जसले आफ्नै विवादलाई ब्रान्ड बनाए

0
5667

 

दुर्गा प्रसाईं । विवाद र चर्चामा आइरहने नाम हो । विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०लाई आफ्नो घरमा बोलाएर मार्सी चामलको खाना खुवाएर चर्चा बटुलेका मार्सी उपनामले परिचित व्यक्ति हुन् । दुई नेतालाई मार्सी चामलको खाना खुवाएका कारण आलोचकहरूले उनलाई मार्सी उपनामसमेत दिएका छन् ।
तर, प्रसाईले त्यही नामलाई वियरको ब्रान्ड बनाएर बजारमा पठाउने तयारी थालेका छन् । आफूलाई विभिन्न कोणबाट चिरपरिचित हुनलाई मार्सीको नामले सहयोग गर्यो, त्यही भएर यही नाममा वियर बजारमा पठाउने तयारी गरेको उनी बताउँछन् ।
झापामा जन्मिएका प्रसाईंको बाल्यकाल झापा र काठमाडौं गरेर बितेको थियो । २०३६ सालमै काठमाडौंको पदमोद्य माध्यमिक विद्यालयमा प्रारम्भिक शिक्षा लिएका प्रसाईं पुनः झापामै अध्ययनका लागि फर्किएका थिए । द्वन्द्वकालमा ६ महिना सैनिक हिरासतमा परेका प्रसाईंले २०६७ सालबाट झापामै मेडिकल कलेज निर्माण गरेका हुन् । सशस्त्र द्वन्द्वपछि माओवादी मूलधारमा आएसँगै उनको व्यवसायमा उदय भएको भन्दै उनीमाथि नेताको पैसा चलाएको पनि आरोप छ । यद्यपि प्रसाईं यसलाई ठाडै अस्वीकार गर्छन् ।

त्यो बेला विभिन्न आरोपहरूसमेत बेहोरेको उनी सुनाउँछन् । ‘बजारमा केही नभएको मान्छेले एकैपटक मेडिकल कलेज सञ्चालनमा ल्याएको भन्दै धेरैले उनको कुरा काटे, तर मसँग पुर्खौली सम्पत्ति पर्याप्त मात्रामा छ,’ प्रसाईं भन्छन्, ‘हामीसँग ३०० विघा जग्गा थियो र अहिले पनि छ ।’ उनले अहिले मेडिकल कलेज, जलविद्युत, होटल, उद्योग र हाउजिङमा लगानी बढाएर व्यवसायिक साम्राज्य विस्तार गर्दै छन् ।

पैतृक सम्पत्तिलाई सदुपयोग गरेर व्यवसाय सञ्चालन गर्दै आएको उनको भनाइ छ । मारवाडीहरूले बैंक तथा वित्तीय संस्थाहरू खोल्नेदेखि ठूला–ठूला उद्योगहरू सञ्चालन गरिरहेका छन् । त्यसभित्र केही नेपाली उद्योगी व्यवसायीहरूले पनि काम गर्दा विभिन्न समयमा माफियाको दाग लगाउँदा कताकता मन दुख्ने गरेको उनी सुनाउँछन् । तैपनि यहाँको माटो र देशको मायाले गर्दा काम गरिरहेको उनको भनाइ छ ।

अहिले उनका छोराछोरी नै डाक्टर भइसकेका छन् । उनको सालो डाक्टर रामबाबु गिरीले नै उनलाई झापामा मेडिकल कलेज खोल्नका लागि हौसला दिएको बताउँछन् । डाक्टर अध्ययनका लागि विदेश जानुभन्दा नेपालमै सहज रुपमा पढ्न सक्ने वातावरण बनाउन उनको सालोले दिएको आइडियालाई प्रयोग गरेको उनी बताउँछन् ।

त्यही अनुरुप उनले बिर्तामोड चोकमा रहेको पाँच बिगाह बाँकी चाहिने १६ बिगाह जग्गा किनेर कलेज सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

प्रचण्डको मात्र होइन केपी ओलीको पनि साथ छ ?

