पोखरीमा माछा हेर्नेको भीड

0
886

दिपेन लावती,शान्तिनगर ।

इलाम सूर्योदय नगरपालिका–६ स्थित तारगाउँका दुर्गा निरौलाले सञ्चालनमा ल्याएको माछा पोखरी पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । चिसो मौसम र वातावरणीय हिसावले उपयुत्त मानिएको सो ठाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकले उनको फर्ममा अवलोकन भ्रमण गर्ने गरेका छन् ।

निरौलाले करिव १८ लाख रुपैयाँको लगानीमा स्थापना गरेको कृषि फार्ममा हाल माछा, कुखुरा, तित्रा, टर्की र बंदेल छ । उक्त कृषिफार्म २५ रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार आँलगैरीमा करिव १० लाख रुपैयाँको लगानीमा ६० मीटर लम्वाई र २८ मीटर चौडाई भएको सुन्दर पोखरी निर्माण गरी माछा पालन गरेसंगै माछा हेर्ने पर्यटकहरुको भीड लाग्ने गरेको छ । सुन्दर नगरी इलामको कन्याम आउने झापा, मोरड र सुनसरीका आगन्तुक पोखरी हेर्न पुग्ने गरेको उनले बताए ।

बैशाख अन्तिममा आठ हजार माछाका भुरा पोखरीमा छाडेकोमा अहिले ती माछाहरु पाँच किलोग्राम सम्मको भएको छ । पोखरीमा जादाँ लमतन्न घाम तापेका र दानामा लुछाँचुडी गदै गरेको देख्दा माछापालन साँच्चैको लोभलाग्दो व्यवसाय भएको महसुस हुन्छ । पोखरीमा कमनकार्प, ग्रासकार्प र बिगहेड जातकोे माछा छन् । पोखरीका माछा बेच्ने तयारी अवस्थामा रहेको छ । माछासँगै उनले २ सय बढी लोकल कुखुरा, ७० बटा तित्रा, टर्की र ३ बटा बदेल पनि पालेका छन् । उनको यो व्यवसायिक कृषि कर्म हो ।

गत बर्ष करिव साढे २ किलोमिटर टाढाबाट ४० एम–एमको पाइपमा पानी ल्याएका थिए । अलैची खेती गर्ने उद्धेश्यले पानी ल्याएको भएपनि रोपीएको अलैची रोग लागेर स्वाहा भएपछि उनको सोचाई व्यवसायिक माछा पालन तर्फ ढल्किएको हो । वरिपरि चियाबारीको बिचमा रहेको घेरावारा सहितको सुन्दर पोखरी माछा पालनको लागि मात्रै होइन् रमितेगैरी पनि भएकोले सो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुने देखिन्छ ।

पोखरीवाट बाहिर निस्किएको पानीले कृषि सिँचाइमा प्रयोग गर्न सकिने उनले बताए । यसका साथै तल्लो क्षेत्रमा रहेका स्थानीयले पनि उक्त पानीको सदुपयोग गर्दै माछा पालन र तरकारी खेती गर्न सकिने भएकाले स्थानीयलाई समेत राहत मिलेको स्थानीय सदिप गुरुङले बताए ।

हर्कटे बजारमा कृषिजन्य र खाद्यान्नको व्यापार गर्दै आएका निरौलाले पछिल्लो समय एक सय रोपनी जमिनमा किवी, स्कुस खेतीसंगै अन्य तरकारी र फलफुलको व्यवसायिक खेतीको थालनी गरेका छन् । उनले गाउँका दैनिक ७ देखि ८ जनालाई प्रत्यक्ष रोजगारी समेत दिदैं आएका छन् । व्यवसायिक माछापालन र तरकारी खेतीमा आफ्नो लगानी वाहेक सरकारी अनुदान नपाएको उनको गुनासो छ ।

स्थानीय–तहले देशमा केही गर्न खोज्ने किसानलाई प्रोत्साहित गर्न कृषि अनुदानका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेको प्रति दुख व्यक्त गरे । सरकारले कृषिमा ठुलो बजेट छुट्याए पनि तल्लोस्तरका किसान समक्ष सो वजेट आइनपुग्ने हुदाँ कृषिकर्ममा लागेका स्थानीय हतोत्साहित हुने गरेका छन् ।

सूर्योदय नगरपालिकाले वडा नम्वर–६ मा करिव ८० लाख रुपैयाँको बजेट सिमसार क्षेत्र बनाउन छुट्याएको थियो । तर सो बजेट वालुवामा पानी हाले सरह बनेको छ । चियावारीको थुम्का–थुम्की र विद्यालयको नजिक पोखरी खनेकाले विद्यार्थी पस्ने जोखिम बढेकाले हाल सो पोखरी पानी विहिन बनेको स्थानीयले बताएका छन् । उक्त पोखरी व्यवस्थित गर्न सके माछा पालनको निम्ती उपयुक्त ठाउँ रहेको तर सरकारी अनुदानको वेवस्ताका कारण अलपत्र परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here