झापा ।
जिल्ला प्रहरी कार्यालय झापाले बहुबिवाह र बैङ्किङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परी अदालत बुझाए लगत्तै कारागार चलान भएका छन् ।
कारागार चलान हुनेमा इलाम चुलाचुलीका–३० वर्षिय वीरबहादुर लिम्बू र कमल गाउँपालिका–५ का ३० वर्षकै सुजन देवान रहेका छन् । जिल्ला अदालत झापाको २०७५ जेठ १३ गतेको फैसला अनुसार बहुबिवाह मुद्दाका प्रतिवादी लिम्बुलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
कैदको हकमा २७ दिन असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए । खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको थियो । सोमबार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दाका प्रतिवादी देवानलाई चार दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । फैसलापश्चात फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट पक्राउ गरेको थियो ।
फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।