हो, मलाई दुवै अध्यक्षको मात्र होइन आम नेपालीको साथ छ । किनकी अहिले नेपालबाट वार्षिक ४ हजार नेपाली विद्यार्थी डाक्टर पढ्नका लागि विदेश जान्छन् । मैले उनीहरूलाई नेपालमै पढ्न सक्ने वातावरण बनाउनका लागि काम गरेको हुँ । यसका लागि प्रचण्डको मात्र होइन, सबै नेपालीको साथ छ । जहाँसम्म प्रचण्डको लगानीको कुरा बेला–बेलामा आउने गरेको छ ।

म दक्षिणकाली मातालाई साक्षी राखेर भन्छु, त्यहाँ मेरो छोराछोरी लिएर कालोबोको काटेर रगत चाट्न तयार छु । म २४ घण्टा बाच्न नपाउँ, एक रुपैयाँ पैसा कुनै पनि नेताको मेडिकल कलेज वा कुनै पनि उद्योगमा छैन । मैले जति लगानी विस्तार गरेको छु, त्यो पैसा सबै नेपाली जनताको हो । बैंकको पैसा हो । मेरो जायजेथा राखेर बैंकबाट पैसा झिकेर लगानी गरेको छु ।

प्रसाईंले लगानी विस्तारका लागि सम्भाव्यता अध्ययन गर्न पाँच जना सीएको टिम बनाएका छन् । भारतमा अध्ययन गरेर गोल्ड मेडलिष्ट पाएका पाँच जना सीएहरूलाई साथमा राखेर उनले आफ्नो व्यवसायलाई अगाडि बढाइरहेका हुन् ।

कुन–कुन र कस्ता उद्योगहरू सञ्चालन हुन सक्छन् भन्ने अध्ययन गर्छन् र उनीहरूकै सुझावअनुसार लगानीलाई विस्तार गर्दै लैजाने उनको भनाइ छ । ‘विवादित नै भए पनि मैले एक किसिमको प्लेटफर्म बनाएको छु,’ उनले भने, ‘यही प्लेटफर्मलाई लिएर नयाँ–नयाँ काम गर्न चाहन्छु ।’
जति कमाइन्छ, त्यो रकम बराबरको कर तिरेर नेपालमै लगानी गर्दै आएको बताउँदै, मेरो चाहना पैसा कमाउनेभन्दा पनि धेरैभन्दा धेरैलाई रोजगारी दिने भन्ने नै हो, उनले भने ।

आफैं क्यान्सर पीडित

प्रसाईं आफैं क्यान्सरको बिरामी हुन् । पाँच वर्षअघि जिब्रोको क्यान्सर भएपछि अप्रेसन गरेर नयाँ जीवन लिएका उनी भन्छन्, ‘क्यान्सरलाई जितेर हिँडिरहेको छु, मैले कुन दिन यो धर्ती छोड्नुपर्छ भन्ने थाहा छैन तैपनि मेरो सास रहुँन्जेल नेपाल र नेपालीकै हितमा काम गर्ने अठोट लिएर अघि बढिरहेको छु, मेरो लगनशील र मेहनतका कारण योसम्म आएको हुँ,’ उनले भने ।

अहिले तीन हजारलाई रोजगारी, १० वर्षमा १ लाखलाई दिने

अहिले विभिन्न कम्पनीमार्फत ३ हजार नेपालीहरूलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले दाबी गरेका छन् । जबसम्म हामीले रोजगारी सिर्जना गर्दैनौं तबसम्म विदेश जानेहरूको संख्या घटाउन सकिँदैन । जबसम्म विदेश जानेहरू नेपालीहरूलाई रोक्न सक्दैनौं तबसम्म देशको मुहार फेरिँदैन । नेपालीहरू नै गएर दुबई, कतार, मलेसियालाई राम्रो बनाएका हुन् । ती श्रमिकहरूलाई नेपालमै रोकेर यही काम गर्न सके देश बन्नलाई कुनै समय लाग्दैन ।

१० वर्षमा १ लाख नेपालीहरूलाई आफ्नो कम्पनी मार्फतबाट मात्र रोजगारी दिन सक्ने गरी नयाँ उद्योगहरू खोल्न लागि परेको बताउँछन् ।

जलविद्युतमा पनि लगानी

ताप्लेजुङमा १२६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइरहेको छ । आयोजना बनाउन विकासकर्ता इस्पाथ हाइड्रो प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । २० अर्ब रुपैयाँ लागत रहेको सो आयोजनापछि जलविद्युत क्षेत्रमा पनि आफ्नो लगानी विस्तार हुने बताउँछन् ।

