सभ्य, सु–संस्कृत र समृद्ध समाजको आधार ज्योतिष विज्ञान हो – पाण्डे

0
996

पछिल्लो युवापुस्ताको पिंढीमा ज्योतिषशास्त्र सम्बन्धी अध्ययन र अनुसन्धान गर्नेहरूको संख्या निकै कम छ । आधुनिक विज्ञान पद्धतिको समेत मुख्य आधार रहेको ज्योतिष विज्ञानको अध्ययन, अनुसन्धान र प्रयोग गर्ने ज्योतिषशास्त्रका विद्यार्थीहरूको संख्या कम भएपनि आधुनिक प्रविधिको प्रयोगद्वारा यसको महत्व, विकास र विस्तार उत्तिकै अग्रस्थानमा रहेको पाइन्छ ।

सौर्यमण्डलमा रहेका ग्रहहरुको आपसी सम्बन्धबाट प्राप्त तरङ्गलाई गणितीय सूत्रबाट अध्ययन गरी पृथ्वीमा रहेको जड र चेतनको प्रभावको अध्ययन र विश्लेषण गर्दै मानवजीवनमा भूत र भविष्यमा यसको प्रभावको बारेमा विवेचना गर्दै आएका एकजना सफल ज्योतिष हुन्– कश्यप पाण्डे बृहस्पति । झापाका स्थायी बासिन्दा पाण्डेको नाम युवा ज्योतिषको पङ्तिमा अग्रस्थानमा चर्चित बन्दै गएको छ ।

झापा गाउँपालिकामा वि.सं २०२६ साल जेठमा जन्मिएका पाण्डेले शरणामतिको जनता प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा शुरु गरी आठराईको पोखरी माध्यमिक विद्यालयबाट एसएलसी, चुहानडाँडा क्याम्पसबाट आईए र इनरुवा बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरी आठ वर्ष नेपाल प्रहरीमा जागिरे जीवन बिताए । त्यसपछिका १५ वर्षसम्म उनले अध्ययन र वैदेशिक रोजगारिको सिलसिलामा एशिया र युरोपका विभिन्न देशको भ्रमण गरे ।

जीवन र जगत के हो ? ज्ञान, बिज्ञान र दिव्य दृष्टि के हो ? भनेर कौतुहलता बोकिरहने स्वभावका पाण्डे अन्ततः सन् २००८ देखि दिव्यदृष्टि, ज्योतिष विज्ञान र सामुद्रिक विज्ञानको प्रायोगिक अध्ययनमा लागे । गुरु सुरेन्द्र सापकोटाबाट ज्योतिष विज्ञानका अध्ययन शुरु गरेका पाण्डे यज्ञ, महायज्ञ र होमादीबाट कुनै पनि फल प्राप्त हुँदैन, जीवन र जगत शून्य हो, मनुष्य फूलबारीको माली हो, बजारको ग्राहक हो, आषा र अभिलाषाको भोको प्राणी हो भन्ने मान्यता ज्योतिष विज्ञानले राखेको बताउँछन् ।

गर्भधारणदेखि जन्मसम्मको अवस्थाको आधारमा सिंगो जीवनको ग्रह, दृष्टिको आधारमा भविष्यवाणी गर्न सकिने उनी बताउँछन् । ज्योतिषलाई समुद्र, गहिरो महासागरको रुपमा तुलना गर्ने ज्योतिषशास्त्री, ज्योतिष विज्ञानका अध्येता पाण्डे पञ्चतत्वको पृथ्वीमा पञ्चतत्वले बनेको मानव जीवनमा सामान्य व्यक्तिदेखि राजनीतिज्ञ र राजा महाराजासम्म विश्वास र ग्रहको अवस्था अनुसार भविष्यवाणी गर्न सकिने बताउँछन् ।

