सुरुङ्गा गाविसको बजेट तथा कार्यक्रम सार्वजनिक

१३ माघ २०७०, सोमबार मा प्रकाशित

तीर्थराज खरेल

सुरुङ्गा, माघ १३ । गाउँ विकास समिति सुरुङ्गाको २१ औं गाउँ परिषद्बाट पारित आ.व.२०७०÷०७१ को संशोधित तथा २०७१÷०७२ को प्रस्तावित बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आइतबार गाविस हलमा आयोजित आ.व. ०७०÷७१ को संशोधित कार्यक्रम र आ. व. ०७१÷७२ को प्रस्तावित कार्यक्रम सार्वजनिकीकरण गर्ने समारोहमा सुरुङ्गा गाविस सञ्चालन समितिका अध्यक्ष एवम् गाविस सचिव रुद्रप्रसाद कार्कीले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरे । नेपाल सरकारबाट जारी ऐन, नियम तथा स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ बमोजिम यो बजेट तथा कार्यक्रम तर्जुमा गरिएको उनले जानकारी दिए । कार्यक्रमहरुको छनौट गर्दा वडा नागरिक मञ्चबाट माग भई आएका योजनाहरु सर्वदलीय टोलीबाट अनुगमन गरी तथा स्थानीय स्तरको  छलफल तथा परामर्श समेतका आधारमा सबै राजनीतिक दलहरुसँगको समन्वय, सहकार्य  तथा वडा नागरिक मञ्चका प्रतिनिधिहरुको निर्णयबाट आयोजनाहरुको प्राथमिकीकरण गरिएको उनले प्रष्ट पारे । सुरुङ्गा गाविसको आ.व.२०७०।७१ को संशोधित बजेट जम्मा १ करोड २ लाख २७ हजार ६ सय ५७ रुपैयाँ र आगामी आ.व.को १ करोड १ लाख ३२ हजार ७ सय रुपैयाँ बराबरको अनुमानित प्रस्तावित बजेट सार्वजनिक भयो । चालु आ.व.को लागि आयतर्फ गाविसको आन्तरिक आय ५६ लाख ५७ हजार ६ सय ५७ रुपैयाँ र सरकारी अनुदानबाट ४६ लाख रुपैयाँ प्राप्त हुने जानकारी दिइयो । आम्दानी तर्फ घरधुरीकर, मालपोत, हाटबजार पसल कर, सवारी साधन कर, बाल विटौरी कर, स्रोत उपयोग कर, होडीङ्ग ठेक्का वापत विज्ञापन कर, व्यवसाय कर, दस्तुर, जिविस झापा तथा नेपाल सरकारबाट पूँजीगत अनुदान लगायतका शीर्षकबाट आय प्राप्त हुने जानकारी दिइयो । आ.व.२०७०÷०७१ को खर्चतर्फ उपभोग खर्च १७ लाख १० हजार रुपैयाँ, कार्यालय सञ्चालन खर्च ५ लाख ९० हजार रुपैयाँ, सेवा खर्च १ लाख ९० हजार रुपैयाँ, पूँजीगत खर्च ७० लाख ६ हजार रुपैयाँ, पूँजीगत अनुदान खर्च ४ लाख ५० हजार रुपैयाँ र भैपरी तथा फिर्ता खर्च २ लाख ८१ हजार ६ सय ५७ रुपैयाँ गरी जम्मा १ करोड २ लाख २७ हजार ६ सय ५७ रुपैयाँ हुने बताइयो भने आगामी आ.व.२०७१÷०७२ को खर्च विवरणमा उपभोग खर्च १७ लाख ९० हजार रुपैयाँ, कार्यालय सञ्चालन खर्च ५ लाख ४० हजार रुपैयाँ, सेवा खर्च १ लाख ९० हजार रुपैयाँ, पूँजीगत खर्च ६८ लाख ८० हजार रुपैयाँ, पूँजीगत अनुदान खर्च ४ लाख ५० हजार रुपैयाँ र भैपरी तथा फिर्ता खर्च २ लाख ८२ हजार ७ सय रुपैयाँ गरी जम्मा १ करोड १ लाख ३२ हजार ७ सय रुपैयाँ हुने बताइयो । केही योजनाहरु गाविसले सम्पन्न गर्न नसक्ने भएको हुँदा  जिविस तथा केन्द्रीय योजनामा समावेश गरी  आगामी आ.व.मा समावेश गरिदिन जिविस झापा र माथिल्लो निकायमा माग गर्ने  समेत पारित कार्यक्रम सो अवसरमा जानकारी दिइयो । सुरुङ्गा प्रहरी चौकी हाल  इलाका प्रहरी कार्यालयको रुपमा स्थापना  भइसकेको तर  भवन साँघुरो  भई सुरक्षाकर्मी बस्न समस्या भई रहेको र  गाविसको क्षेत्रभित्र सार्वजनिक जग्गा समेत  ब्यवस्था हुन नसकेको हुँदा कनकाई सामुदायिक वनको अधीनस्थमा रहेको सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन दक्षिण तर्फको जग्गामा भवन निमार्ण गर्न उपयुक्त हुने भएकोले भवन निमार्ण गर्न दश कठ्ठा जग्गा उपलब्ध गराईदिन जिल्ला वन कार्यालय मार्फत नेपाल सरकार समक्ष माग गर्ने, कोटीहोम चोकदेखि कनकाई आर्यघाटसम्म जाने निमार्णाधिन बाटो  कालोपत्रे गर्न जिविससँग माग गर्ने र आर्यघाटको योजना अनुसार बाँकी काम पूरा गर्न जिविस मार्फत राष्ट्रिय  योजना आयोगमा पहल गरी दिन माग गर्ने, झापामा खेलकुदको सर्वाङ्गीण  विकासको निम्ति जिल्लाको केन्द्र भागमा रहेको सुरुङ्गामा खेलकुद प्रतिष्ठान स्थापनाको लागि सम्बन्धित निकायमा माग गर्ने, कनकाई उच्च मा.