तीर्थ तिम्सिना/बिष्णु श्रेष्ठ
झापा।

मंसीरको मध्य समयमा यतिबेला किसानहरु धान थन्क्याउन व्यस्त छन् । कहीँ बिटा लगाउँदै त कहीँ धान झार्दै गरेको देखिन्छ ।
यतिबेला बजारमा बाँसबाट तयार भएको भकारीको व्यापार समेत भइरहेको छ ।
मानो खाएर मुरी उब्जाउने समयमा झापाका किसानहरुले वर्ष दिनसम्मलाई पुग्ने अन्न सुरक्षित राख्न भकारी खरिदबिक्री गर्ने गरेको चलन अहिले पनि छ । मुख्यतः झापाको बिर्तामोड, शनिश्चरे, बुधबारे, धुलाबारी लगायतका बजारमा तयार गरिएको भकारी बढी मात्रामा बिक्री हुने गरेको छ ।
इलामको दानाबारी, महमाईबाट खरिद गरी शनिश्चरे बजारमा बिक्री गर्दै आएका व्यापारी कुबिरबहादुर लिम्बूले माग भए पनि स्थानीयस्तरमा उत्पादन नहुँदा टाढाबाट ल्याउनुपर्ने बाध्यता रहेको सुनाए । उनले एउटा भकारीको साइज हेरेर पन्ध्रदेखि सत्र सयसम्ममा बिक्री गर्दै गरेको सुनाए । यहाँदेखि झापाको बनियानी, राजगढ, घेराबारी, जलथलसम्मबाट माग आउने गरेको उनले बताए ।
घर, आँगनमा भकारी राखेर अन्न सुरक्षा गर्ने पुरानो प्रचलन सहज र थोरै ठाउँमा धेरै अन्न राख्न सकिने भएकोले अहिले पनि उत्तिकै उपयोगी रहेको छ । प्लास्टिकका बोरामा राख्दा धेरै ठाउँ चाहिने र मुसा आदिबाट सुरक्षा गर्न गाह्रो हुने भएकोले भकारी नै प्रयोग गर्ने गरेको लिम्बूको भनाइ छ ।
भकारीको कारोबारले बाँसको उपयोग हुनुको साथै ग्रामीण क्षेत्रमा रोजगारी सृजना गरेको छ । जिल्लाभरि कति भकारी खपत हुन्छ र कसले आपूर्ति गर्छ भन्ने तथ्यांक नभएता पनि हरेक बजार र चोकहरुमा यतिबेला भकारीको कारोवार भइरहेका छन् ।

प्लास्टिकले बिस्थापित
भकारीको व्यापार भएता पनि बजारमा विभिन्न आकर्षक खालका आयातित प्लास्टिकका बोराका भकारीले बाँसको भकारी विस्थापित गर्दैछ ।
आधुनिक किसिमको बजारमा पाइने भकारीप्रति सर्वसाधारण जनताको आकर्षण बढ्दै गएपछि बाँसको भकारीको बिक्री कम हुँदै गएको व्यापारी बताउँछन् । यसले गर्दा भकारी बनाएरै जिविका चलाउँदै आएका श्रमिक किसानहरुलाई आफ्नो पेशा कतै लोप हुने त होइन भन्ने चिन्ता समेत बढेको छ ।































