खुच्चिङ भन्ने कि खबरदारी गर्ने ?

१७ पुष २०७७, शुक्रबार मा प्रकाशित

मुलुकमा राजनीतिक अस्थिरता फेरि शुरु भयो । राजनीतिक स्थिरताको आशा गरिरहेका आम नागरिक निरुत्साहित भएका छन् । बहुमतको सरकार आफ्नै कारण धरापमा परेको छ । तर, नेपालको राजनीतिमा यो पहिलो घटना भने होइन । यसअघि पनि नेपाली कांग्रेसको स्पष्ट बहुमतको सरकार धरापमा परेको थियो । पार्टीभित्र कै आन्तरिक द्वन्द्वका कारण दुई पटक बहुमतको सरकार ताजा जनादेशका लागि मध्यावधी निर्वाचनमा होमिनु परेको छ । यस्तो किन हुन्छ र बारम्बार भइरहन्छ ?

नेपालको राजनीतिमा सैद्धान्तिक रुपमा तीन वटा धार प्रष्ट देखिएका छन् । लोकतन्त्रवादी धार, वामपन्थी धार र दक्षिणपन्थी धार । वास्तविक राजनीति यी तीनखाले धारहरुको सैद्धान्तिक खण्डन र बहसमा केन्द्रित हुनु पर्दथ्यो । तर, त्यही भइरहेको छैन । आफूले लिएको राजनीतिक सिद्धान्तको ब्याख्या गर्ने, त्यसको व्यवहारिक प्रयोगमा जोड दिने र आफ्नो राजनीतिक मूल्य र मान्यता अनुरुपको विकासको दिग्दर्शन नागरिकहरुसम्म पु¥याएर नागरिक मतलाई आफूतिर आकर्षित गर्ने राजनीति, पछिल्लो समय नेपालमा देखिन छाडेको छ । फरक राजनीतिक विचार र सिद्धान्तमा बहस हुनुभन्दा आफूभित्रै गुट र उपगुट तयार गरेर आफूहरुभित्र नै शक्ति सञ्चय गर्ने र विपरीत गुटलाई तेजोबध गर्दै आफू शक्तिशाली हुने प्रवृत्ति नेपालको राजनीतिको मूल चरित्र बन्न थालेको छ ।

हिजोमात्र विवादित नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने– ‘पार्टीभित्र माधव गुट त थियो नै, मैले पूर्व माओवादीलाई ४० प्रतिशत स्थान दिएर पार्टी एकीकरण गर्ने जोखिम उठाएँ ।’ एकीकरणका लागि उनले उठाएको उक्त जोखिम अहिले उनीलाई नै सिध्याउन प्रयोग भएको अनुभूति ओलीले व्यक्त गरेका छन् । किन यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गर्दछ भन्ने सवालमा यस स्तम्भकारले विगतका लेखहरु र सार्वजनिक अभिव्यक्तिहरुमा बारम्बार उठाउने गरेको नेपालको राजनीतिको मूल चरित्र नै अवसरवादी राजनीति नै हो भन्ने कुरा आज सत्य भएको छ ।

नेपालको राजनीतिमा दलीय अभ्यासको शुरुवात नै राजनीतिक अवसरवादबाट भएको थियो । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालका राजनीतिक नायकहरुमा उत्पन्न भएको राजनीतिक अवसरवादको शुरुवात मातृकाप्रसाद कोरालाबाट हँुदै पर्शुराम चौधरी, तुलसी गिरीले निरन्तरता दिए । उनीहरुबाट नेपाली कांगे्रसको शक्तिलाई क्षिण बनाउने प्रयास राजा महेन्द्रबाट शुरु गरियो । नेपाली कांगे्रसभित्रै चलखेल गरेर राजा महेन्द्रले नेपाली कांगे्रसको दुई तिहाईको संसद र सरकारलाई समाप्त पारे । लोकतन्त्रको गला दबाउन राजा महेन्द्रले निर्दलीय अभ्यासको चरम अवसरवादी राजनीतिक अभ्यास शुरु गरे । राजा महेन्द्रको निरंकुश कदमपछि भूमिगत र अर्ध भूमिगत रुपमा सत्ता विरोधी राजनीतिमा लागेका राजनीतिक दलहरुमा देखिएको त्यतिबेलाको राजनीतिक अभ्यास, पार्टीभित्रको द्वन्द्व र त्यसको व्यवस्थापनलाई हेर्दा यो राजनीतिक काल नेपालको सबैभन्दा व्यवस्थित राजनीतिक अभ्यासको अवधिका रुपमा लिन सकिन्छ । यसै अवधिमा राजनीतिक नेतृत्वमा रहेकाहरुबाटै अहिलेसम्मको नेपालको राजनीति निर्देशित छ ।

