बिकाउभन्दा टिकाउ सङ्गीत सृजना गर्न मन पराउँछु– संगीतकार प्रमोद पन्त

0
1752

सङ्गीतको नशा पनि अचम्मको हुदो रहेछ। मैले पनि छुटाउन सकिन। बाल्यकालदेखि अबोध चेतनामा सङ्गीतको रस पस्यो। सङ्गै पढ्ने खेल्ने साथीहरुले युरोप, अमेरिका पलाएन भए । कयौं साथीहरुले खाडी मुलुक गई लाखौं कमाए, घर गाडी जोडे। तर मैले कमाएको भनेको मेरा विद्यार्थी, सङ्गीतको स्रोता शुभेच्छुक र सङ्गीतबाट प्राप्त हुने अलौकिक आत्म सन्तुष्टी। लाग्छ सङ्गीतमा नलागेको भए आज प्राप्त आत्मीय मनहरु कदापी मिल्ने थिएन जसको प्रेरणा र सहयोगले जीउने उर्जा मिलेको छ । पुर्ख्यौली पेशा पनि होइन अनि सङ्गत पनि थिएन अचानक मन सङ्गीतमा लाग्यो । सङ्गीत सिकाइको दौरानमा दिनहुुँ १७–१८ घण्टा लगातार साधना गर्थें । सङ्गीत कर्ममा लागेको नै डेढ दशकभन्दा बढि समय भई सकेछ । अहिले सङ्गीतकार प्रमोद पन्त भनेर चिनाउन पाउँदा खुशि लाग्छ ।

धादिङ मलेखु नजिकै छेपाङ गाउँमा बुवा ज्योतिष पण्डित गोविन्द प्रसाद पन्त र आमा मैयाँ पन्तको कोखबाट जन्मेर मलेखुकै बागेश्वरी स्कुलबाट एस एल सी अध्ययन पूरा गरि २० वर्ष अघि उच्च शिक्षाको लागि राजधानी शहर पुगेँ । सानैदेखि पढाईमा अब्बल भएकोले परिवारको इन्जिनियर बनाउने चाहना थियो त्यसैले अमृत क्याम्पस लैनचौरमा भर्ना भई साइन्स अध्ययन गर्न थालेँ । अहिले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेर सरकारी हाइस्कुल र त्रिभुवन तथा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा प्राध्यापन समेत गर्दै आएको छु। प्राध्यापनमा रहे पनि मलाई सङ्गीत सृजानाकै तलतल लागिरहेको हुन्छ। त्यसैले घर पुग्ने बित्तिकै सृजनामा लाग्छु । कहिलेकाहीँ त सवारी चलाउदा बाटोमै नयाँ धून फुर्छ। कहिलेकाहीँ मध्य राती हार्मोनियम वा गीतार खोज्न पुग्छन् मेरा औला। सृजना कहिले फुर्छ पत्तै नहुने रहेछ।

बाल्यकाल देखि नै रेडियो नेपालबाट बज्ने अग्रज श्रष्टाहरुको गीतसङ्गीतले हृदय छुन्थ्यो। त्यही सङ्गीतको प्रेरणाले भविस्यमा सङ्गीत सृजनामा लाग्छु भन्ने अठोट उतिबेला नै मैले गरिसकेको थिएँ । गाउँमा गाँसदाउरा गोठालो गर्दै हुर्केको मलाई सिक्ने अवसर भने जुरेको थिएन । त्यसो त गाउँघर, वनजङ्गल, छहरा, सुस्केरासङ्ग खेल्दै रमाउदै बाजा बिना पनि धुन लय सृजना गर्ने बानी परिसकेको थियो मलाई । जुगाँको रेखी नबस्दै हाम्रो परिवारमा एउटा बज्रपात पर्यो।

एक्कासी आमाको स्वर्गारोहणले ममा एउटा तरङ्ग ल्यायो। म फ्रस्टेड थिएँ । शोकलाई शक्तिमा बदल्नु उपयुक्त ठानेर म सङ्गीत सृजनामा होमिएँ । इन्जिनियर बनाउने दाजुको चाहाना त पूरा भएन तर वहाँले नै किनिदिएको हार्मोनियम बजाउन पुगेँ । सुरिलो स्वरले गुनगुनाउने मेरि आमाको चाहाना अनुसार रेडियोमा छोरोको सङ्गीत सुन्न पाउनु भएन । तर वहाँले मर्ने बेला मेरो लागि साचेर राखेको पैसाले किनेको गीतार बजाइरहेको छु । क्यारियर बनाउने र कमाउने जिन्दगीको महत्त्वपूर्ण समय मेरो सङ्गीत साधनामा बितेको छ। यो बिचमा सङ्गीतको कारण मैले कमाएका शुभेच्छुकहरु नै मेरो सम्पत्ति हो।

