३०० जनाले पाए खाना, नाना र छाना

0
717

झापा । धनुषास्थित वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिनुभयो । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले उहाँ राम्ररी हिँड्डुल गर्न सक्नुभएको थिएन । वरपर मान्छेको आवतजावत बाक्लै भए पनि कसैको नजर उहाँमा परेको थिएन । बेवारिसे व्यक्तिलाई हेर्ने दृष्टिकोण नै समाजमा अझै पनि सकारात्मक छैन भन्ने तीतो यथार्थ त्यहाँ देखियो ।

यत्तिकैमा एक हुल युवा हरर….आइपुगे । एक्कासी नयाँ मानिसको जमघट देखेपछि स्थानीयवासीको जमघट बढ्यो । उनीहरु खुसामद गर्दै थिए । कतिले पैसा बाँड्न लागेको र खाना बाँड्न लागेको कुरा पनि खासखुस गर्दै थिए । त्यो युवा समूह अरु कोही नभएर मानव सेवा आश्रमको मेची–महाकाली उद्धार अभियानकर्मी थिए । बेसहाराको उद्धारमा खटिएका युवाले उहाँलाई स्ट्रेचरमा राख्नै लाग्दा महिलाको आँखाबाट बरर… आँसुका धारा बग्यो । मलिन अनुहारमा दुई हात जोडेर उहाँले सबैसामु सहयोगको भिख माग्नुभयो । यसअघि यसरी कसैले नगरेको काम एक्कासी प्राप्त मायाले उहाँ चकित पनि हुनुभयो ।

फरक भाषा भएकाले बुझ्न नसकिए पनि उहाँका हाउभाउले धेरै पीडा बोलिरहेको थियो । कारुणिक अवस्थाबाट उद्धार गरी उहाँलाई सर्लाहीस्थित हरिवनमा रहेको मानव सेवा आश्रममा ल्याएर राखिएको छ । केही भन्न खोज्दै हुनुहुन्थ्यो तर भन्न सकिरहनुभएको थिएन, हामीले तत्कालै उद्धार गरेर स्ट्रेचरमा राख्दा पनि उहाँ ऐया ऐया भन्दै रुनुमात्र भयो– उद्धारकर्मी सुशीला केसी सम्झिछिन्– आश्रम ल्याएर सरसफाई गरेपछि उहाँको पीडा निकै कम भएको छ ।

सिरहाको लहान बजारस्थित सडकमा फेला परेका चार व्यक्तिलाई पनि सोही बेला नेपाल प्रहरीले उद्धार टोलीको जिम्मा लगायो । उनीहरु सबैलाई मेचीकाली अभियानमा खटिएको टोलीले एम्बुलेन्समा राखेर मानव सेवा आश्रममा पु¥याई खाना, नाना र छानाको आवश्यक प्रबन्ध गरिएको छ । टोलीले आफैँ राजमार्गमा घुमेर सडकमा रहेका बेसहाराको उद्धार गरिरहेको छ ।

उक्त टोलीमा एम्बुलेन्सहित स्वास्थ्यकर्मी परिचालित छन् । जहाँ मिल्छ, त्यहाँ आफैँ खाना पकाएर खाँदै टोलीले उद्धार अभियान चलाइरहेको छ । युवाले सोही क्रममा सामाजिक सचेतना दिने, स्थानीय तह र प्रदेश सरकारलाई घच्घच्याउने काम पनि एकैसाथ गर्दै आएका छन् । एक हप्तामा मात्रै उक्त टोलीले प्रदेश नं. १ र प्रदेश नं २ का केही जिल्लाबाट मात्रै ३१५ जनालाई उद्धार गरी व्यवस्थापन गरेको छ । उनीहरुलाई यहाँ खोलिएको विभिन्न आश्रममा नअटेपछि स्थान अभाव हुँदा दैनिक ३० हजार भाडा तिर्ने गरी पार्टी प्यालेसमा राख्नुपरेको आश्रमले जनाएको छ ।

