झापा ।
गैरनागरिकलाई नागरिकता वितरण गरेको आरोपमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई शनिबारसाँझ जिल्ला प्रहरी कार्यालय झापामा बोलाएर नियन्त्रणमा लिइएको हो ।
तीन जना गैरनेपालीलाई नागरिकता बनाइदिएको आरोपमा उनीसँगै अरु दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहयोगी कर्मचारी आसिर आलम र गौरादह नगरपालिका–७का स्थानीय कृष्ण तिम्सिना रहेका छन् । तिम्सिना वडा कार्यालयमा लामो समयदेखि बिचौलियाको काम गर्दै आएका थिए ।
प्रशासन कार्यालय झापाको आदेशमा प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक नेतृत्वको टोलीले उनीहरूलाई शनिबार बेलुका पक्राउ गरी जिल्ला ल्याएर किर्ते नागरिकताको विषयमा थप अनुसन्धान थालेको छ । गौरादह नगरपालिका–७ नम्बर वडा कार्यालयको किर्ते छाप र वडा अध्यक्ष बलराम खरेलको किर्ते हस्ताक्षर गरी तीनजना गैरनेपालीलाई नागरिकता प्रमाणपत्रका लागि सिफारिसको कागजात बनाइएको थियो । करिब एक महिनाअघि भएको किर्ते नागरिकताको घटना विषयमा वडाध्यक्ष खरेलले सूचना पाएका थिए ।
त्यसपछि वडाध्यक्ष खरेलले सो विषयमा छानबिनका लागि गोप्य रुपमा अनुसन्धान विभागका एक कर्मचारीलाई अनुरोध गरेका थिए । किर्ते नागरिकताको विषयमा खोज्दै जाँदा सर्वधन राई नाम गरेको व्यक्तिले सनाखत गरेको देखिन्छ । राईले नक्कली बाबु बनेर छोराहरू विशाल राई, अमृत राई र छोरी दीपिकाका नाममा नागरिकता अनुसूचीमा सनाखत गरेको देखिन्छ । नागरिकताको अनुसूची १मा कार्तिक २७ गते वडा कार्यालयबाट लगिएको तर कार्यालयमा त्यसको कुनै अभिलेख नभएको वडाध्यक्ष खरेलले बताए । खरेलले भने– कात्तिक २७ गते आफूले नागरिकताका लागि कुनै व्यक्तिलाई पनि सिफारिस गरेको छैन ।
‘कात्तिक २८ गते ती नाम गरेका मानिसहरूले काठमाडौँमा पासपोर्टका लागि वडा कार्यालयमा कागजात पेश गरेपछि उनीहरूको नागरिकतामाथि शंका लागेको हो’– वडाध्यक्ष खरेलले भने– ‘त्यसपछि घटनाको विषयमा इलाका प्रशासन कार्यालय गौरीगञ्जमा पुगेर घटनाको आन्तरिक छानबिन शुरु गरेको थियो ।’
उक्त विषयमा अनुसन्धान विभागलाई पनि जानकारी गराइएको थियो । ‘नक्कली बाबु बनेर सनाखत गरेका राई र उनका छोराछोरी मेरा वडाका बासिन्दा नै होइनन् । उनीहरूले बनाएको किर्ते नागरिकतामा ठेगाना पुरानो जुरोपानी गाविस वडा नम्बर ८ खुलाइएको छ’– उनले भने ।
प्रहरीले छानबिन गर्दैछ :प्रजिअ तिम्लिसिना
घटनाको विषयमा प्रहरी कार्यालय झापाले केही खुलाउन चाहेको छैन । जिल्ला प्रशासन कार्यालय झापाले किर्ते नागरिकता घटनाको विषयमा अनुसन्धानको लागि प्रहरी कार्यालय झापालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीलाई अधिकार दिइसकेका छौं’– प्रजिअ तिम्लिसिनाले भने– ‘अहिले नै केही भन्न मिल्दैन, अनुसन्धान सकिएपछि कुरा बाहिर ल्याउँछौ ।
किर्ते नागरिकताको विषयमा उनीहरूमाथि उजुरी परेपछि सिआइबीमार्फत प्रहरीले अनुसन्धान थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । यता प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । ‘अनुसन्धान सकिए लगत्तै सबै विवरण मिडियालाई दिन्छौं’– उनले भने ।































