देश र जनताका अभिभावक नै निम्न स्तरको गालीगलौजमा उत्रिएपछि उनीहरुबाट परिवार र समाजले के अपेक्षा गर्न सक्छ र ! यही नियति भोग्दैछन् नेपालीले । अभिभावकीय भूमिकामा रहेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको घटनाक्रमले उत्पन्न गरेको परिस्थितिमा उनी आफ्ना विपक्षमा रहेका सम्मानित नेतृत्वहरुलाई नै तल्लोकोटीको शब्द प्रहार गर्दैछन् । एकीकरण भएको दुई वर्ष मै टुक्रिएको नेपाल कम्युनिष्ट पार्टी र त्यसको झन्डा, चुनाव चिह्न आ–आफ्नो भएको दाबी गर्दै आएको दलका शीर्ष नेताहरु आफू बाहेक अरु ‘नजाती’ देखाउन लगौंटी कसेर लागेका छन् । त्यसकै उदाहरण हो प्रत्येक दिन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित÷प्रशारित समाचारहरु । त्यसमाथि पनि प्रधानमन्त्रीका अभिव्यक्ति, प्रयोग गरिएका शब्दहरु, उदाहरण र उपमाले नेपालीको शिर झुकेको अनुभूति गरिँदैछ । पाँच दशकसम्म सहयात्रा गरेका, आफूहरुलाई निमुखा, अबोला, गरीब, शोषित र पीडितको सहाय ठान्ने नेताहरुका मुखबाट प्रकट भएका यस्ता वाणीहरुका कारण उनीहरु ‘केबल सत्ता चाहन्छन्, सत्ता बाहेक केही चाहँदैनन्’ देखिएको छ ।

प्रतिनिधि सभा विघटन भइसकेपछि उत्पन्न विवाद उत्कर्षमा पुग्दा सभामुखदेखि राष्ट्रपतिसम्मले अपमानित हुनु परेको छ । प्रम स्वयम्ले सभामुखलाई ‘किर्ते’ गरेको आरोप लगाएका छन् । त्यसकै शिको गरेर होला सामाजिक सञ्जालमा संवैधानिक अङ्गका प्रमुख मात्र होइन राष्ट्रपति सम्मैकालाई अश्लील पात्र बनाइँदैछ । यस्तो स्वतन्त्रताले नेपालीको शिर कति उच्च होला, स्वाभिमान कति अग्लिएला र राष्ट्रिय गौरव कति बलियो होला अनुमान सहजै गर्न सकिन्छ । सहयात्रा गरेको यति लामो अवधि भइसक्दा पनि एकअर्कालाई चिन्न नसक्ने नेताहरुले देशको नेतृत्व कसरी गर्लान् ? यति धेरै बहुलतालाई कसरी एउटै सूत्रमा जोड्लान् र कसरी समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई पूर्णता देलान्– प्रश्न उब्जिएको छ ।
संयम, सहिष्णुता, धैर्य र उदात्त भाव मानिसका उचाइ नाप्ने कसी हुन् । मानव हुनुका नाताले यी गुण सबैमा हुनुपर्छ । अझ जनताको प्रतिनिधि र राष्ट्रको गौरव बन्नुपर्नेहरु नै आकाशतर्फ थुक्न थालेपछि जनता आफैंले थुकबाट जोगिने उपाय खोजी गर्नुको विकल्प छैन । त्यसो गर्दागर्दै समय सकिने भएकाले समृद्धि आकाशको फल नभएर के हुनसक्छ ? जे का लागि जनयुद्ध वा जनआन्दोलन गरियो भनिन्छ, त्यसैलाई घाँटी निमोठ्न उद्दत हुनु मुख्र्याइँ बाहेक केही होइन । पदमा रहँदा मात्र पैसा, प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकताले गाँजेको वर्तमानलाई निष्ठा, सेवा र कर्मठताले बदल्न सक्नु पर्दछ । यसका लागि सरकार प्रमुखले नै दायित्वबोध गर्नुपर्दछ । पण्डित्याइँ व्यवहारमा उतार्नु पर्दछ, केबल भन्नका लागि होइन । आरोप–प्रत्यारोप र निकृष्ट शब्द वर्षाले उचाइ बढ्दैन, झन् खुम्चिन्छ भन्ने तथ्यबोध सबैमा होस् ।




























