने हुन् कि देखिएको छ ।

यस्तोमा बहुमत पनि देश र जनताको हितमा नहुने, संविधानले निर्दिष्ट गरेको गणतन्त्र, संघीयता अफापसिद्ध हुने हो कि आशंका उब्जिनु स्वभाविक नै हो ।
कांग्रेस वरिष्ठ नेता पौडेलमाथि भएको दुव्र्यवहार निन्दनीय छ । संविधान प्रदत्त हिँडडुल गर्ने, वाक तथा प्रकाशन गर्ने स्वतन्त्रताविरुद्ध भएको निषेध र अमर्यादित व्यवहारले सरकारलाई नै आलोचित बनाएको छ । देश कोभिडको महामारीले आक्रान्त छ । त्यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकार असक्षम भइसकेको छ । अब खोप ल्याउने आशा देखाएर सम्भावित संक्रमित तथा सम्पर्क व्यक्तिको पहिचान गरेर परीक्षण गर्ने गतिलाई कम गर्दै लगिएको छ । सरकार आफ्नै दलभित्रको द्वन्द्वको दलदलमा भासिँदै जाँदैछ । सत्ता लिप्साले जन्माएको विमति, वाकयुद्धमै परिणत भएको छ । आरोप–प्रत्यारोपको असमझदारी गुटगत राजनीतिमा परिणत हुन थालेपछि विद्यमान जनसरोकारका समस्या गौण हुने नै भए । यस्तो अवस्थामा अध्यक्षबीचको अन्तरविरोध बढेर नजाओस्, आ–आफ्ना कमजोरी सच्याएर जनताका असन्तुष्टी सम्बोधन गर्नु नै नेतृत्वको बुद्धिमानी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here