चारआली–केचना सडकः संरचना नहटाए भत्काइने

0
1764

झापा ।  चारआली– केचना सडकखण्डमा पर्ने घर टहरा तथा भौतिक संरचना तत्काल हटाउन आग्रह गरिएको छ । सडक बिभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले मंसीर १६ गते सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

योजना कार्यालयको सूचनामा चारआली–केचना र मेची–रतुवा पुल सडकहरूको सडक स्तरोन्नतिको क्रममा रहेकोले हुलाकी सडकको केन्द्र बिन्दुदेखि १५–१५ मिटरभित्रका भौतिक सामग्री, घरटहरा, पर्खाल आदि ३० दिनभित्र हटाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ, अन्यथा सडक सीमा अतिक्रमण गर्ने उपर सार्वजनिक सडक ऐन २०३१को दफा १९को १, २ र ३ बमोजिम कारबाही भई जाने व्यहोरा समेत अनुरोध गरिन्छ ।

साथै, उक्त अवधिभित्र अनधिकृत रुपमा रहेका भौतिक संरचना तथा घरटहराहरू नहटाइएमा सो संरचना हटाइने छ र यसरी हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । यता मेची राजमार्गको चारआली–केचना सडकखण्ड अन्तर्गत भद्रपुरस्थित कृषि विकास बैङ्क अगाडिदेखि ट्रेड युनियन चोकसम्मको निर्माणाधीन सडक मापदण्ड बमोजिम नभएको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

जिल्लाकै सदरमुकाम जोड्ने करिब ३ सय मिटर सडक अहिले निर्माणाधीन अवस्थामा रहेको छ । तर, सो बाटो सडक ऐन २०३१को मापदण्ड अनुसार विस्तार नगरिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । हुलाकीले सडक विस्तार गर्दा दायाँबायाँ १५–१५ मिटर र थप ६–६ मिटर साइट ब्याकअप हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ । सडक निर्माणको काम शुरु गर्दा हुलाकीले आफ्नै नियम पालना नगरी काम सुरु गरेकोमा स्थानीयले आपत्ति जनाएको छ ।

जनप्रतिनिधिसहित स्थानीयको घरटहरा भत्किने भएकोले अहिले खुम्च्याएर सडक निर्माण गर्न खोजिएको प्रष्ट देखिन्छ । सडक बन्ने भएपछि यसअघि नै घरेलु तथा साना उद्योग कार्यालय, पूर्वाधार विकास कार्यालय, विद्युत् प्राधिकरण, कृषि विकास बैङ्कले आफ्नो जमिन खाली गराइसकेका छन् । तर, जिल्ला समन्वय समिति झापा र जिल्ला सहकारी संघको सटर पसल र अन्य व्यक्तिले भने ठाउँ खाली गर्न मानेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here