सहाराः देशकै ठूलो र उत्कृष्ट

0
813

बिर्तामोड।

झापाको बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस) लि. मुलुककै ठूलो र उत्कृष्ट सहकारी संस्था बनेको छ ।

आर्थिक कारोबार र सदस्य संख्याको हिसाबले सहारा देशकै ठूलो र उत्कृष्ट बनेको बताइएको छ । ‘कोरोना महामारीको प्रतिकूल समयमा पनि यस बर्ष संस्थाको वित्तीय अवस्था १० अर्बमाथि पुगेको छ’– संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले भने– ‘यो अवस्थालाई अझ मजबुत बनाउन २०८० सालभित्र २५ अर्बको वासलात बनाउने लक्ष्य तय गरिएको छ ।’

२४औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा मंगलवार पत्रकार भेटघाटमाझ संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यस अवसरमा सचिव गिरीले ०७७ असारमसान्तसम्म संस्थाको शेयर सदस्य संख्या एक लाख ४३ हजार नौ सय ८३ पुगेको जानकारी दिए ।

प्रदेश १को ६ जिल्लाका ७० स्थानीय तहमा सेवा प्रवाह गरिरहेको सहाराले यसैबर्ष थप ५ जिल्लामा सेवा विस्तार गर्ने तयारी गरेको छ । ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ र ओखलढुंगामा सेवा विस्तारको योजना बनाइएको संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।

संस्थाले यसअघि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुरमा सेवा प्रवाह गरिरहेको छ । संस्थाले आफ्नो २४औं बार्षिक साधारणसभा अधिकतम् १०० जनाको सहभागितामा सञ्चारमाध्यममा प्रत्यक्ष प्रशारणसहित गर्न लागेको कार्यक्रममा जानकारी दिइयो । यसअघि क्षेत्रगत रुपमा सभाहरु सम्पन्न भएका थिए ।

संस्थाको शेयरपुँजी एक अर्ब ३४ करोड ९१ लाख, जगेडा तथा अन्य कोष एक अर्ब २१ करोड ५८ लाख, बचत ६ अर्ब १० करोड ९४ लाख, भौतिक सम्पत्ति ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रुपैयाँ रहेको बताइएको छ । अहिलेको जटिल परिस्थितिमा पनि संस्थाले २५ करोड नौ लाख खुद मुनाफा गरेको सचिव गिरीले जानकारी दिए ।

संस्थाले कोरोना प्रभावलाई कम गर्न सदस्यहरुले ऋणको साँवाको किस्ता तिर्न नसकेको अवस्थामा कुनै पनि हर्जना जरिवाना नलिएको र ०७७ असारमसान्तसम्म ऋणको पाकेको व्याजमा १० प्रतिशतले हुन आउने तीन करोड ४५ लाख रुपैयाँ छुट दिएको जनाएको छ । उक्त अवधिमा विपद् सापटी वापत प्रतिसदस्य ५ हजार रुपैयाँ दिने नीति अनुरुप दुई करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ ।

संस्थाले प्रधानमन्त्री राहत कोष, प्रदेश सरकार र ७० वटा पालिकालाई लकडाउनको बेला खाद्यान्न सहयोग पु¥याउन ५७ लाख ३५ हजार दुई सय ५८ रुपैयाँ उपलब्ध गराएको थियो । संस्थाले यस बर्षको राष्ट्रिय व्यक्तित्व सम्मान एक लाख एक हजार नगदसहित केशव बडाललाई प्रदान गर्ने जनाएको छ । संस्थाले आगामी बर्षका लागि विभिन्न महत्वाकांक्षी योजना समेत अघि सारेको छ । वित्तीय तथा गैह्रवित्तीय १६ वटा शीर्षकमा ६८ वटा कार्यक्रम प्रस्ताव गरिएको सचिव गिरीले जानकारी दिए ।

संस्थाले कोभिड सहायता कार्यक्रम अन्तर्गत शेयर सदस्य संक्रमित भई घरमै वा आइसोलेसनमा बस्नुपर्ने अवस्था आए १४ दिनसम्म दैनिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने प्रस्ताव गरेको छ । सदस्यहरु अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था आएमा तीन लाखसम्म सहयोग गर्ने तथा संक्रमणको दर बढ्दै गए संस्थाले २५ बेडको आइसोलेशन सेन्टर राख्न पहल गरिने लगायतका प्रस्ताव गरेको छ । संस्थाले बचत तथा ऋणको व्याजदर समेत घटाएको छ ।

बैंकिङतर्फ ११–१३ प्रतिशत र लद्युवित्ततर्फ अधिकांश ऋणको व्याज १४.७५ प्रतिशत कायम गरिएको सचिव गिरीले बताए । बचतमा दिइने व्याजमा पनि ६–१०.५% कायम गरिएको संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष उपेन्द्र ओलीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेकी थिइन् । सहसचिव ज्ञानुनाथ मैनालीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सहायक निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here