अनुमति लिएर राखिएका अधिकांश हतियारको नवीकरण हुन बाँकी

0
803

चितवन,

जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति लिएर राखिएका हतियारमध्ये १४९ थानको नवीकरण नभएको जनाएको छ।

यहाँ व्यक्ति र संस्था गरेर १७३ जनाले १९९ वटा हतियार अनुमति लिएर राखेका थिए। तीमध्ये ३१ संस्था वा व्यक्तिले ४६ थानको मात्र नवीकरण गरेको कार्यालयका खरिदार रुपेश ज्ञावलीले जानकारी दिए।

उनका अनुसार जिल्लामा अनुमति लिएर राखिएका हतियारमध्ये एउटाको ठाउँसारी र तीन वटाको लागत कट्टा गरिएको छ। लगत कट्टा गरिएका हतियार नेपाल सरकारले लिइसकेको छ। स्थानीय प्रशासनले पटक-पटक हतियार नवीकरणका लागि आह्वान गरेको भए पनि नवीकरणका लागि आउनेको संख्या कम रहेको कार्यालयले जनाएको छ।

ज्ञवालीका अनुसार १६ बोरको एक नाले एक थान, १२ बोरको दुई नाले ११ थान, १२ बोरको एक नाले २४ थान, २२ बोरको राइफल छ थान, २२ बोरको दुईनाले राइफल दुई थान, हावादारी बन्दुक एक थान र टोटावाला मिनेचर टूटू एक थान मात्र नवीकरण भएका छन्।

अन्य हतियार पाँच वर्षदेखि १५ वर्षसम्म नवीकरण नभएको पाइएको छ। हतियार खरखजना तेस्रो संशोधन नियमावली २०४५ अनुसार पाँच वर्षभन्दा बढी नवीकरण नगरिएका हतियार राज्यलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

भट्टराईले हतियारको नवीकरणको अवस्थाको बारेमा अध्यावधिक गर्ने काम भइरहेको जानकारी दिए। केही दिनमा पुनः सूचना जारी गरी तोकिएको समयमा नवीकरण नगर्ने हतियार जफत गरिने बताए। हाल कार्यालयले हतियार राख्न नयाँ अनुमति दिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here