बालाचतुर्दशी पर्व सताक्षीधाममा धुमधामका साथ मनाइँयो

0
1068

झिलझिले,

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी देखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व झापाको सताक्षीधाममा धुमधामका साथ मनाइएको छ ।

बाला चतुर्दशीमा लाखौँ भक्तजन सताक्षीधाममा आएर शतबीज छर्ने परम्परा यसवर्ष पनि कायमै रह्यो । कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न स्थानीय प्रशासनले रोक लगाएपनि आइतबार बिहानैदेखि सर्वसाधारण तीर्थयात्रीको बाक्लो उपस्थिति थियो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सताक्षीधामका विभिन्न ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै दिवङ्गत पितृ स्मरण गर्दै छर्ने गरिएको छ । सताक्षीधाममा झापा सहित मोरङ सुनसरी इलाम लगायतका सर्वसाधारण तीर्थयात्री शतबीज छर्न आएका थिए ।

सताक्षीधाम मन्दिर विकास समितिका सचिव उदय प्रकाश राई का अनुसार सर्वसाधारण तीर्थयात्रीको सुविधाका लागि ठाउँठाउँमा हात धुने पानी, साबुन, सेनिटाइजर र माक्स नलगाएकालाई निःशुल्क माक्स प्रदान गरिएको छ । कोरोनाका कारण बालाचतुर्दशी धार्मिक मेला आयोजना नभएपनि हिजो साँझ महादीप दान गर्ने र आज बिहान शतबीज छर्नेको धाममा घुइँचो रहेको धाम विकास समितिका सचिव राईले जानकारी दिए ।

यस्तो छ किम्बदन्ती

भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा उल्लेख छ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्बदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here