कांग्रेस दोधारे कि देउवा

१६ पुष २०७७, बिहीबार मा प्रकाशित

वर्तमान राजनीतिक अवस्था ः
लगभग दुई तिहाईको जनमत पाएको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पाँच बर्षे कार्यकालका लागि सरकार गठन भएको तीन बर्ष पुग्न करिब दुई महिना बाँकी छँदै प्रतिनिधि सभा विघटन भयो । पार्टीको प्रचण्ड बहुमत थियो । अध्यक्ष पनि आफैं थिए ओली । तर, उनैले जनप्रतिनिधि संस्था सनककै भरमा विघटन गराए ।

आखिर के का लागि ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संविधान र कानूनका किताब पल्टाउँदै कहाँ होला विरोध गर्ने ठाउँ भनेर पढी बसेको थियो र अझै छ । आफू अन्तर्गत रहेका अरु नेता र कार्यकर्ताहरुलाई पालैपालो भाग दिएकै थियो । अझै दिने ठाउँ थियो । पार्टी एक्लैले चल्न सक्दैन भन्ने कुरा ओलीलाई थाहा नहुने कुरा भएन । तर, पनि उनले नितान्त व्यक्तिगत स्वार्थ र अहम् तुष्टिका लागि र आफ्ना आसेपासेका लागि आफ्नो ६० बर्षको राजनीतिक योगदानलाई दाउमा थापेका छन् । संविधानको जुन धारा टेकेर ओलीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरे अनि सोही आधारलाई सरक्क मानेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिन् । जब कि यो कदम संविधान पढ्दा, बुझ्दा र महशुस गर्दा असंवैधानिक देखिन्छ ।
ओलीको यही असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमविरुद्ध ओली समूहका कम्युनिष्ट नेता बाहेक सबै राजनीतिक दल र तीनका नेताहरु सडकमा उत्रेका छन् । ती राजनीतिक दलका भातृ संगठन र शुभेच्छुकहरु पनि सडकमा उत्रेका छन् । आमजनता जो संविधान पढन जान्दछन् र पढेको सुन्दा बुझ्न सक्छन् ती पनि सबै ओलीको कदम गलत भयो भनेर सामाजिक सञ्जालमा पनि विरोधमा उत्रिएका छन् । जसले ती नेता कार्यकर्ताले ठिकै भन्ने ठान्छन् ती पनि विरोधमा छन् ।

विद्वान मानिएका संविधानविद्, वकिलहरु, प्राध्यापक, बुद्धिजीवी, नागरिक समाजका अगुवा सबै ओलीको कदम असंवैधानिक भनेर विरोधमा छन् । तर, ओली र उनका आसेपासे नेताहरु र ती नेताका फेर र पछ्यौरा समातेर वैतर्णी तर्न खोज्नेहरु भने ओलीको कदमलाई क्रान्तिकारी कदम मानेर समर्थनमा छन् । त्यसैगरी हिजोको निरंकुश राजावादी मान्छेहरुको एक समूह जो राप्रपा नामक दल खोलेर झर्ला र खाउँला भनेर आशा लिएर बसेको दल छ त्यो पनि ओलीको कदमको समर्थनमा छ । पंक्तिकारले देखेको अहिलेको राजनीतिक अवस्था यही हो ।

दोधारे को ?
आफूलाई सच्चा लोकतान्त्रिक दल र लोकतन्त्रको पर्याय ठान्ने र हुँदै आएको पहिलाको संवैधानिक राजतन्त्रलाई आफ्नो विधानमै राखेर राजा बोकेर हिँडेको र २०६५ सालयता लोकतान्त्रिक गणतन्त्रलाई सिद्धान्त बनाएर अघि बढेको राजनीतिक दल कांग्रेस अहिलेको अवस्थामा कहाँ छ भन्ने यस आलेखको आजको विषय वस्तु हो ।
शीर्षकमै भनियो कांग्रेस दोधारे हो कि देउवा । अर्थात् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । पंक्तिकारले विगत २९ बर्षदेखि देउवाको बारेमा धेरथोर अध्ययन गर्ने प्रयास गर्दै रहेको छ । कतिपय अवस्थामा नजिकै गएर र कतिपय अवस्थामा प्रश्नहरु सोधेर अनि कतिपय अवस्थामा भेटघाट गरेर बुझेको देउवा र विगत १० बर्षयता भने सम्पर्क नै नभए पनि राजनीतिक क्रियाकलापका बारेमा उनले गरेका भाषण र पार्टीभित्र उनले गरेका निर्णय र बहसका आधारमा पनि अध्ययन गरिराखेको छ ।
यस आधारमा हेर्दा पंक्तिकारले ठोकुवा गर्छ कि देउवाको विगत केही बर्षदेखिको चरित्र दोधारे छ । स्वार्थप्रेरित छ । हठी छ । दम्भी भएको छ । अर्थात् ओली प्रवृत्तिबाट प्रभावित भएको छ । उनको गतिविधि ओली पछिल्लो पटक प्रधानमन्त्री भएयता ओलीसँग साँठगाँठ गरेर आफ्नो स्वार्थसिद्ध गर्न लागेको हो कि भन्ने कुराले आशंकित छ । उनी पार्टीभित्रै शंकाको घेरामा परेका छन् । अर्थात् कांग्रेस दोधारे होइन देउवा दोधारे हुन् भन्ने पंक्तिकारको निचोड हो । देउवा एक्लै कांग्रेस होइनन् । कांग्रेस लाखौं छन् । त्यसैले देउवा मान्नुहुन्न भन्ने होइन अरु कांग्रेसले । यदि देउवाकै साथ सति जाने हो भने अलग्गै कुरा हो ।

