तुलसीप्रसाद निरौला,बिर्तामोड ।
बिर्तामोड– १ स्थित पञ्चकन्या सोसाइटीमा स्थापना भएको डाईनामिक क्लबले पन्चकन्या सोसाइटीका १० वटै ब्लकहरुमा डस्बीन बितरण गरेको छ ।

त्यस क्षेत्रमा रहेको फोहरमैला संकलन र ब्यवस्थापनमा सहयोग पुर्याउन डस्बीन बितरण गरिएको हो ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासमा पनि तिहारमा डिजिटल देउसी भैलोको आयोजना गरि दानको रुपमा संकलन गरिएको रकमले फलामे स्टेण्डसहितको डस्बीन खरिद गरी बितरण गरिएको डाईनामिक क्लबका अध्यक्ष अर्जुन मैनालीले बताए ।

तिहारमा डिजिटल देउसी भैलोको आयोजना गरि दानको रुपमा ३६ हजार ६ सय ४० रुपैयाँबाट ३० वटा ५० लिटरका डस्बीनहरु खरिद गरी बितरण गरिएको उनले बताए । उनले सबैको सहयोगमा बितरण गरिएका डस्बीनको उचित सदुपयोग र संरक्षण गर्न सवैसंग आग्रह गरे ।
डाईनामिक क्लबका अध्यक्ष अर्जुन मैनालीको अध्यक्षता तथा बिर्तामोड –१ का वडाध्यक्षको अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पाण्डेले फोहरमैला ब्यवस्थापनमा वडाबाट पनि आवस्यक सहयोग पुर्याउने बताउँदै फोहरमैला ब्यवस्थापनमा पञ्चकन्या सोसाइटीमा स्थापना भएको डाईनामिक क्लबले खेलेको भूमिकाको प्रसंशा गरे ।
खेलकुद र समाजसेवालाई मुल उद्देश्य बनाइ स्थापना भएको क्लवले पञ्चकन्या सोसाइटीमा शान्ति सुरक्षा कायम राख्न रात्रीकालिन गस्ती सञ्चालन गर्नुका साथै सामुहिक सरसफाई कार्यक्रम , पर्यावरणमैत्री कार्यक्रम , खेलकुद लगायतका कार्यक्रम सञ्चालन गरिरहेको पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईंले बताए ।