साइन्स पढे पनि मेरा आँखा सङ्गीततर्फ केन्द्रित हुन्थेँ । एकदिन लोक बाजा अन्वेषणमा लाग्नु भएका मामा रामप्रसाद कडेलले वीरबल श्रेष्ठ र खिम बहादुर गायकसङ्ग भेट गराउनु भो । त्यसै दिनदेखि सारङ्गी समातेर सङ्गीतको सारेगम सुरु गरेको हुँ। सारङ्गी मेरो पहिलो र मन पर्ने बाजा हो। त्यसपछि सन्त बहादुर गौतमसङ्ग पियानो, राजकुमार मालाकारसङ्ग गीतार र तिलक पेलासङ्ग शास्त्रीय सङ्गीत भोकल प्रक्षिशण लिने अवसर मिल्यो । शास्त्रीय सङ्गीत तर्फ इलाहवाद सङ्गीत समिति भारतबाट म्युजिकमा बिशारद ९बिए० सम्मको कोर्स पनि अध्ययन गरेको छु। यो बिचमा सयौं विद्यार्थीलाई सङ्गीत सिकाएको छु। शास्त्रीय सङ्गीतको विद्यार्थी हुनाले कयौं स्टेज शोमा प्रस्तुति दिएको छु । प्रायः अन्य सर्जकको शब्दमा सङ्गीत भर्ने गर्छु।

केही गीत आफैले पनि लेखेको छु र एउटा भिडियो निर्देशन पनि गरेको छु तर म बिशुद्ध सङ्गीतकार मात्रै भन्न रुचाउँछु । प्राध्यापनमा पनि ब्यस्त हुनुपर्ने अनि गुणस्तरीय सङ्गीतमात्रै पस्किने र मिडियावाजिमा नलाग्ने बानीका कारण मेरा तीन दर्जन जति गीतसङ्गीतहरु मात्रै सार्वजनिक भएका छन् । भिडियो नबनेका कति गीत त कम्प्युटर र पेन ड्राइभमा थन्किएका छन् । सङ्गीत क्षेत्र निकै खर्चालु भएको छ। भिडियो बनाउनै पर्ने जमाना आयो। कला भन्दा दाम भए पुग्ने र प्रचारबाजि गर्नु पर्ने समय आयो। म त्यता लागिन । मेरा सङ्गीतवद्ध २०० भन्दा बढी गीत रेकर्डिङको प्रतीक्षामा डायरीमा लिपिबद्ध भई थन्किएका छन् ।

मेरो सङ्गीतमा चर्चित गायक सत्य स्वरूप, प्रमोद खरेल, शिव परियार, मेलिना राई, मीना निरौला, सिडि विजय अधिकारी, दिनेश थानी, रिदम कडेल लगायत थुप्रै नयाँ गायकहरुको आवाज रेकर्ड भएका छन् । गीतकार एच के धिताल, सुन्दर पन्त, मनोज बराकोटी, उषा ढकाल, यमुना पराजुली, बिक्रम तिमिल्सिना, माधव बिडारी, लगायतका गीतकारको शब्दमा सृजना गरेका मेरा केही धूनहरु राष्ट्रिय अवार्डको लागि पनि छानिएका छन्।

मैले दुई वटा चलचित्र र थुप्रै कलेक्सन एल्बमको लागि सङ्गीत सृजना गरेको छु भने एउटा एकल एल्बममा काम गरेको छु। नेपालका मुरलीधर र भारतका प्रख्यात सङ्गीतकार ए आर रहमान मेरो असाध्यै मनपर्ने सङ्गीतकार हुन। म लोक, पप, शास्त्रीय, देशी बिदेशी सबै भाषा र शैलीको गीत सङ्गीत सुन्न मनपराउछु । तर लोक र शास्त्रीय सङ्गीत नै नेपाली सङ्गीतको जग हो जस्तो लाग्छ। सफल सङ्गीतकार बन्न लोक, शास्त्रीय र पाश्चात्यबसङ्गीतको समेत ज्ञान हुनु जरुरी छ।

इमानदारी पूर्वक निरन्तर साधना र धैर्यता भयो भने सङ्गीतमा सफल हुन सकिन्छ। यो क्षेत्रमा सिकेर मात्रै आउनु जरुरी छ। साधना र लगानशिलता विना पैसा कै भरमा उदाउने प्रवृत्तिले यो क्षेत्रमा विकृती आएको मेरो बुझाइ हो। सर्जकको रोयल्टी ब्यवस्थापन, लगानीकर्ताको सुरक्षा, बौद्धिक सम्पत्तिको अधिकार, कलाकारको राष्ट्रिय परिचयपत्र र सम्मान आदि विषयमा सरकारि पहल भइदिए हुन्थ्यो जस्तो लाग्छ । सरस्वतीको कृपाले म बिकाउ भन्दा टिकाउ गुणस्तरीय सङ्गीत सृजना गर्न मन पराउछु । आजसम्म सङ्गीतबाट गुमाउनु भन्दा कमाउन पाएको छु। मेरो सङ्गीत सृजना मन पराउने स्रोताहरु र मलाई सृजना गर्न अभिप्रेरित गर्ने गीतकार तथा प्रस्तोता गायकहरु मेरो लागि भगवान हुन् भन्ने लाग्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here