
कोभिड–१९ को जोखिमले गर्दा हरेक यात्रुले लामो दूरीको यात्राका लागि सडक यात्रा गर्ने कि हवाई यात्रा ? भनेर सोच्ने गर्दछन् र सुरक्षित लागेको साधनमा यात्रा गर्दछन् । यो पंक्तिकार गत हप्ता जरुरी कामले काठमाडौं जानुपर्ने भयो । यात्रा गर्नु अघिल्लो दिन बिर्तामोड पश्चिम बस स्ट्याण्ड गएर बिहान ५ बजेदेखि साढे ६ बजेसम्म स्वास्थ्य सुरक्षा सतर्कताबारे अवलोकन ग¥यो ।
कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सावधानी कतिको भरपर्दो किसिमले गरिएको छ ? यो कुरा हरेक सवारीसाधन चालक, सहचालक र यात्रुहरुको लागि महत्वको विषय हो । हतारले होस या बिर्सिएर प्रायः सवारी चालक, सहचालक र यात्रुहरुले राम्ररी मास्क लगाइएको पाइएन । जाडो मौसममा दिनभरजसो झ्याल बन्द रहने सवारीसाधनमा यस्तो भएपछि कोभिड–१९ बाट कत्तिको सुरक्षित रहिएला त ? कोही यात्रु खोक्ने या हाच्छिउँ गर्ने रहेछन् भने त स्वास्थ्य जोखिम यसै पनि हुने नै भै गयो । यात्रु संख्या भने केही कम भएकाले भौतिक दूरी चाहिँ तै बरु कायम हुने देखियो, तर बाटामा यात्रु टिप्ने सम्भावना पनि त्यतिकै देखियो ।
बाटोमा चिया, नास्ता, खाना खाने होटलमा एकैपटक धेरै गाडीका यात्रुहरु एकत्रित हुँदा र सीमित शौचालय प्रयोग गर्दा पनि स्वास्थ्य सुरक्षा कतिको होला ? विश्वस्त हुन सकिएन । विशेषतः मास्क नै राम्रोसँग प्रयोग नगरेको पाइयो । स्यानिटाइजर त सडक यात्रामा सायदै सम्भव होला । सवारीसाधनहरुका धनी, संघ–संगठन, स्थानीय निकाय या सरकारी प्रतिनिधि या कुनै स्वयम्सेवी संस्थाहरुले स्वास्थ्य सचेतना गरेका पनि पाइएन । उमेरले पाको हुँदै गएकाहरुलाई कोभिड–१९ को जोखिम अत्यधिक हुने भन्ने सुनेकाले र आर्थिक हैसियतभन्दा जीवन ठूलो भन्ने चेतनाले पंक्तिकारले काठमाडौं जान र आउन हवाईयात्रा नै रोज्यो ।
भद्रपुर हवाई अड्डा भवन प्रवेश गर्नु अगावै बाहिरै कोभिड–१९ फारम भरियो तर फारममा लेख्न सजिलोका लागि पर्याप्त टेबल राखिएका थिएनन् । भवनभित्र पसेपछि स्वास्थ्य सुरक्षा कायम राख्न सकिने अवस्था देखियो । यात्रुहरु पनि अनुशासित देखिए । स्वास्थ्य सचेतना उद्घोषण भएको पाइयो । स्यानिटाइजर पनि राखिएको पाइयो । तर, एकैपटक दुई–तीन एयरलाइन्स्को उडान हुने भयो भने चाहिँ स्थानाभावका कारण भौतिक दूरी कायम गर्न उति सम्भव हुने देखिएन । बोर्डिङ पास लिएर सुरक्षा जाँचपछि प्रस्थान कक्षमा पनि स्वास्थ्य सुरक्षा कायम राख्न सम्भव नै देखियो । फराकिलो कक्ष, सफा शौचालयको व्यवस्था भएको पाइयो तर कक्षमा हावा नवीकरण हुने देखिएन । कोही कोही यात्रुले मास्क राम्ररी लगाएका पाइएन । यात्रुहरु आपूm पहिला जहाजमा पुग्न हतार गर्दा प्रस्थान ढोकामा भौतिक दूरी राखिएको पाइएन ।
यात्रा संस्मरण
यात्रु ओराल्न, चढाउन हवाईजहाजको एउटा मात्र ढोका खोलेको पाइयो । यदि अगाडि र पछाडिका समेत ढोका खोलिए हावा नवीकरण हुने थियो । कतिपय विमानमा हरेक पाँच मिनेटमा अटोमेटिकरुपमा हावा नवीकरण हुने सुनिए पनि सबै विमानमा त्यो सुविधा छैनन् होला । अनि उडानैपिच्छे हजाईजहाजका क्याबिन स्यानिटाइजेशन गरिने पनि होइन रहेछ । राम्ररी फेससिल्ड र मास्क लगाएर यात्रुहरु अनुशासित ढंगले चुपचाप आ–आप्mनो सिटमा बसेका पाइयो । कोभिड–१९ बाट जोखिन मास्क नखोल्ने उद्देश्यका लागि विमानमा यात्रुहरुलाई चक्लेट बाँड्ने, बदाम, चिप्स लगायत स्न्याक्स्, पेयपदार्थ खान पाउने र अखबार पढ्न पाउने सेवा बन्द गरिएको पाइयो । यतिसम्म कि बिमानको शौचालय समेत प्रयोग नगर्न अनुरोध गरियो ।