सरकारले वि.सं. २०७८भित्र मुलुकलाई बेसहारा सडक मानव नरहेको मुलुक बनाउने उद्घोष गरिसकेको छ । उक्त सरकारी सङ्कल्प पूरा गर्ने आधार तयार पार्न मानव सेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची(महाकाली सडकयात्रा गरेको हो ।
यही अभियान पुस ९ गते मेचीबाट औपचारिकरूपमा थालिएको थियो । कूल ३०० बेसहाराको सडकबाट उद्धार गर्ने लक्ष्य रहे पनि प्रदेश नं. १ र प्रदेश नं. २को केही जिल्ला घुम्दा नै उक्त लक्ष्य प्राप्त भइसकेको छ । त्यसैले अबको व्यवस्थापन चुनौतिपूर्ण छ ।

सडकमा सोचेभन्दा बढी बेसहारा सहयोगापेक्षी रहेको र त्यसबाहेक परिवार भएका व्यक्तिलाई समेत प्रहरी र स्थानीय तहले उठाएर ल्याउँदा संख्या बढी हुन पुगेको छ । ूवास्तविक सहयोगापेक्षी त हामी संरक्षण गर्न सक्छौँ, मदिराको तालमा रम्न चाहने व्यक्ति धेरै सडकमा देखिए, उहाँहरु धेरै घरपरिवार भएका पनि हुनुहुन्छु– आश्रमका प्रवक्ता सुमन बर्तौला भन्छन्– त्यस्ता व्यक्तिलाई सडकमा आउनबाट रोक्ने वातावरण निर्माणमा स्थानीय तह र प्रहरीको सहयोग चाहिन्छ । उनले बेसहाराबाहेक परिवार भएका, पेशेवर मगन्ते र दिनभर मदिरा खाएर बस्ने व्यक्तिलाई उद्धार गर्ने आश्रमको नीति नभएको समेत बताए  ।

प्राप्त विवरण अनुसार प्रदेश नं. १मा मात्रै २५४ जनाको उद्धार भएको छ । झापामा ७६ भेटिएका छन् । सुनसरीमा १११ र मोरङमा ६४ फेला परे । त्यस्तै प्रदेश नं. २ अन्तर्गत सप्तरीमा ३६, सिरहा, महोत्तरी र धनुषामा २५ को उद्धार भइसकेको छ । प्रदेश नं १मा प्रहरी र स्थानीय तहमार्फत मानिस ल्याउँदा परिवार भएका, मदिराको तालमा रमाउने, मजदुरी गर्ने, घर तथा परिवार भएका व्यक्ति पनि आए, स्थानीय तहले खाना दिने गरेकाले त्यही आशमा आएका व्यक्ति पनि समेटिए– आश्रमका अध्यक्ष रामजी अधिकारीले भने– त्यसैले अहिले अभियानको स्वरूप बदलेर वास्तविक सहयोगापेक्षीलाई मात्रै उद्धार गर्ने गरी कार्यक्रम थालिएको छ ।

कुनै पनि सहयोगापेक्षी छन् भने उद्धार टोली आफैँ गएर अवस्था बुझेपछि वास्तविक बेसहाराको पहिचान गरेर मात्रै उद्धार गर्न थालिएको उनले बताए । जो पायो त्यही उठाउँदा एक त व्यवस्थापन गर्न कठिन, अर्को घरपरिवार भएका र काम गरेर खान सक्ने व्यक्तिका लागि यो अभियान हुँदै होइन– अधिकारीले अभियानबारे प्रष्ट्याउँदै भने ।

कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ वि.सं. २०६९ मा उक्त आश्रम स्थापना भएको थियो । सोही अभियानलाई साकार पार्न पछिल्लो समयमा नेपाल सरकारसँग समेत सहकार्य भएको छ । सरकारबाट केही सहयोग प्राप्त छ तर धेरै सहयोग भने सर्वसाधारणबाटै हुने गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here