मन्त्री, सांसद र मेयरद्वारा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार

0
934

विराटनगर ।

पार्टी भित्र चरम अल्पमतमा परेर कारबाही भोग्नु पर्नेभएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जथाभावि केन्द्रीय सदस्य थप गरेको पाइएको छ ।

नेकपा एकता हुँदा बनेको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा करिब सय जनामात्रै आफ्नो समूहमा भएपछि ओलीले मंगलबार केन्द्रीय समिति एकलौटी विस्तार गर्दै १ हजार १ सय ९९ जनाको बनाउने घोषणा गर्नुभएको थियो ।

ओलीको उक्त घोषणालाई खारेज गर्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा मंगलबार नै बसेको ३ सय १५ जना केन्द्रीय समितिको बैठकले ओलीलाई अध्यक्ष पदबाट समेत बर्खास्त गरिसकेको छ । बर्खास्तीमा पर्ने निश्चित भएपछि नै ओलीले विधान विपरीत केन्द्रीय सदस्य थप गरेर नौटंकी मात्र देखाएको प्रचण्डको आरोप छ ।

ओलीले विस्तार गरेको केन्द्रीय समितिमा रहेकाहरुले पनि धमाधम पद अस्वीकार गर्न थालेका छन् । केन्द्रीय समितिमा थप गरिएका भनिएका प्रदेश १ का मन्त्री र सांसदहरुले उक्त पद अस्वीकार गरेको घोषणा गरेका छन् । प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोई रहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गर्नुभएको छ । ‘विश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोई रहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटिको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिँन,’ गजमेरले सामाजिक संजाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।

प्रदेश १ कै सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गर्नुभएको छ । ‘कमरेडहरु कम्युनिष्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई धरर्धरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे,’ बुढाथोकीले फेसबुकमा लेख्नुभएको छ, ‘हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र रमिता बाहेक कमरेडहरु ! यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटि बनाएर एउटा कमिटिमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ, तर मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन, धन्यवाद ! ।’

उनीहरु मात्रै नभएर उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्नुभएको छ । ‘मलाई नसोधी केन्द्रीय समितिमा नाम राखेको भन्दै सामाजिक संजालहरुमा देखिरहेको छु,’ उहाँले भन्नुभयो, ‘त्यसलाई मैले अस्वीकार गरेको छु ।’

प्रदेश १ मा यसअघि माधवकुमार नेपाल निकट मानिने उषाकला राई भने ओली समूहको केन्द्रीय सदस्य बन्नुभएको छ । उहाँ श्रीमान् शेरबहादुर तामाङसँगै ओली समूहको मंगलबारको बैठकमा पनि सहभागी भएको बताइएको छ ।

प्रदेश सरकारका यसअघि तत्कालिन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईलाई मतदान गरेर सामाजिक विकासमन्त्री बन्नु भएका जीवन घिमिरे भने पार्टीको संस्थापन पक्ष (प्रचण्ड–नेपाल समूह)मा खुल्नु भएको छ । उहाँ मंगलबार बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकमा सहभागी हुनुभयो ।-हाम्रोमत डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here