झापा।

आमाको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका राजगढ गाउँपालिका–६ सप्तरीका सञ्जयकुमार झा अहिले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा छन् । पाठेघरको मुखमा क्यान्सर देखिएपछि आमा छाँयादेवी (नाम परिर्वतन) को उपचारका लागि उनी झापा आएका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आमाको उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड लान सल्लाह दिएपछि आफूले यहाँ ल्याएको झाले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गर्दा शुरुमा निक्कै डर लागेको थियो झाले भने– आफू पनि त्रिभूवन विश्व विद्यालयको प्राध्यापक भएकाले पूर्वाञ्चल क्यान्सर अस्पतालको विषयमा गुगल ‘सर्च’ गरेर अध्ययन गरेँ । त्यसक्रममा यो अस्पतालका विषयमा सबै कुरा थाह पाएपछि आमालाई उपचारका लागि यहाँ ल्याएको हुँ ।
‘अस्पताल सोचेभन्दा धेरै फरक रहेछ, आमाको उपचार सहजै हुँदैछ’– झाले भने– मलाई पनि शुरुमा क्यान्सर भयावह रोग हो भन्ने लागेको थियो । तर, यहाँ आएर उपचार गराउन थालेपछि थाह भयो क्यान्सर रोग अन्य रोग जस्तै रहेछ । यसलाई सामान्य मान्दा हुनेरहेछ । आमा पूर्ण रुपमा निको हुनुु हुँदैछ । आमाको केमोथेरापी चलिरहेको छ । अस्पतालको म्यानेजमेन्ट टिम देखेर म दंग छु, अस्पताल होस् त यस्तो ।
‘आमाको उपचार क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवसहितको टिमले निक्कै मेहनत गरेर गरेको छ’– झाले भने – आमाको उपचारमा कुनै दिन चिन्ता लिनु परेर डा.को टिमले आफ्नै आमाको उपचार गरेजस्तै गरी सहजै उपचार गरिदिनुभएको छ । डाक्टरको सेवाप्रति म खुशी छु नै आमा पनि धेरै खुशी हुनुहुन्छ ।
यता झापाको दमक नगरपालिका निवासी कमला रिमाल पनि अहिले पूर्वाञ्चल क्यान्सर अस्पतालमा नै उपचाररत् छिन् । उनको स्तनमा क्यान्सर भएपछि असार यता अस्पतालको प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गराइरहेकी छिन् । क्यान्सर देखिएपछि गत असारमा शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया पनि क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवसहितको टिमले गरेको थियो ।
नियमित ‘फलोअप’का लागि पूर्वाञ्चल क्यान्सर अस्पताल आएकी रिमालले अस्पतालमा सहजै आफूले उपचार गराएको र अहिलेसम्म ८ बटा केमो चलाइसकेको बताइन् । अहिले अन्तिम केमोका लागि यहाँ आएकी हुँ– उनले भनिन्– शुरुमा डर थियो, अहिले रोग निको भयो, अस्पतालको सेवाप्रति खुशी छु ।
‘डा. वाशुले आमाको स्तनमा क्यान्सर भएको भन्दै शल्यक्रियाका लागि भन्नुभएको थियो’– आमाको उपचारका लागि अस्पताल आएकी उनकी छोरी नीताले भनिन्– सामान्य अवस्थामा रहनु भएकी आमाको स्तनमा क्यान्सर छ भन्दा शुरुमा त निक्कै डर लाग्यो । तर, डाक्टरको ‘काउन्सिलिङ’ले हामीलाई आश्वस्त गरायो र गत असारमा शल्यक्रिया गरिएको थियो । अहिले आमा निको हुँदै हुनुहुन्छ । केही दिनभित्रै आमा पूर्ण रुपमा निको भएपछि घर लाने तयारी गरिरहेका छौं ।
यता मेचीनगर नगरपालिका–७ निवासी टीकाराम पोखरेलले पनि पूर्वाञ्चल क्यान्सर अस्पतालबाट राम्रो सेवा पाएको उनका आफन्त हरिबहादुर भट्टराईले बताए । उनले भने– आफ्नै ठाउँमा यतिका सुविधासम्पन्न अस्पताल बनेको रहेछ थाह थिएन । टीकारामको उपचार गराउँदा थाहा भयो आँगनमा बनेको अस्पतालले म मात्रै होइन झापासहित पूर्वका वासिन्दालाई ठूलो गुन लगाएको छ । क्यान्सरको उपचारका लागि अब अन्यत्र जानु नपर्ने रहेछ– भट्टराईले भने– ‘यहाँ जस्तो सुकै क्यान्सरको पनि उपचार हुन्छ भन्ने सुनेको छु । हाम्रो केटाको चाहिँ राम्ररी नै उपचार भयो ।’
आफ्नै ठाउँमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा घरकै खाना खाएर उपचार गराउने भट्टराई र रिमाल प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता धेरैले अहिले यो अस्पतालबाट सेवा लिएका छन् । एक वर्ष अघिबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापनाको पहिलो वर्ष मै २६ हजार क्यान्सरका बिरामीले ओपीडी सेवा लिएका छन् ।
अस्पताल प्रशासनका अनुसार सन् २०२०को शुरुवातसँगै अस्पतालले आफ्नो सेवा शुरु गरेको थियो । प्रदेश नं. १का क्यान्सरका बिरामीलाई लक्षित गरी सञ्चालनमा आएको अस्पतालले हालसम्म २६ हजार जनालाई सेवा दिएको जनाएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका डा. यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालमा अहिले दैनिक रेडिएनसका लागि मात्रै ५०÷६० जना आउने गरेको र क्यान्सर रोग पत्ता लगाउनका लागि र केमोका लागि पनि दैनिक एक सयको हाराहामीमा बिरामी आउने गरेको बताए ।
एक वर्षको अवधिमा चार सय १३ जनाले रेडिएसन, पाँच सय २५ जनाले सर्जरी सेवा लिएको बताइएको छ । अस्पतालले नयाँ प्रविधिको मेसिन ‘ट्रू बिम लिनियर एक्सेलेरेटर’ मार्फत क्यान्सरका बिरामीलाई एक मिनेटमै रेडिएसन दिनसक्ने प्रविधि, क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिनबाट सेवा दिइरहेको बताउँदै मेडिकल डाइरेक्टर डा. यादवले अब एशियामा नै नभएको साइबर नाइफ अत्याधुनिक रेडियो सर्जरी प्रविधि भित्र्याउन लागेको जानकारी दिए ।
डा. यादवले खानपानका कारण युवा पुस्तामा क्यान्सरको समस्या भयावह बन्दै गएको बताए । अब यो वा त्यो उमेर रहेनछ– डा. यादवले भने– अहिले खानपान र रहनसहनले धेरैलाई क्यान्सर भइरहेको छ । खानपानमा ध्यान नदिने हो भने क्यान्सरको समस्या भयावह हुन्छ । ‘केही समय अघिसम्म पाको उमेरमा क्यान्सर हुन्छ भन्ने मान्यता थियो’– डा यादवले भने– युवावर्गले खानपानमा ध्यान नदिएकै कारण क्यान्सरको समस्या बढेर गएको छ । डा. यादवले खानपानमा युवापुस्तालाई ध्यान दिन आग्रह समेत गरेका छन् ।





























