पशुपतिमा कम्प्युटर इञ्जिनियरिङ र कम्प्युटर साइन्स

0
694

सुरेन्द्र भण्डारी
झापा,

पशुपति माध्यमिक बिद्यालय राजगढले बाह्रदशी गाउँपालिकामा नै पहिलोपटक कम्प्युटर इञ्जिनियरिङ र कम्प्युटर साइन्स विषयका कक्षा सञ्चालन गरेको छ ।
कक्षा ९देखि १२ कक्षासम्मका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले गाउँपालिकामा नै पहिलोपटक प्राविधिक विषय पठनपाठन शुरु गरेको हो । नेपाल सरकार शिक्षा विभागबाट अनुमति लिएर सो विद्यालयले प्राविधिक धारमा पठनपाठन शुरु गरेपछि ग्रामीण क्षेत्रका विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।


यसअघि सो ठाउँका विद्यार्थीले प्राविधिक धारमा अध्ययन गर्न चाहे पनि शिक्षण संस्था नहुँदा समस्या थियो– पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले भने– अब यस ठाउँका विद्यार्थीले घरमै बसेर आफ्नै ठाउँमा प्राविधिक विषय अध्ययन गर्न पाउनेछन् । पशुपति माविमा प्राविधिक विषय पठनपाठन हुन थालेसँगै विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेको छ ।
अहिले सञ्चालन भइरहेको कम्प्युटर इञ्जिनियरिङ विषयका लागि कक्षा ९ र १०का ८० जना बिद्यार्थी र कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको कम्प्युटर साइन्स विषयमा ५० जना बिद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक दाहालले बताए । स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिसँगै गाउँ–गाउँमा सञ्चालनमा ल्याएको प्राविधिक विषय अध्ययनका लागि विद्यार्थी उत्साहित छन्– दाहालले भने– अब यस ठाउँका विद्यार्थीले प्राविधिक विषय पढ्न बाहिर जानुपर्दैन ।


हिजोआज सिटिइभिटीबाट मान्यताप्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि यस अघि बिद्यार्थीले महंगो शुल्क तिरेर शहर धाएर यस्ता विषयको शिक्षा लिनुपर्ने बाध्यता थियो । गाउँ–गाउँमै फरक–फरकखालका प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनमा आएपछि अन्यत्र पढ्न जाने झञ्झटबाट यहाँका विद्यार्थीमुक्त भएका छन् । अभिभावकलाई पनि आर्थिकभार कम भएको बताइएको छ । पशुपति माध्यमिक विद्यालयले प्राविधिक धारमा कक्षा सञ्चालन गरेसंगै दक्षिणी क्षेत्रका विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।


योसँगै विद्यालयमा विद्यार्थीको चाप बढेपछि पशुपति माध्यमिक विद्यालयलाई भवन अभाव भएको बताइएको छ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघीय सरकारबाट प्राप्त बजेटले विद्यालयमा चार कोठे भवन निर्माण सम्पन्न भएपनि अझै भवन अभाव रहेको प्रधानाध्यापक दाहालले बताए । ७२ लाख ९ हजार रुपैयाँको लागतमा निर्माण गरिएको भवनको माथिल्लो तल्लामा पनि कक्षा कोठा थप गर्नुपर्ने हुन्छ– प्रधानाध्यापक दाहालले भने– जसका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।
भवन उद्घाटनका लागि आउनु भएका प्रदेश नम्वर १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई विद्यालयको वास्तविक अवस्था बताउँदै वजेट माग गरिएको छ– प्रधानाध्यापक दाहालले भने– यस क्षेत्रमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषय अध्ययनका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ भन्दै मन्त्रीले सहयोगको बचनवद्धता दिए ।


अहिले पशुपति माध्यमिक विद्यालयमा ४८ थान कम्प्युटरबाट कम्प्युटर इञ्जिनियरिङ र कम्प्युटर साइन्स विषय अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयमा दुई वटा कम्प्युटर ल्याव, एक÷एकवटा साइन्स, ड्रइङ्ग र इलेक्ट्रिक ल्याव रहेका छन् । अधिकांश विपन्न समुदायका विद्यार्थी अध्ययन गर्दै आएको पशुपति माविमा प्राविधिक धारबाट कक्षा सञ्चालन गरिएसंगै निम्न आय भएका अभिभावकलाई सहज भएको छ । विद्यार्थीको अत्याधिक चाप रहने सो विद्यालयमा अहिले पनि ९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । पशुपति माध्यमिक विद्यालय बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको छ ।
२०१६ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानो विद्यालयमध्येको एक हो । गुणस्तरीय शिक्षामा अब्बल रहेको पशुपतिले २०३८ सालबाट माध्यमिक विद्यालयका कक्षा सञ्चालन गर्दै आएको छ । स्थानीय बैजनाथप्रसाद कानू, छविलाल राजवंशी लगायतका केही सामाजिक अगुवाको पहलमा २०३८ सालमा पशुपतिलाई मावि बनाइएको थियो । विद्यालयलाई भगीरथ राजवंशी राजगढ– ६बाट पाँच कठ्ठा, बंढोल राजवंशीबाट नौ कठ्ठा १० धुर, महिपथ राजवंशीबाट पाँच कठ्ठा, डिल्लीचन राजवंशीबाट पाँच कठ्ठा, तत्कालीन प्रधानपञ्च सडकलाल राजवंशीले गाउँ पञ्चायतबाट १५ कठ्ठा, मुखिया बाजे नामले परिचित भीमप्रसाद पोखरेलबाट एक बिगाह पाँचकठ्ठा जग्गा उपलब्ध भएको थियो ।
‘विद्यालय स्वीकृत गर्दा धरौटी राख्नका लागि २०३४ सालमा ऐलानी जग्गालाई समेत तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्व. इन्द्रप्रसाद अधिकारीले विद्यालयको नाममा एकमुष्ठ ८८ विगाह जमिन दर्ता कायम गराएका थिए । अहिले पनि सो विद्यालयको जमिन झण्डै ९४ विगाह रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here