आफन्त खोज्दै अस्पताल

0
1709

झापा । झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी अस्पतालले एक बिरामीको आफन्त नहुँदा डिस्चार्ज भएको ६० दिनदेखि बिरामी अस्पतालमै रहेको जनाएको छ ।

पाँचथरको फाल्गुनन्द गाँउपालिका–४का ४५ वर्षीय पूर्णबहादुर लिम्बू टाउँकोमा गम्भीर चोटका कारण गत असोज २६ गते अस्पताल भर्ना भएका थिए । फाल्गुनन्द गाउँपालिका–४का वडाध्यक्ष मनबहादुर चेम्जोङ (दिलबहादुर) ले पूर्णबहादुरलाई एम्बुलेन्समा हालेर बिर्तासिटी अस्पताल पठाएका थिए । अस्पताल आए लगत्तै उनको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकहरुले तत्कालै शल्यक्रिया गरेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न न्यूरो सर्जन डाक्टर सीपी लिम्बूले बताए । मस्तिष्कमा रगत जमेकाले उनको तत्काल शल्यक्रिया गर्नुपरेको उनले बताए ।
बिरामीकी बहिनी रोनिशा नेम्वाङका साथ आएका घाइते पूर्णबहादुरको सफल शल्यक्रिया भएको थियो । उपचारमा न्यूरो सर्जन डाक्टर लिम्बूसहित डाक्टर दिग्गज श्रेष्ठको चिकित्सक टोलीले उपचार गरेको थियो । उपचारमा संलग्न डाक्टर लिम्बूका अनुसार जटिल अवस्थामा अस्पताल आएका पूर्णबहादुरको सफल शल्यक्रियासँगै स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

अस्पतालले पूर्णबहादुरलाई कात्तिक ३ गते नै डिस्चार्ज दिएको थियो । अस्पतालले डिस्चार्ज दिए पनि बिरामी बुझेर लैजाने आफन्त नहुँदा उनी दुई महिनादेखि अस्पतालमै बेबारिसे अवस्थामा रहेको अस्पताल प्रशासक बिनोदकुमार बस्नेतलले जानकारी दिए । प्रशासक बस्नेतका अनुसार बिरामी लिम्बूको खानपान र स्याहारसुसार चिकित्सक र नर्सले आफ्नै तर्फबाट गर्दै आएका छन् । पूर्णबहादुर निको भए लगत्तै बहिनी पनि अस्पताल आउन छाडेको बताइएको छ ।

लामो समयदेखि बेबारिसे जस्तै रहेका पूर्णबहादुरको आफन्त खोजीदिन अस्पतालले इलाका प्रहरी कार्यालय अनारमनीमा गत कात्तिक २६ गते निवेदन समेत दिएको अस्पताल प्रशासनले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथर, फाल्गुनन्द गाउँपालिका तथा वडा कार्यालयले समेत बेवास्ता गर्दा बिरामी अस्पतालमै बेबारिसे अवस्थामा रहेका छन् । उपचारमा लागेको खर्च विस्तारै तिर्न आग्रह गर्दै बिरामी लैजान अनुरोध गरे पनि हालसम्म कोही सम्पर्कमा नआएको अस्पतालका प्रशासक बस्नेतले बताए । बस्नेतले भने– यहाँ अहिले कोरोनाका बिरामीको पनि उपचार भइरहेको छ । केही कारण उनमा कोरोना तथा अन्य रोगको संक्रमण भए जटिल अवस्था आउन सक्ने भएकाले चिकित्सकको सल्लाह अनुसार नै बिरामी आफन्तलाई बुझाउन खोजेका हौं । उपचारमा संलग्न डाक्टर लिम्बू भन्छन्– पूर्णबहादुरलाई अहिले परिवारको हेरचाहको खाँचो छ । बिरामी पूर्ण रुपले निको हुन समय लाग्छ र समय समयमा फ्लोअपका लागि ल्याएर अरु समय घरमै राख्दा हुने चिकित्सकहरुको भनाइ छ ।

अस्पताल प्रशासक बस्नेतले उनको डिस्चार्ज अवधिसम्मको खर्च दुई लाख १३ हजार ७ सय २० रुपैयाँ रहेको बताए । हालसम्मको अवस्थामा जोड्ने हो भने चार लाखभन्दा बढी खर्च पुगेको छ भने औषधिको एक लाख ४० हजार खर्च बेग्लै रहेको फार्मेसीले जनाएको छ ।

यता पूर्णबहादुरकी बहिनी रोनिशा नेम्वाङले आफ्नो दाजु कुटपिटका कारण गम्भीर घाइते भएको र उपचारको सम्पूर्ण जिम्मा वडाध्यक्ष चेम्जोङले लिने आश्वासन दिएको बताएकी छन् । तर, रकम भुक्तानी गर्न पहल नगरेका कारण दाजुलाई लिन जान नसकेको उनले बताइन् । दाजुलाई जंगबहादुर नेम्वाङले कुटपिट गरेको र हाल उनलाई प्रहरीदे पक्राउ गरेको बताइएको छ । वडाध्यक्षकै बेवास्ताका कारण बिरामी डिस्चार्ज भएको ६० दिन भइसक्दा समेत अस्पतालबाट लान नसकेको बहिनी रोनिशाले बताइन् । यसैबीच वडा नम्बर–४का वडाध्यक्ष चेम्जोङसँग सम्पर्क गर्न खोज्दा सम्र्पक हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here