वि.को खेल मैदानलाई सुबिधासम्पन्न रंगशाला निमार्ण गरी दिन जिविस मार्फत राष्ट्रिय खेलकुद बिकास समितिसगँ माग गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा हाल बिरामीको अत्याधिक चाप भएको र यो झापाको मध्यभागमा पर्ने क्षेत्र समेत भएको हुँदा जिल्ला स्तरीय अस्पतालको रुपमा रुपान्तरण गर्नको लागि जिविस तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापामा आवश्यक पहल गरिदिनहुन माग गर्ने, सुरुङ्गा बजारक्षेत्र तीव्र शहरीकरण हुँदै गएकोेले ढल निकासको लागि योजना स्वीकृत गरी कार्य सञ्चालनको आवश्यक व्यवस्था समेत गरी दिन जि.वि.स. तथा नगर विकास समितिसँग अनुरोध गर्ने, गाविस कार्यालय भवनदेखि सुरुङ्गा बजार हुँदै राजमार्ग उत्तर कालीस्थान हुँद जानकी निमाविसम्म सडक कालोपत्रेका लागि जिविस झापामा माग गर्ने, मदरगाँछसम्म जाने  लक्ष्मीमार्ग तथा दुर्गापुर–दानाबारी इलाम मार्ग बाटो कालोपत्रे गर्न जिविस झापा  मार्फत राष्ट्रिय योजना आयोगमा  माग गर्ने, जामुनखाडी पर्यटकीय सिमसार  क्षेत्र घोषणा गरी गुरुयोजना अनुसार आवश्यक व्यवस्था मिलाइदिनुहुन जिविस मार्फत राष्ट्रिया योजना आयोगमा माग गर्ने, कनकाईधाम धार्मिक विकास संस्थाले संस्थाको हातामा अतिथि आवासगृह निर्माणका लागि कार्य गरी रहेकोले गुरुयोजना अनुसार सोको लागि  जिविस मार्फत  राष्ट्रिय योजना आयोगमा माग गर्ने, सुरुङ्गा गा.वि.स. नगरपालिका हुन भौतिक पूर्वाधारहरु पूरा भैसकेको हुँदा कनकाई नगरपालिका घोषणा गरिदिन जि.वि.स. मार्फत अनुरोध गर्ने, कनकाई नगर विकास समिति गठनका लागि जिविस मार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने, सुरुङ्गा बजार राजमार्ग क्षेत्र अति ब्यस्त रहने भएकोले बजार क्षेत्रमा एकतर्फी बाटो निर्माणका लागि बाँकी काम पूरा गरिदिन सडक डिभिजन कार्यालय दमक झापासँग माग गर्ने, धनुषकोटीधाम उत्तरबाट सतासीधाम वडा न. ८ को वीचमा पर्ने कनकाई माई खोलामा झोलुङ्गे पुल निमार्ण गरीदिन हुन जि.बि.स झापासँग आवश्यक पहल गरिदिन माग गर्ने, शहीद सुधीरमार्ग सडकबाट जामुनखाडी सिमसार क्षेत्रसम्म जाने बाटो ग्राभेल गरिदिन  र सो बाटोमा पर्ने बाघेखोलामा कल्र्भट निमार्ण गरिदिन जि.बि.स झापासँग माग गर्ने लगायतका ५६ वटा मागहरु माथिल्लो निकायमा पेश गर्ने समेत कार्यक्रम रहेको सो अवसरमा सार्वजनिक गरियो । चालु आ.व. २०७०।७१ को संशोधित कार्यक्रम र आगामी आ.व. २०७१÷०७२ सालको प्रस्तावित कार्यक्रम सम्बन्धी गाउँ परिषद् बैठक गत पौष २८ देखि ३० गते सम्म लगातार तीन दिनसम्म बसेको थियो । जिविस झापाका योजना तथा प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा सुरुङ्गा गाविसका पूर्व गाविस सचिव तुलसीप्रसाद भण्डारीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख, वडा नागरिक मञ्चका संयोजकहरु, गाविसभित्रका सरकारी कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैको विचारमा बजेट तथा कार्यक्रमले सकेसम्म धेरै क्षेत्रलाई समेट्न खोजेको प्रतिक्रिया दिए । गाविस सचिव रुद्रप्रसाद कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम लक्ष्मी अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here