मार्सी वियर आउँदै

टाईगर ब्रुअरी कम्पनीको ६० प्रतिशत सेयर हिस्सा लिएर प्रसाईंले मार्सी वियर बजारमा ल्याउने तयारी गरेका छन् । कर्णाली क्षेत्रमा पाइने चर्चित मार्सी चामलको प्रयोग गरी मार्सी ब्राण्डमा पुसभित्रमा बियर बजारमा आउने भएको हो ।

टेन्सबर्ग बियर उत्पादन गर्दै आएको टाइगर ब्रुअरी कम्पनी ४ अर्ब रुपैयाँमा खरिद गरी मार्सी बियर ल्याउन लागेका हुन् । उद्योगबाट दैनिक २ लाख बोतल बियर उत्पादन हुनेछ । मार्सीले प्रिमियम र स्ट्रङ दुई थरीको बियर बजारमा ल्याउने सञ्चालक प्रसाइले जानकारी दिएका छन् ।

३५० एमएल र ७०० एमएलको गरी दुईवटा बोतल र क्यानमा पनि यो बियर उपलब्ध हुनेछ । बियरको न्यूनतम मूल्य २८० रुपैयाँ राखिएको छ ।
बियरमा ७० प्रतिशत जहुँ र ३० प्रतिशत मार्सी चामल प्रयोग हुन्छ । यसमा प्रयोग हुने चामलको खुदी कर्णालीमा उत्पादन हुने मार्सी चामल प्रयोग गर्न थालिएको जनाएको छ ।

पाँचतारे होटल

झापामै पाँचतारे होटलसमेत निर्माण गरिरहेका छन् । ११० कोठा रहने सो होटलमा क्यासिनोसमेत रहनेछ । ३ अर्ब लगानीमा निर्माण भएर ७० प्रतिशत काम सकिसकेको छ । होटल एट्रियम ४ बिघा क्षेत्रफलमा फैलिएको छ । विशेषगरी भारतीय पर्यटकहरूलाई लक्षित गरी होटलसँगै क्यासिनो सञ्चालन गर्ने योजना बनाएका छन् ।

काठमाडौंमा भन्दा झापामा बढी क्यासिनो चल्ने उनको अनुमान छ । त्यहाँबाट आधा घण्टाको दूरीमा भारतमा बागढुंग्रा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । २७ वटा राष्ट्रको जहाजहरू त्यहाँ आउँछ । क्यासिनो खेल्ने नेपाली नभई भारतीय र विदेशीहरू नै भएकाले त्यहाँ सबैभन्दा राम्रो हुने विश्वास लिएको छ ।

अबको ६ महिना भित्रमा सञ्चालन गर्ने गरी काम तीव्र गतिमा रहेको छ । योसँगै झापामा २ वटा पाँचतारे होटल रहनेछ । उनको होटलको व्यवस्थापन भने भारतीय कम्पनीहरूलाई दिने तयारी गरेका छन् ।

सुभम हाउजिङ

प्रसाईंले झापामै हाउजिङ कम्पनी पनि अगाडि बढाएका छन् । १ सयवटा घरसहितको हाउजिङ निर्माण गरिएको हो । तीमध्ये ३० वटा घर बिक्री भइसकेको छ । विशेष गरेर डाक्टरहरूलाई लक्षित गरी हाउजिङ निर्माण गरिएको हो । १० विगा क्षेत्रफलमा फैलिएको छ । १ करोड ५० लाखदेखि २ करोडसम्मको छ । झापामा हाउजिङ पहिलो र सफल भएको मध्य हो ।
दुःखको क्षण

सुरुमा उनले व्यावसायिक रुपमा फार्म सञ्चालन गरेका थिए । १५० वटा भैंसी र गाई माउँ पालेका थिए । ०४८/०४९ सालतिरको कुरा हो । त्यो बेला सालभरि गाई–भैंसीलाई खुवाउन राखेको परालमा आगो लागेर सबै सकिएपछि तिनीहरूलाई आफ्नै हातले घाँस काटेर खुवाएर बचाएको छु ।

त्यो अनुभव मैले भोगेको छु । ६ महिनासम्म सैनिक हिरासतमा बसेको छु । मेडिकल कलेज खोल्दा धेरै समय भोकभोकै बसेको छु । मिनिरल वाटरको उद्योगसमेत खोल्ने सोच बनाएको छु ।

श्रोत

https://www.capitalnepal.com/news/73558?fbclid=IwAR01YgPqbs0X3nWyuRJx9I7pigafobc3yuhcPdBDeK_9ucNZYsXlCeO4Uwg#.X-nfzYslCtF.facebook

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here