अलपत्र जीपी भवन

0
1767

पार्थ मण्डल

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको झापाको भद्रपुरस्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन) डेढ वर्षदेखि अलपत्रमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माणाधीन भवनको म्याद थपसँगै बजेट निकासा नगर्दा सदरमुकामकै गौरवको योजना जीपी भवन अलपत्र परेको हो । करोडौँको योजना अलपत्रमा परे पनि सरकारले यसतर्फ खासै चासो नदेखाउँदा निर्माण कार्य रोकिएको स्थानीयले बताएका छन् ।

प्रधानमन्त्री ओली, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष बिजयकुमार गच्छदार र तत्कालीन एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलको उपस्थितिमा जीपी भवनको गत २०७२ असार २८ गते भव्य समारोहकाबीच शिलान्यास गरिएको थियो ।

भद्रपुर नगरपालिका–८स्थित मेची रङ्गशाला नजिकैको जिससको स्वामित्वमा रहेको जमिनमा चारै दलका शीर्ष नेताले संयुक्त रुपमा भवनको शिलान्यास गरेपछि समयमै काम सम्पन्न हुने जनविश्वास थियो । तर, त्यो जनविश्वास वर्तमान सरकारले पूरा नगर्दा स्थानीय निराश बनेका छन् । तत्कालीन जिल्ला विकास समिति झापाले योजना हेर्न गरी प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको थियो ।
निर्माणाधीन भवनको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैङ्क अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभा हल बनाइने गरी प्लानिङ गरिएको थियो । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इञ्चको वर्गाकारमा फैलिएका छन् । हाल पाँच वर्षको अवधिमा पिलर, छत र इँटा जडान गरी भवन खडा गरी त्यत्तिकै छाडिएको छ ।

‘पार्टीमा आस्था राखेका दलका नेताका नाममा अहिले पनि देशभर भवनहरू रहेका छन्, जिपी भवनको कार्यलाई रोकेर राजनीतिकरण गर्नु काम राम्रो होइन’– भद्रपुर–८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले भने– ‘वर्तमान प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दाहाल समेत भवनको शिलान्यास गर्नु आउनु भएको थियो, उहाँहरूले शिलान्यास गरेको भवन अलपत्र पार्नु र बजेट निकासा नगर्दा भवनको यो हालत भएको हो ।’ ‘भवनको विषयमा पटक–पटक ध्यानाकर्षण गराउने काम स्थानीयदेखि केन्द्रीय सरकारसम्मलाई गरिरहेका छौँ’– उनले भने । सरकारले बजेट रोकेर अन्याय गरेको आरोप लगाउँदै झापाकै सांसद प्रधानमन्त्री रहँदा झापा चिनाउने आयोजना अलपत्र पर्नु विडम्बना भएको नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले गुनासो गरे ।

यता भवन निर्माण कम्पनीका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न तीव्र गति काम गरिरहे पनि सरकारले बीचैमा बजेट निकासा रोक्दा काम ठप्प बनेको बताए । जिल्ला समन्वय समिति झापालाई बजेटको बारेमा पटक–पटक जानकारी गराइसकेको बताउँदै उनले भने– ‘निर्माण कार्य रोकिँदा आफूले पाउनुपर्ने बजेट पनि फछ्र्यौैट हुन सकेन, आफ्नै लगानीमा कसरी काम गर्नु, कुन मन्त्रालयबाट पैसा फछ्र्याैट हुन्छ त्यो त थाहा छैन ।’

सरकार परिवर्तनसँगै संघीयतामा देश गएपछि जीपी भवनमा यस्तो समस्या उत्पन्न भएको गुनासो पोख्दै उनले भने– कांग्रेसको भवन भएर बजेट निकासा नभएको हुन सक्छ, नेकपाको भवन भएको भए उहिले काम सकिसक्थ्यो होला, ‘चार दलका शीर्ष नेताले एकै पटक शिलान्यास गरेको भवनको त हालत यस्तो छ, यो भद्रपुरवासीको लागि दुर्भाग्य हो– उनले थपे । त्यस्तै जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भवनको म्याद थप्न नमान्दा यस्तो समस्या आएको बताए । ‘जिससले पटक–पटक मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउँदै लिखित पत्र नै पठाइसकेको छ, तर मन्त्रालयले म्याद थप्न नमिल्ने बताउँदै आइरहेको छ’– अध्यक्ष पोर्तेलले भने ।
जिसससँग प्राविधिक कर्मचारी नभएकोले पनि समस्या भइरहेको बताउँदै उनले भने– ‘कि मन्त्रालयले म्याद थप्नु पर्छ वा ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाबाट भवन निर्माण प्रक्रिया लैजानु बाहेक अन्य विकल्प छैन ।’ प्रधानमन्त्रीज्यूले समेत शिलान्यास गरेको भवन रहेकोले यस विषयमा प्रधानमन्त्रीको सचिवालयसम्म कुरा राखिसकेका छौं, तर अहिलेसम्म त्यहाँबाट सुनवाइ भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here