शिक्षक श्रेष्ठको हत्याको जिम्मेवारी विप्लव समूहले लियो, भन्यो ‘हतियार लिएर आक्रमण गर्न आउँदा प्रतिकारमा मृत्यु’

0
967

काठमाडौं,

शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। पार्टीको मेचीकोशी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै मोरङको मिक्लाजुङ् गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मृत्युको जिम्मा लिएको हो।

विज्ञप्तिमा शिक्षक श्रेष्ठले आफूहरु विरुद्ध सुराकी गर्दै आएको र प्रहरी लगाए आफ्नो पार्टीविरुद्ध जनतालाई उक्साउने काम गर्दै आएको उल्लेख गरिएको छ। त्यसैक्रममा श्रेष्ठलाई कयौं पटक सम्झाउदा नमानेको र यसपटक पनि शिक्षकलाई सम्झाउन जाँदा उल्टै उनले हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा उनको मृत्यु भएको विप्लव माओवादीले स्पष्टीकरण दिएको छ।

‘उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ। मोरङको मिक्लाजुङ् गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीय श्रेष्ठको मंगलवार हत्या भएको हो।

उनलाई मंगलवार बिहानै अज्ञात समूहले घरबाट लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो। श्रेष्ठका आफन्तहरुले विप्लव समूहले नै उनलाई लगेको दाबी गरेका थिए।

सुरुमा श्रेष्ठको गोली हानि हत्या भएको बताइएपनि प्रहरी अनुसन्धानबाट उनको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको खुलेको छ। प्रहरी टोली घटनास्थल पुगेर हेर्दा घाँटी काटिएको अवस्थामा फेला परेको थियो। शिक्षक श्रेष्ठको हात बाँधेर घाँटी काटिएको प्रहरीले जानकारी दिएको छ।

‘सुरुमा स्थानियले गोलीको आवाज सुनेको भनेकाले गोली हानिएको भन्ने थियो। तर हाम्रो टोली पुगेर हेर्दा घाँटी काटिएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले भने। हाल प्रदेश १ का विभिन्न जिल्लाहरुमा प्रहरीले विप्लव समूहविरुद्ध सर्च अपरेसन गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here