तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
सामाजिक परम्परा अनुसार नै १७ मिनेटमा विवाह सम्पन्न भयो भन्दा अचम्म लाग्न सक्छ । तर, झापामा शनिवार १७ मिनेटमा विवाह सम्पन्न भएको छ ।

झापा अर्जुनधारा नगरपालिका –३ मदनपुरका वालदास राईले मेचीनगर नगरपालिका –११ की गीतादेवी बुर्जामगरसंग १७ मिनेटमा विबाह गरेका हुन् ।
जगत्गुरु तत्वदर्शी सन्त रामपालजी महाराजको आश्रममा पूर्णब्रहृम कबीर उपासक समाज नेपाल झापा शाखाको तत्वधानमा उक्त विवाह सम्पन्न भएको हो ।
विवाहका विभिन्न विधी हुन्छन् जसमध्ये उनीहरुको विवाह आफ्नो जातिय विधीबाट नभई तत्वदर्शी जगत्गुरु सन्त रामपालजी महाराजको सानिध्यमा गुरुवाणीद्वारा विवाह भएको हो ।
यो विवाहमा न कुनै वाजागाजा थियो न कुनै तामझाम नै ,त्यहाँ थियो त केवल वधाई र शुभकामना दिनेको लर्को ।
असुरीनन्दन रमेणीद्वारा तत्वदर्शी जगत्गुरु सन्त रामपालजी महाराजको सानिध्यमा गुरुवाणीद्वारा १७ मिनेटमा भएको विवाहमा पूर्णब्रहृम कबीर उपासक समाज नेपालका झापा शाखा को–अर्डीनेटर तोयानाथ दासले वेहुला –वेहुलीलाई रक्षासुत्र वाँधिदिएर विवाह सम्पन्न भएको घोषणा गरेका थिए ।

विवाह हुनु अघि पूर्णब्रहृम कबीर उपासक समाज नेपालका झापा शाखाका व्यवस्थापक वुद्धिमान दासले वेहुला –वेहुलीको विवाह दर्ताको प्रमाणपत्र , विवाहका लागि गरेको सम्झौता पत्र र अन्य प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
अझ अचम्मको कुरा त के छ भने सो विवाहमा कुनै पनि प्रकारका दाइजो लिनेदिने समेत कार्यक्रम थिएन ।
यस दाइजोरहित विवाहमा बेहुली पक्षको कुनै किसिमको एक रुपैया समेत खर्च नगरी विवाह सम्पन्न भएको थियो । दाइजोरहित विवाहमा उपस्थित भएका परिजन, आफन्तजन , भगवत ,भगवतनी हरुले दाइजोको सट्टा वेहुला –वेहुलीलाई शुभकामना मात्र दिएका थिए ।
समाजमा व्यापक कुरिती जस्तै दाइजो, अन्धविश्वास, पाखण्डवादहरुलाई समाजबाट ऊन्मुलन गरी दाइजोमुक्त, नशामुक्त, भ्रष्टाचारमुक्त, अन्धविश्वास र पाखण्डवादमुक्त सभ्य समाजको निर्माण गरी विश्वमा शान्ति स्थापना गर्नु साथै शास्त्र अनुसार शतभक्ति समाजलाई प्रदान गरी पूर्ण मोक्ष प्रदान गर्नु नै सन्त रामपालजी महाराजको मुख्य उद्देश्य रहेको र त्यही अनुरुप यस्तो कार्य गरिएको सेवादर देवेन्द्र दासले बताए ।




























