दमकमा कोरोनाको नालीबेली :  ८ महिनामा ११४१ संक्रमित, १०४८ जना संक्रमण मुक्त, ३५ जनाको मृत्यु

0
487

विष्णु पौडेल / दमक ।

झापाको दमकमा गत बैशाख १० गते पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालका ४९ औं कोरोना संक्रमित हुन भने झापाका पहिलो संक्रमित हुन ।

उनी उपचारपछि अहिले स्वस्थ जिवन बिताइरहेका छन । त्यसयता दमकमा निरन्तर कोरोना संक्रमण फैलिँदै गयो । पहिलो संक्रमण भेटिएको ठिक ६ महिना अर्थात गत असोज १० मा पहिलो पटक दमककी कोरोना संक्रमित एक महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

८ महिना वित्दा दमकमा कोरोना संक्रमित हुनेको संख्या १ हजार १४१ पुगेको छ । दमकका ६७९ पुरुष र ४६२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ति मध्ये १ हजार ४८ जना कोरोना संक्रमणबाट मुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा संक्रमित हुनेमा सर्वसाधारणदेखि नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी समेत छन ।

एक साता अघि मात्रै कोरोना संक्रमणबाट मुक्त भएका दमक ८ का वडा सदस्य एवं दमक जेसीजका पूर्व अध्यक्ष भिमराज चौलागाइँ कोरोना संक्रमणबाट एक महिना पछि भर्खरै मुक्त भएपनि संक्रमणको भोगाई निक्कै कष्टकर भएको अनुभव सुनाउँछन । चौलागाइँ भन्छन – संक्रमणको अवधि निक्कै लामो भयो, हतोत्साहित नभई कोरोनाको सामना गरें । सबैभन्दा ठुलो कुरा साबधानी अपनाउनु नै हो । संगसंगै आत्मबल बलियो बनाएर खानपानमा विशेष ध्यान दिए कोरोना जित्न सकिने उनको सुझाव छ ।

शाखाका कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने २३ महिला सहित ५८ जना हाल उपचाररत छन । नगरपालिकाले हाल कोरोना संक्रमणका शकांस्पद विरामीको कोरोना परिक्षण निशुल्क गर्दै आएको छ ।

कोभिड उपचार केन्द्रले बनायो सहज, उपप्रमुख अधिकारीको आग्रह

नगरपालिकाले पछिल्लो समय दमक अस्पताल अन्तर्गत रहने गरी बेलडाँगीमा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएपछि नगरबासीहरुले सहज महसुस गरेका छन । सो केन्द्रमा हाल सम्म ३४ जना संक्रमित उपचारका लागि भर्ना भएकामा २६ जना निको भएर डिस्चार्ज भएका छन । त्यहाँ भर्ना भएका मध्ये एक जनाको सो अस्पताल पुरयाउने वित्तिकै मृत्यु भएको र अन्य पाँच जना अहिले पनि उपचाररत रहेका नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

संक्रमितहरुले उपचारका लागि अस्पतालहरुमा ठाउँ पाउनै मुस्किल भएपछि संघीय सरकारले सबै स्थानीय तहलाई कोभिड अस्पताल सञ्चालन गर्न निर्देशन गरेको थियो । सोही अनुसार सञ्चालनमा आएको सो अस्पताल ( कोभिड उपचार केन्द्र) स्थापनासंगै सर्वसाधारणले राहत महसुस गरेका हुन । त्यहाँ ४ बेडको एचडीयू सेवासहित ३० बेड उपलब्ध छ ।

सो केन्द्रमा साताको एक पटक हरेक मंगलबार सर्वसाधारणको पीसिआर परिक्षणका लागि स्वाव संकलन गरिँदै आएको छ । सो क्रममा  मंगलबार त्यहाँ ५७ जनाको स्वावको नमुना लिएर परिक्षणका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता अधिकारी कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले गरेको प्रयासमा आम नगरबासीहरुबाट भइरहेको सकारात्मक सहयोग , चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारीहरु लगायत सबैपक्षबाट भएको योगदान प्रशंसनिय रहेको बताउँदै अझै पनि सावधानीको खाँचो औंल्याउँछिन । विज्ञहरुले दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकाहरुमा चिसोको मौसममा संक्रमणको जोखिम अझै बढी हुने औंल्याइरहेको पनि उपप्रमुख अधिकारीले स्मरण गराइन ।

दमकमा कोभिड उपचार केन्द्र स्थापना गरिनु अघिदेखिनै आम्दा अस्पतालले जारी राखेको कोरोना संक्रमितको उपचारमा सहयोग उत्तिकै प्रंशसनिय छ । अन्य ठुला शहरका सुविधा सम्पन्न भनिएका अस्पतालले समेत उपचार गर्न इन्कार गरेका विरामीको उपचार आम्दा अस्पतालले गर्दै आएको छ । अस्पतालका मेडिकल सुरपरिटेण्डेन्ड डा. प्रकाश शर्मा आजको मितिमा पनि एक जना संक्रमितको उपचार आम्दा अस्पतालमा भइरहेको बताउँछन । निष्कर्ष न्यूजसंगको टेलिफोन कुराकानीमा डा. शर्माले भने – पहिला पहिला त धेरै ठुलो संख्यामा उपचार गरियो अहिले नगरपालिकाको आफनै छुट्टै अस्पताल भएर पनि होला तुलनात्मक रुपमा कलि कम संख्या छ ।

एक/दुई जना संक्रमित जहिले सुकै पनि आम्दामा रहेको पाइन्छ । ज्वरो आएका शंकास्पद बिरामीलाई अलग गरेर पीसिआर परिक्षणका लागि नमुना पठाउने गरेका छौं, रिपोर्ट पोजिटिभ आए छुट्टै राखेर उपचार गरिन्छ नेगेटिभ भए अरु बिरामी सरहको उपचार हुन्छ– डा. शर्माले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here