२०४६ सालसम्मको दलीय राजनीतिलाई हेर्दा नेपालको राजनीतिमा अवसरवादको प्रवेश भए पनि प्रभाव त्यति देखिँदैन । सामान्यरुपमा देखिएका पार्टीका असन्तुष्टि र गुटबन्दीले पार्टीको मूल चरित्रलाई प्रभाव पारेको देखिँदैन । तर, जब दलहरु राज्यशक्ति सञ्चालन गर्ने स्थानमा पुगे, तब दलहरु भित्र चरम अवसरवादी चरित्रले प्रवेश पायो । त्यसैको परिणाम हो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली कांगे्रसको स्पष्ट बहुमतको सरकार धरापमा पर्ने कारण । दलहरुभित्र त्यसै समयदेखि चरम अवसरवादी चरित्र झाँङ्गिन थाल्यो । सरकारमा पुग्न होस् या सरकारमा टिकिरहन तात्कालीन राजनीतिक दलहरुभित्र विभिन्नखाले गुट र उपगुट देखिन थाले ।

संसदीय अभ्यासमा लोगेका राजनीतिक दलहरुभित्र देखिएका गुट, उपगुटका अभ्यास र ती गुट र उपगुटलाई संरक्षित गर्न गरिएका गलत प्रयासहरुले राजनीतिलाई विसंगित बनाउन थाल्यो । नागरिकहरु निराश हुन थाले । नागरिकहरुमा देखिएको यो नैराश्यतालाई राजनीतिको प्रस्थान बिन्दु बनाएर प्रचण्ड र बाबुरामहरुले माओवादी आन्दोलन शुरु गरे । माओवादी आन्दोलनको राजनीतिक चरित्र ठिकै थियो । जनतालाई आफूतिर आकर्षित गर्न फरक राजनीतिक मार्ग दर्शनको प्रचार गर्नु र आफूलाई शक्तिशाली शनाउने प्रयास गर्नु आफैंमा एउटा राजनीतिक अभ्यास नै हो ।

फरक राजनीतिक धारको अभ्यास गर्नु राजनीतिक रुपमा ठीक भए पनि उनीहरुले प्रतिपादन गरेको राजनीतिको व्यवहारिक पक्ष गलत थियो । उनीहरुले फरक विचारलाई निषेध गर्ने नाममा व्यक्ति हत्या र अमानवीय हिंसा अभ्यासको बिजारोपण र प्रयोग गरेर नेपालको राजनीतिलाई हिंस्रक बनाए । माओवादीले सञ्चालन गरेको राजीतिक अभ्यासले मानिसहरुको मानसिकतामा हिंसालाई यसरी प्रवेश गरायो कि हत्याका घटनाहरु पनि मानिसहरुका लागि सामान्य बन्न थालेका छन् । यस स्तम्भकारलाई सम्झना छ, पञ्चायतकालमा रामराजाप्रसाद सिंहले गरेको बमकाण्डमा केही मानिसहरुको मृत्यु हुँदा देशभर जुन सन्नाटा छाएको थियो, अब त्यो सन्नाटा देख्न छाडिएको छ । हत्या र हिंसाका घटनाहरु हामी नेपालहरुका लागि सामान्य लाग्न थालेका छन् ।

