तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
बिर्तामोड–१ का एकजना युवाले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् ।बिर्तामोड–१ का सौरभ ढकालले बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।

आमा दुर्गादेवी ढकाल, दिदी सुस्मिता ढकालसहित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रम पुगेका ढकालले त्यहाँ रहेका वृद्धवृद्धालाई एकछाक खाना खुवाएका थिए भने वृद्धवृद्धालाई जाडोमा लगाउन मोजा समेत प्रदान गरेका थिए ।
जन्मदिनको नाममा लाखौं रकम खर्च गरेर साथीभाइसँग पार्टी मनाएर जन्मदिन मनाउनुभन्दा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु ठूलो धर्म हुने भएकाले वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग खुशीयाली साटासाट गर्दै जन्मदिन मनाएको ढकालले बताए ।

बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनका कर्मचारी समेत रहेका ढकालले पहिलादेखि नै आफ्नो जन्मदिन वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गरेर मनाउँदै आएको बताउँदै वृद्धवृद्धासँग यसरी जन्मदिन मनाउँदा आफूलाई आनन्द आउने बताए ।































