नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार दिइएको जानकारी अनुसार कूल संक्रमित मध्ये दुई लाख ५४ हजार चार सय ९४ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार आठ सय ७८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय चौवन्न रहेको छ । यसले नोपलमा कोरोनाको महामारीको त्रास क्रमशः घट्दो रहेको देखाएको छ । यद्यपि पछिल्लो समय पीसीआर परीक्षण गराउनेहरुको संख्या घटेको छ । कोरोनाको लक्षण देखिए पनि उपचार नपाइने र आफैंले खर्च व्यहोर्नुपर्ने कारणले परीक्षण गराउनेको संख्या घट्दै गएको हो । संक्रमितको घट्दो दरका कारण सरकारले कतिपय कोभिड विशेष अस्पताल बन्द गरिसकेको छ भने आम मानिसमा पनि कोरोना त्रास हराउन थालेको हाटबजारको चहलपहलले देखाएको छ ।

कोरोना त्रास मनबाट हराउन थालेको बेला सरकारद्वारा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि जिम्मेवार इकाइका रुपमा गठित कोभिड रोकथाम सम्बन्धी उच्चस्तरीय समिति सीसीएमसीले यसअघि बन्द गरिएका केही सेवा खोल्ने प्रस्ताव गरेको छ । सीसीएमसीको प्रस्ताव अनुसार मन्त्रीपरिषद्को बैठकले स्वीकृति दिएमा सार्वजनिक विद्यालय, चलचित्र घर, जिमखाना लगायतका क्षेत्र खुल्ला हुनेछन् । यद्यपि यसले भाइरसको विस्तारमा सहयोग गर्ने र संक्रमण अझ व्यापक हुने भएकाले तत्काल स्वीकृत दिन नहुने तर्क पनि गरिँदैछ । अत्यधिक भिडभाड हुने ठाउँहरु सुचारु गरिँदा संक्रमण फैलियो भने नियन्त्रण गर्न गाह्रो हुने चिकित्सकहरुले बताउँदै आएका छन् । कोरोनाको त्रास यथावत रहेको अवस्थामा बेलायत लगायतका देशहरुमा नयाँ प्रकारको भाइरस भेटिएको भन्दै पुनः बन्दाबन्दी गर्न थालेका छन् ।
विश्वमा उत्पन्न यो त्रासले सरकार चिन्तित र नियन्त्रण गर्न सक्रिय रहेका बेला हामी कहाँ भने सत्ता संघर्ष चुलिएको छ । दुईतिहाई बहुमत प्राप्त सत्तारुढ दलभित्रको सत्तामोह र लिप्साको संघर्षले सबैको ध्यान त्यतै केन्द्रीत भइरहेको छ । कोरोनाविरुद्धको खोप ल्याउने, भण्डारण गर्ने र लगाउने विषय सरकारको प्राथमिकतामा परेको देखिँदैन । बरु सरकार प्रमुख आफैं मर्यादा विपरीतका व्यङ्ग्य वाण प्रहार गरेर रमाइरहेका छन् । विषय र संक्रमणको गाम्भीर्यको अनुभूत नै नभएको जस्तो लाग्ने सरकारको व्यवहारले आमजनताको स्वास्थ्य अवस्थामा कस्तो असर गर्ला अनुमान गर्न सकिन्छ । संसद विघटनको निर्णयपछि उत्पन्न अन्यौल अदालतको फैसलाले निरुपण गर्ने आशामा बसेका प्रतिपक्ष र विपक्षीहरु समेत वैश्विक त्रासको भयावहताप्रति निरपेक्ष रहेको अनुभूत भइसकेको छ । यस्तोमा देश र जनताको भविष्य अनिश्चित हुनु स्वभाविक हो । त्यसैले सबैको ध्यान कोरोना नियन्त्रणमा जानु पर्दछ, यो नै आजको आवश्यकता पनि हो ।




























