‘अतीत र वर्तमान’ नियाल्दा

0
1439


झापाली लेखकहरुको बीच राम आचार्य नौलो नाम होइन । पूर्वोत्तर झापाको भूगोल, परिवेश, रहन–सहन, शिक्षा तथा समाज रुपान्तरणसँगै आफ्नो भोगाइलाई निर्धक्क पस्कन सफल देखिएका छन् आचार्य । उनको पछिल्लो कृति ‘अतित र वर्तमान’ एउटा आत्मकथन हो । यसमा उनको जिवनको साङ्गो पाङ्गो पाटो त देखिने नै भयो । यसको साथै समाजका विविध अवयवहरुको अवस्थाको राम्रो चित्र उतारिएको समेत छ पुस्तकमा । उनको पुस्तकमा शनिश्चरे बजारमा घ्यूका टिन बोकेर हिँड्दै गरेका पर्वतेहरुको लस्कर देखिन्छ ।

राजगढदेखिका सुर्ती बोकेका पंक्तिबद्ध बयलगाडीहरु शनिश्चरे बजार पुगेको भेटिन्छ । पहाडबाट जाउलो खान पाउने आशमा पोका पन्तरा बोकेर मधेस बसाई सर्ने पहाडी हरुको लहरभित्र केटाकेटीहरुको चित्कार सुनिन्छ । अन्धविश्वास र अशिक्षाले भत्भत् पोलेका तराई पहाडका बस्ती देखिन्छ । धामी–झाँक्रीले ठटाएका थालका ट्याङ–ट्याङ आवाज सुनिन्छ । दाउनी गर्दाको बरादोहो गीत, संगिनी, बालन गीत र विवाहमा सिलोकेहरुको प्रतिस्पर्धाको मज्जाले स्वाद पाइन्छ । बुधवारेको सन्ठि कलेजको कथासँगै अनेकौं शिक्षासेवीका नाम र काम छुटेको कतै देखिन्न । पुस्तकमा पञ्चायती व्यवस्थाका मतियारहरुको दबदबा पढ्न पाइन्छ भने समाजसेवीको दुःख–कष्ट र समर्पण भाव समेत अनुभव गर्न मिल्छ । समकालीन ग्रामीण परिवेसका ठेट नेपाली शब्दहरुको प्रसङ्ग बुझ्न सहयोग पुग्छ ।

पुस्तक समिक्षा

आफ्नै कथाभित्र धेरै अल्मलिएका लेखकले आफू पक्षघातमा परेको घटनाको ब्याख्या गर्दा पाठकको हृदय यति बिघ्न दुख्छ होला भन्ने नसोचेको बुझिन्छ । ‘विस्मृतिको क्षण’ भन्ने शिर्षकको विवरणमा पाठकहरु एकोहोरिन्छन् र रुन पुग्छन् । ओछ्यान परेको आफ्नो सन्तानको इन्तु न चिन्तुको अवस्था हुँदा तीनका मातापिताको मनोदशा मज्जाले अनुभव गरेका लेखकले मातापितालाई राम्रै न्याय गरेका छन् ।

आफ्ना गुरु र प्रभाव पार्ने व्यक्तित्वको गुणगान गाउन भ्याएका लेखक बिद्यालय शिक्षक नारायण शर्मा भट्टराई तथा मेची क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख घनश्याम खनालको मुक्त कण्ठले प्रशंसा गर्न चुकेका छैनन् । लेखकको पुस्तक पूर्वोत्तर झापाभित्रै घुमेको छ । मोरङ र दार्जिलिङसम्मका घटना विवरणहरु कतै–कतै फेला पार्न सकिन्छ । यस आधारमा पुस्तकले आञ्चलिक र क्षेत्रीय घेरा तोड्न नसकेको प्रतित हुन्छ ।

संस्मरणात्मक लेखहरुमा डुब्दै जाँदा बालबालिकाहरुमा देखिने संवेगात्मक पक्ष राम्ररी बुझ्न पाइन्छ । मानिस मोडिन सक्ने प्रेरक घुम्तीहरु कसरी तयार हुँदारहेछन् भन्ने कुराको साक्षी लेखक स्वयम् हुँदै गर्दा साहित्य, सहकारी र समाजसेवारुपी त्रिशक्तिका संगमको रुपमा लेखक उदाएको बुझ्न गाह्रो हुन्न । बैशाखीको परिकल्पना शिर्षकको लेखमा लेखक भन्छन्– ‘सहकारी क्षेत्रमा सफलता हात पर्दै गयो र झापा जिल्लामै सफल सहकारी सञ्चालकको रुपमा स्थापित हुने श्रेय यही तीनपाङ्ग्रे स्कुटर र तिनै बाँसले बनेका बैशाखीले दिलाएका हुन ।’ यसको आधारमा बैशाखीको भरमा जीवनयापन गरिरहेकाहरुको आत्मसम्मानमा ठेस पु¥याउनेहरुको ताँतीमा उनीहरु माथिको रीस र इष्र्याभन्दा निर्जिव बैशाखी प्रतिको अनुग्रह बलवानरुपमा उपस्थित हुने कुरा लुकाउन मिल्दैन् ।

मित्र भोजराज दाहाल मार्फत यो पंक्तिकारको हातसम्म आइपुगेको, ११३ पृष्ठ संख्या रहेको पुस्तक बि. सं. २०७७ मा छापिएको संस्मरणात्मक लेखहरुको मञ्जरी हो । शारीरिकरुपमा पक्षघात भएर पनि फरक तथा उच्च बौद्धिक क्षमताका धनी लेखकको पुस्तकका प्रकाशक युवराज आचार्य र सिसिरा आचार्य रहेका छन् । पुस्तकको भाषा सम्पादन बालकृष्ण दाहालले गरेका छन् । मूल्य नेपाली रु. दुई सय कायम गरिएको पुस्तक ओसन अफसेट प्रिन्टर्स बिर्तामोडबाट मुद्रण गरिएको छ ।

भूमिकामा डा. नारायण गड्तौला र तारा विविधले कलम घुमाएका छन् । अतितभित्रको सेरोफेरो, विस्मृतिको क्षण, तातोपानीको यात्रा, भगवान निस्के रे, सण्ठी स्कूलदेखि हाइस्कूलसम्म, बैशाखीको परिकल्पना, खाने मुखलाई जुँगाले छेक्दैन्, मैले मानेका गुरु, म्यान्छे, आत्म सन्तुष्टिकै लागि लेख्दैछु, बुवा, आमा र म जस्ता जम्मा ११ वटा संस्मरणात्मक लेखहरु रहेको पुस्तक आकारको हिसावले भने मध्यम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here