नेपालको राजनीतिमा प्रचण्ड र प्रचण्डले नेतृत्व गरेको राजनीतिक दलभन्दा चरम अवसरवादी दल कुनै छैन । प्रचण्ड र प्रचण्डले नेतृत्व गरेको दलले आफू शक्तिशाली हुन के गरेन ? आफ्नो स्वार्थका लागि तात्कालीन राजा र राजपरिवारसँग साइनो गाँसेन कि, भारतसँग साँठगाँठ गरेन कि, हजारौं नागरिकहरुको हत्या गरेन कि, अर्बाैं सम्पत्ति लुटपाट गरेन कि, के गर्न बाँकी राख्यो र ? जुन दल आफू शक्तिशाली हुन यस्ता गलत अभ्यासलाई अवलम्बन गर्दछ, त्यस्ता दल र दलका नेताहरुबाट यो मुलुकले कहिल्यै राजनीतिक स्थिरता र राजनीतिक मार्गदर्शन पाउन सक्दैन । अहिले भएको त्यही हो ।
नेपालको राजनीतिमा प्रचण्डको उपस्थितिसँगै अवसरवादी चरित्र मौलाउन थाल्यो । शान्ति सम्झौतामा दानमा पाएको राजनीतिक उचाइलाई प्रचण्डले कसरी प्रयोग गरे, ताजा राजनीतिक घटनाक्रम भएको हुनाले यहाँ उल्लेख गरिरहन पर्दैन होला । कहिले राप्रपासँग त कहिले एमालेसँग त कहिले कांग्रेससँगको राजनीतिक दाउपेचबाट मुलुकको राजनीतिलाई स्थिर हुन दिएनन् । विगतका अभ्यासले के देखाएको छ भने प्रचण्ड यस्ता व्यक्ति हुन जो राजनीतिमा शक्ति प्राप्त गर्न जे पनि गर्न तयार रहन्छन् । माओवादी आन्दोलनका क्रममा भएका घटनाहरुले मात्र होइन वर्तमान राजनीतिमा देखिएको उनको चरित्रले यही पुष्टि गरेको छ । पहिलो संविधान सभामा पाएको मतलाई दोश्रो संविधान सभाको निर्वाचनमा जोगाउन नसकेपछि प्रचण्डको राजनीतिक पतनको शुरुवात भयो । डर, धाक, धम्की र प्रलोभनका हतियार काम नलाग्ने भएपछि उनी सुरक्षाको खोजीमा चिन्तित देखिए । तात्कालीन एमालेभित्र पनि अवसरवाद तीव्र थियो ।

ओली, नेपाल र खनाल आफू शक्तिशाली बन्न विभिन्न राजनीतिक दाउपेच खेलिरहेका थिए । निर्वाचन नजिकिँदै थियो । ओली र प्रचण्डको स्वार्थ मिल्यो । पार्टी एकीरण गर्ने तयारी भयो । दुबैले आफूहरु सुरक्षित भएको महशुस गरे । मुलुकको राजनीतिमा अचम्मसँग एकता र एकीकरणको घोषणा भयो । नेपालको राजनीति कम्युनिष्टहरुको कब्जामा गयो । ओली र प्रचण्डको आकस्मिक एकताले नेपालको राजनीतिमा अनेकौं प्रश्नहरु उब्जिन थाले । विभिन्न आशंकाहरु देखिन थाले । तर, ओली पनि चुके । प्रचण्डको चरम अवसरवादी चरित्रलाई चिन्न सकेनन् । हिजोमात्र कार्यकर्ताहरुलाई सुनाए– ‘नेपाल र खनाल त विरुद्धमा नै थिए, प्रचण्डले पनि एकताका लागि दिएको ४० प्रतिशतको दुरुपयोग गरे ।’

नेपालको राजनीतिमा पूर्व एमाले र पूर्व माओवादीको एकता र एकतापछिको परिणाम विश्वका लागि नै उदाहरण बनेको थियो । नेपालको राजनीतिमा कम्युनिष्ट प्रभाव तीव्र बनेको थियो । त्यो तिव्रतालाई प्रचण्डको चरम अवसरवादी चरित्रले भताभुङ्ग पारी दियो । उचाइमा पुगेको लोकप्रियता एकैपटक सडकमा थुचुक्क बस्ने अवस्थामा पुग्यो । अहिलेको राजनीतिक घटनाक्रमले ओझेलमा परेको नेपाली कांगे्रसलाई फेरि एकाएक निर्णायक बनाएको छ । २००७ सालदेखि नै राजनीतिको केन्द्रमा रहेको र परिपक्व दलका रुपमा स्थापित नेपाली कांगे्रसको काँधमा अबको राजनीतिलाई हाँक्ने जिम्मा आएको छ । केपी ओली त चुके–चुके, प्रचण्डको चरम अवसरवादी राजनीतिक चरित्रको पहिचान गर्न नेपाली कांगे्रस पनि नचुकोस् । नेकपामा आएको राजनीतिक संकटमा नेपाली कांग्रेसले खुच्चिङ भनेर बस्नुभन्दा अझ जिम्मेवार बनेर लोकतन्त्रको रक्षाका लागि खबरदारी गर्ने अभिभारा थपिएको छ । कांग्रेसको पनि बुद्धि पलाओस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here