कांग्रेसको अबको अवस्था ः
सोमबार कांग्रेसले एकसाथ देशव्यापी विरोध प्रदर्शन ग¥यो । विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गर्न कांग्रेसको केन्द्रीय समितिलाई तीन दिन लाग्यो । देउवाले अहिले विरोध प्रदर्शन नगर्ने भनेकैले उनलाई गलाउन तीन दिन लागेको हो । जब बरिष्ठ नेता रामचन्द्र पौडेलले नोटअफ डिसेन्ट लेख्छु भने अनि एक दिनअघि काठमाडौंमै अलग भेला बोलाएर प्रदर्शन गर्नुपर्ने सहमति गरे, तब देउवा प्रदर्शन गर्ने पक्षमा गए । उनको यस व्यवहारले आशंका जन्माएपछि प्रदर्शनको एक दिनअघि उनले प्रदर्शनमा सहभागी हुन आव्हान गर्दै विज्ञप्ती नै निकाल्नु प¥यो ।

सोमबार एकैसाथ १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हजारौंको समर्थनमा गरिएको विरोध प्रदर्शन प्रभावकारी थियो । विरोध प्रदर्शनमा केन्द्रीय सभापति देउवासहित बरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्यहरु, जिल्लाका सभापतिहरु, क्षेत्रीय सभापतिहरु, पालिका र वडा सभापतिहरुले पनि ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर विरोध गरे ।

देउवा र उनका पिछलग्गु नेताहरु बाहेक अरु नेताहरुले अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याउ, प्रतिनिधि सभा पुनस्र्थापना गर भनेर माग पनि गरे । माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए । त्यसको नेतृत्व बरिष्ठ नेता पौडेलले गरे । तर, देउवा जो दलका केन्द्रीय सभापति पनि हुन् उनले भने प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी पनि भने तर प्रतिनिधि सभाको पुनस्र्थापनाको मुद्दा सर्बोच्च अदालतमा विचाराधीन भएकोले पुनस्र्थापनाको माग गर्दिन भने । माग गर्दा सर्वोच्च अदालतलाई दवाब दिएको ठहर्छ भन्ने देउवाको तर्क थियो । उनका पिछलग्गुहरुले प्रदर्शन गर्नु नै महत्वपूर्ण हो भन्ने तर्क अहिले पनि गर्दैछन् र भन्दैछन् आफैं बुझ्नुपर्छ । तर, उद्देश्य र लक्ष्य प्रष्ट नभनिएको आन्दोलनले परिणाम दिँदैन । चक्षु सुखमात्र देला ।

यसैलाई भनिन्छ मुढ बुद्धि । कि देउवाले ओलीको कदम असंवैधानिक, अलोकतान्त्रि र स्वेच्छाचारी भन्नु हुन्नथ्यो । त्यो भनिसकेपछि सच्याउ भन्न हुँदैन भन्ने तर्क र ब्याख्यालाई नै मुढ वुद्धि भनिन्छ । यस्तो मुढ बुद्धि भएका देउवालाई बोकेर कांग्रेस कहिलेसम्म अघि हिँड्छ । अब पनि उनकै नेतृत्व मानेर कांग्रेसहरु अघि बढ्छन् भने कांग्रेसलाई राम–राम भन्न सकिएला काँध थाप्न सकिन्न । काँध थापेर अब गल्ती पनि गर्नुहुन्न ।

जसरी ओलीलाई बोेकेर हिँडेकैले अहिले नेकपाको यो हविगत भएको छ । गणतन्त्र विरोधी प्रवृत्तिका ओलीलाई गणतन्त्रको माग राखेर बन्दुक बोकेकाहरुले मेल गरे । यसरी मेल हुन सक्तैनथ्यो । भयो । अब छुट्टिने बेला भएको छ । चिनियाँ टोलीको सल्लाहमा नेकपाले ओलीलाई नै प्रमुख मानेर मिल्यो भने पुनः उही हविगत दोहोरिँदैन भन्न सकिन्न । आज यत्तिमै बहस सकौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here