हाल झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा ‘दिव्य दृष्टि ज्योतिष एवम् वास्तु परामर्श सेवा केन्द्र’ सञ्चालन गरेका पाण्डे ज्योतिष विज्ञानको बुझाई जीवन जिउन सिकाउने वेदको संविधान हो भन्ने मान्यता राख्दछन् । सेवाग्राहीको सही जन्ममिति, घरको मोहोडा आदिको आधारमा सहजै ग्रहदशा, विगत, वर्तमान र भविष्यको अवस्थाबारे भविष्यवाणी गर्न सकिने बताउने उनी ज्योतिष विज्ञान सिद्धान्त, सौर्यमण्डल, वातावरण, पर्यावरण सम्बन्धी र जीवन जिउन सहज उपायका सिकाउने एउटा असाधारण विज्ञान हो भन्छन् । अहिले उनको परामर्श केन्द्रमा दैनिकजसो झापाका विभिन्न स्थान, सिक्किम, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, मोरङ लगायतका विभिन्न स्थानबाट २०, २५ जनाको संख्यामा आउने गरेका छन् ।

ज्योतिष शास्त्रको आधारमा व्यक्तिको भविष्यवाणी गर्नु र वैज्ञानिक अनुसन्धानको आधारमा गरिएको भविष्यवाणीले सकारात्मक प्रभाव पारेर युवापुस्तामा विश्वासिलो ज्योतिषको सफल पहिचान बनाउन सक्नु उनको विशेषता नै बनेको छ । वैदिक ज्ञानको सागरको रुपमा रहेको वेदको आँखाको उपमा पाएको ज्योतिष विज्ञानले ग्रहको स्थान र भ्रमणको आधारमा जन्मदेखि मृत्युपर्यन्तका कर्महरु आधारित बन्ने गरेको ज्योतिष पाण्डे बताउँछन् ।

उनी भन्छन्– ‘ग्रहको प्रकृति र ब्रह्माण्डमा मानिस रहेको स्थानको प्रभावको आधारमा उसको जीवनको सफलता र असफलतामा प्रभाव पार्ने भएकोले गहिरो अध्ययनबाट मानवजीवनको अवस्थाबारे बताउन सकिन्छ ।’ बिना अध्ययन ज्योतिषीको रुपधारण गरेर ज्योतिषशास्त्रलाई मागीखाने भाँडोको रुपमा प्रयोग गरिएकोप्रति ज्योतिष पाण्डे भन्छन्– ‘ज्योतिषशास्त्र विज्ञान हो, यसलाई अनुमान र बाहिरी खाली हेर्ने गल्ती कहीँ कसैले गर्नुहुँदैन गहिरो अनुसन्धान र अध्ययन गरेर मात्र सही भविष्यवाणी गर्न सकिन्छ ।’

ज्योतिष विज्ञानको वास्तविक अध्ययनले भविष्यवाणी मात्र गर्दैन, ग्रहगोचर, ग्रहको स्थिति, मानिस बसेको भू–धरातल आदिको सम्मिश्रणबाट निर्धारण हुने घटना र परिघटनालाई ग्रहगोचर र मानव बसोबासको अवस्थितिमा फेरबदल गरेर पनि कमजोर दिनदशा र ग्रहगोचरलाई सही मार्गमा लैजानै उपाय समेत ज्योतिषशास्त्रले बेदका मन्त्रका आधारमा बदल्न सक्दछ । वेद दर्शन हा,े जसलाई आधुनिक विज्ञानले समेत आधार मान्छ । पश्चिमा विकसित र आधुनिक संस्कृतिले समेत ज्योतिषशास्त्रको विश्वास गर्छ । त्यसैले पूर्वीय दर्शनमा आधारित ज्योतिष विज्ञानको सही उपयोग गरेर सभ्य, सु–संस्कृत र समृद्ध समाजको निर्माण गर्न सकिने युवा ज्यातिष पाण्डे दाबी गर्छन् ।

प्रस्तुति : पूर्णबहादुर कटुवाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here