महिला सशक्तिकरण र समाजसेवा मेरो लक्ष्य

२६ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड–२ कि ५७ वर्षीया जानुका सञ्जेल सामाजिक क्षेत्रमा अग्रस्थानमा आउने गरेकी छन् । समाज सेवालाई पहिलो प्राथमिकतामा राखेकै कारण उनी सबैको सारथी बन्न सफल भइन् । हाल विभिन्न संघ–संस्थामा आवद्ध रहेकी जानुका चारपाने साना किसान सहकारी संस्थाको अध्यक्ष हुन् । उनीसँगको कुराकहानीको संम्पादित अंश :

संस्थाको हालको अवस्था के छ ?

– चारपाने साना किसान सहकारी संस्थाको २०७७÷०७÷३० सम्मको अवस्था हेर्ने हो भने निक्षेप ९४ लाख २२ हजार तीन सय ६७ रुपैयाँ रहेको छ । त्यस्तै लगानीतर्फ दुई करोड आठ लाख ६५ हजार तीन सय ९० रुपैयाँ रहेको छ ।

संस्थामा कति सदस्य हुनुहुन्छ ?

– चारपाने साना किसान सहकारी संस्थाको सदस्य संख्या सात सय ३६ जना रहेको छ । जसमध्ये महिला सदस्य छ सय ९५ जना रहेका छन् भने पुरुष सदस्य ४१ जना रहेका छन् । यो संस्थामा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । र, यसको नेतृत्व महिलाले नै गरेको छ भन्दा खुशी लाग्छ ।

तपाईंले नेतृत्व लिनुअघि संस्थाको अवस्था र तपाईं आएपछि भएको प्रगतिलाई कसरी हेर्नुहुन्छ ?

– २०७१ सालमा स्थापना भई हालसम्म आइपुग्दा हामी नौ जनाले शुरु गरेका आज हामी सात सय ३७ जनामा पुगेका छौं । एक हजार शेयर लागत र महिनाको दुई सय बचतबाट संख्या शुरु भयो । एउटा वडाबाट एकजना सदस्यले अरु सदस्य बनाउँदै आज हामी एउटा ठूलो परिवार बनेका छौं । एउटा सानो कोठामा धेरै साधनस्रोतहरुले काम शुरु गरेका हामी, आज आफ्नो एउटा सुविधासम्पन्न कार्यालयमा स्थापित गर्न सफल भएका छौं ।

थोरै पुँजीबाट शुरु गरेर आज हामी हाम्रा शेयर सदस्यहरुलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउन सफल छौं । तरकारी खेती, बाख्रा पालन, गाईपालन, बंगुरपालन गर्न चाहने सदस्यहरुलाई आर्थिक स्वावलम्बी बनाउन विभिन्न किसिमका ऋण उपलब्ध गराउँछौं । हामीले हाम्रा आठ जना सदस्यहरुलाई कृषि तालिमका लागि इजरायल पठाएर उहाँहरुलाई आत्मनिर्भर बन्न सहयोग ग¥यौं । हाम्रो संस्थाले कम भए पनि रोजगारी दिएका छौं ।

संस्थाको आगामी योजना के छ ?

– हाम्रो योजना धेरै अगाडि बढ्ने, धेरै माथि पुग्ने रहेको छ । निकट भविष्यमा कर्मचारी थप गरी अरु रोजगारी बढाउने, विभिन्न कृषि कार्यक्रम ल्याएर हाम्रा किसान शेयर सदस्यहरुलाई थप सक्षम बनाउन र थप सबल बनाउने हाम्रो प्रयास जारी छ । कोरोना कहरका बीच पनि हामीले विभिन्न कामलाई अघि बढाइरहेका छौं । यो संस्थालाई थप जिम्मेवार र व्यवस्थित बनाउँदै अघि बढ्ने हाम्रो योजना रहेको छ ।

तपाईं अब कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?

– चारपाने साना किसान सहकारी संस्थालाई अझ मजबुत बनाउँदै अघि बढ्ने सोच बनाएको छु । अब सामाजिक कामका साथै शेयर सदस्यलाई व्यवसायिक बनाउन विभिन्न योजना बनाएर अघि बढ्ने सोच बनाएको छ । सबै जनाको सामुहिक सहभागिता र सक्रियता रहेका हामीले जस्तोसुकै कामलाई पनि सफलतामा पु¥याउन सकिन्छ भन्ने उद्देश्यले अघि बढिरहेको छु ।

तपाईं समाजसेवामा सक्रिय हुनुहुन्छ । कति वटा र कुुन कुन संस्थामा आवद्ध हुनुहुन्छ ?

– पारालिगल कमिटी, असल शासन, नागरिक परिषद्, संगालो महिला सहकारी संस्था, शान्ति समितिहरुमा विगतमा काम गर्दै आएर अहिले साना किसानमा आबद्ध छु । म करिब एक दर्जन संघ–संस्थामा आवद्ध रहेको छु । लामो समयदेखि सामाजिक काममा आग्रसर हँुदै गर्दा विभिन्न क्षेत्रको नेतृत्व गर्ने अवसर पनि प्राप्त भयो । साथै मैले नेतृत्व सम्हालेका संस्थामा कुशलतापूर्वक कामलाई अघि बढाउन सफल भएँ ।

परिवारको साथ सहयोग कस्तो छ ?

– एकदम धेरै साथ पाएर नै विगत २२–२३ वर्षदेखि सामाजिक सेवामा लाग्न पाएकी छु ।
मेरो श्रीमान्, छोराछोरीको राम्रो साथ पाएको छु । सबैको साथ र सहयोगकै कारण आज हरेक क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरेको छु । घरको कामसँगै मेरा हरेक क्षेत्रमा श्रीमान्, छोराछोरीले साथ दिएकाले मैले परिवारसँगै सामाजमा सामाजिक काम गर्ने अवसर पाएको छु । सामाजिक क्षेत्रमा क्रियाशील जानुकाका चार जना छोरा–छोरी रहेका छन् । श्रीमान् भीमनायारण सञ्जेल, छोराहरु केशवकुमार र दीपेन्द्र तथा छोरीहरु भूमिका र सुनीता रहेका छन् ।

तपाईंको जीवनको लक्ष्य के छ ?

– समाजसेवा नै मेरो लक्ष्य हो । सेवा नै सबैभन्दा ठूलो पूजा हो । समय र परिस्थितिले साथ दिए एउटा वृद्धवृद्धा, बालबालिकाको सेवा गर्ने लक्ष्य छ । सबैभन्दा ठूलो धर्म, पूजा, आस्था नै सेवा गर्नु हो । २०७२ सालबाट संस्थाको नेतृत्व सम्हालीरहेकी छु । अहिले पनि सबैको साथ र सहयोग प्राप्त भइरहेको छ । अब नेतृत्वको विकास गर्दै सहकारीलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउने लक्ष्य साथ अघि बढेको छु ।

आउन लागीरहेको सातौं साधारणसभा र तेस्रो अधिवेशनको लागि हाम्रो संस्थामा अब आउने कार्यकालहरु पनि सफल र समृद्ध रहोस् भन्ने शुभकामना दिन चाहन्छु । संस्थाको संस्थापक टिम यस्तो थियो– अध्यक्ष : वेदप्रकाश दाहाल, उपाध्यक्ष जानुकादेवी सञ्जेल र सदस्यहरुमा महेन्द्रकुमार राजवंशी, सरिता ओली, कृष्णकुमारी लिम्बू, केशव बस्नेत, गोमादेवी लिम्बू, पुष्पीता अधिकारी र ढुण्डीराज रिजाल रहेका थियौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here