त्यसकारण, आजभोलिको हवाईयात्रा खल्लो, निरश र उदासीले भरिएको हुँदोरहेछ, तर बढीमा एक घण्टाभित्र गन्तव्यमा पुगिने भएकाले कोरोनाबाट जोखिने धेरै सम्भावना रहने देखियो । तर, कतिपय यात्रुहरु जहाजको सिटमा मजाले निदाएर मास्क खुल्लै राखेको पाइयो । कसैले खोक्ने र हाँच्छिउँ चाहिँ गरेनन् । हवाईजहाजबाट उत्रेपछि लगेज कलेक्सन गर्ने ठाउँसम्म पुग्न बसमा एकअर्का टाँसिएरै बस्नु या उभिनुपर्ने भयो । भौतिक दूरी दुरुह भयो । देशैभरका उडानबाट आएका लगेज कलेक्सन गर्ने एकै ठाउँ भएकाले यात्रुहरु ठेलमठेल गर्न बाध्य हुने रहेछन् । यहाँ पनि भौतिक दूरी धज्जी नै उड्ने रहेछ । अब यहाँबाट बाहिर गएपछिको अवस्था जगजाहेरै छ । सबैजना स्वतन्त्र ।
काठमाडौंबाट झापा फर्कनका लागि जब त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आन्तरिक टर्मिनलको बोर्डिङ पास लिने हल (काउन्टरमा)मा पुगियो त्यहाँको दृष्य देखेर छक्कै परियो । ‘आम्मम के साह्रो भिड हौ ।’ मुखबाट अनायास यस्तै आवाज निस्कियो । भौतिक दूरी कायम राख्न सकिने सम्भावना नै रहेन । स्यानिटाइजर पनि थिएनन् । कोडिभ–१९ फाराम भर्नेको ठेलमठेल उस्तै । हावा खेल्ने त कुरै भएन । जब सुरक्षा जाँचपछि प्रस्थान कक्षमा पुगियो, तब अवाक भइयो । त्यहाँ त खुट्टा टेक्ने ठाउँ थिएन यात्रुहरुका भिडले । हलमा उभिने यात्रुहरु पनि खचाखच थिए । ‘यो सिट खाली राखौँ’ लेखिएका सिटमा समेत यात्रुहरु बसेका थिए । हवाईयात्रुहरु आआफ्नै धुनमा मगनमस्त ।
कतिपयको मास्क चिउँडोमा अडिएका थिए भने कतिपयका नाकमुनि । मास्क खोलेर मस्तले चिया, नास्ता लिनेहरु पनि उत्तिकै देखिए । हलमा हावा नवीकरण हुने प्रणाली थिएन । देशभरका हवाई गन्तव्यमा जाने यात्रुहरु जम्मा हुने त्यो एउटै प्रस्थान कक्षमा टम्माटम्म्मी यात्रुहरु भरिएको देखेपछि पंक्तिकारको सातो उड्यो । ‘ला कोरोना सल्क्यो होला अब चाहिँ’ भनेर । हवाई टर्मिनल भवनमा स्वास्थ्य सचेतना उद्घोषण समेत गरिएका थिएनन् । हवाईजहाजसम्म जान बसमा पनि भौतिक दूरी कायम राख्न सकिने अवस्था देखिएन, तर यो पंक्तिकारले लाटो बुद्धि लाएर भएपनि घरबाट निस्केदेखि पुनः घरमा नपुञ्जेलसम्म नयाँ–नयाँ मास्कले आप्mनो नाक–मुख चाहिँ टम्म ढाकेको ढाक्यै गरिरह्यो ।
काठमाडौंबाट फर्केको हप्ता दिन नाघिसक्यो । पंक्तिकारमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण देखा परेको छैन, तर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक टर्मिनल भवनको यात्रुहरुको खचाखच भिड सम्झेर चाहिँ अझै पनि सातो जाला जस्तो हुन्छ । केही दिनअघि हवाईयात्रा सम्बन्धी नयाँ निर्देशिका जारी भएको छ, तर निर्देशिका त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक टर्मिनल भवनभित्र हुने अत्यधिक भिडप्रति मौन छ । जहाँ कोभिड–१९ बाट बच्न भौतिक दूरी राख्ने नियम तोडिएको पाइएको छ । कोभिड–१९ को जोखिम निम्त्याउने कारकमध्ये सो आन्तरिक टर्मिनल भवनको साँघुरो अवस्था पनि एक त होइन ? सम्बन्धित निकायले भविष्यलाई समेत ख्याल गर्दै तुरुन्तै टर्मिनल भवन ठूलो बनाउनका लागि कदम चाल्नुपर्ने देखिन्छ ।


























