ओली र उखानको बखान

0
1880

यतिखेर नेपालको राजनीतिमा भएको पछिल्लो घटनाक्रमले सबैको ध्याना तानेको छ । अब के होला भन्ने कौतुहलता बढ्नुको साथै देशमा राजनीतिक अस्थिरता बढेको प्रति सबैमा चिन्ता थपिएको छ । निश्चितरुपमा पुसको जाडोमा पनि राजनीतिक सरगर्मी बढेको सबैले अनुभव गरेका छन् ।

संसद विघटनको घटनासँगै विभिन्न सञ्चारमाध्यम छापा, विद्युतीय, अनलाइन, युट्युव, सामाजिक सञ्जाल लगायतमा सनसनीपूर्ण विचार, प्रतिक्रियाले भरिपूर्ण सामग्री प्रकाशन तथा प्रसारणको क्रम तीब्ररुपमा बढ्दै गएको छ । यसरी आउने सामग्रीमा मुख्यरुपमा घटनाको पक्ष–विपक्ष, आरोप–प्रत्यारोप, परिस्थितिको आंकलन–अनुमान, सही–गलतका विचार, विश्लेषण, धारणा सर्वसाधारणदेखि विशिष्ठ विचारक, राजनीतिज्ञ, विश्लेषक लगायतका प्रशस्त आउने गरेका छन् ।

यस्ता व्यक्तिहरुद्वारा आफ्ना भनाइ सशक्त र प्रभावकारी तुल्याउन उखान टुक्का उपयोग उतिकै मात्रामा गरिएको पाइएको छ । त्यसै पनि वर्तमान घटनाका नायक देशको सर्वोच्च कार्यकारी पदमा रहेका प्रधानमन्त्री केपी ओली स्वयम् नेपालको सबैभन्दा बढी भाषण तथा अभिव्यक्तिका क्रममा उखान–टुक्का प्रयोग गर्ने राजनीतिज्ञका रुपमा चर्चित छन् ।

स्वास्थ्यका लागि लाभदायक हाँस्यरस र छेडखानमा पनि त्यतिकै निपुण मानिन्छन् । उनलाई उखान टुक्काबाट तीन वर्ष देशको समय खर्च गरेर बर्वाद पारेको आरोप स्वयम् नेकपाका वरिष्ठ नेताले लगाइसकेका छन् । धेरैले विचार अभिव्यक्ति स्पष्ट पार्न महत्वपूर्ण स्थान राख्ने उनको भाषा–शैली तथा उखान–टुक्काको प्रयोग क्षमता मन पराउने गरेको पनि देखिन्छ । यसै सन्दर्भमा यहाँ देशको पछिल्लो घटनाक्रमलाई जोडेर पक्ष–विपक्षमा प्रयोग हुँदै आएका केही प्रचलित नेपाली उखान–टुक्काबारे चर्चा गरौं ।

नरहे बास नबजे बासुरी (सबैको कुरा समाप्त हुनु)

यो उखान प्रधानमन्त्री ओलीले संसद विघटन किन गरे भन्ने प्रश्नको जवाफमा प्रयोग भएको पाइएको छ । प्रयोगकर्ता एक राजनीतिकर्मीका अनुसार आफ्नैभित्रबाट आएको निरन्तरको तीब्र आलोचनाका कारण उनलाई पटक–पटक तनाव उत्पन्न गराइरहनुले संसद विघटनको निर्णय लिन बाध्य बनाएको हो । स्वयम् ओलीले संसद विघटन आफ्नो रुचीको विषय नभएको तर आफूलाई अघि बढ्न नदिएका कारण उक्त कदम चालेको बताएका छन् । उनको भनाइमा ओलीलाई अगाडि बढ्न र स्वतन्त्र ढंगले काम गर्न आफ्नै सहकर्मीहरुले नदिई बाधा व्यवधान खडा गरेपछि उनलाई लाग्यो नरहे बाँस अर्थात् संसद नै नरहेपछि (दलबाटै अलग भएपछि)नबजे बासुरी अर्थात् बाधा विरोधको स्वर नै बन्द हुनेछ । प्रतिनिधि सभा जोड–घटाउका सबै खेल नै समाप्त हुनेछ ।

बिरालोलाई ढोका थुनेर कुट्नु (अरुलाई दण्ड दिन खोज्दा आफै पीडामा पर्नु)

ओली समूहका एक नेताबाट अभिव्यक्त यो उखानको आशय देशमा हठात् यस्तो विकराल राजनीतिक घटना घट्नु तथा राजनीतिक संकट उत्पन्न हुनुको कारक तथा कारण अरु नभई घटनाकर्तालाई पीडा दिने वा घेराबन्दी गर्ने दुष्प्रयास नै हो ।

उनका अनुसार पदको भागबण्डा नखोजी करिब दुई वर्ष बाँकी अवधि प्रम ओलीलाई नै छोडिदिएको भए केही हुने थिएन । गलत ढंगले उनीविरुद्ध प्रस्तुत हुन खोज्दा ढोका थुनेर बिरालो कुट्दाको अवस्था अर्थात् परिणाम आफैं (ओली विरोधी)ले भोग्नुपर्ने अवस्था सिर्जना भएको हो ।

वन साङ्लोले घर साङ्लोलाई खेद्नु (अधिकारविहीनले अधिकार प्रयोग गर्नु)

यो उखान नेपाल–दाहाल समूहले ओलीमाथि गरेको कारवाहीको प्रसङ्गसँग सम्बन्धित छ । ओली समूहका उपल्लो तहका एक नेताले विपक्षीको कामलाई वन साङ्लो अर्थात् अधिकारविहीनताको संकेत गर्दै आश्चर्य समेत प्रकट गरेका हुन् । नेकपा अध्यक्ष स्वयम् ओलीका अनुसार उनलाई अर्को समूहले गरेको पार्टी अध्यक्षबाट हटाउने कारवाही केबल चेस खेलमा ‘हात्ती खाएँ, घोडा खाएँ’ भन्नु जस्तै हो । वास्तविक हात्ती घोडाको कुरा अर्कै हो ।
वञ्चरोले आफ्नो खुट्टामा आफै हान्नु

(एउटै दलका दुई गुटका कारण पार्टी विभाजित हुनु)

नेकपाका नेताका आफ्नै गलत प्रवृत्तिका कारणले पार्टी विभाजनको पीडा र दूरगति भोग्नु परेको स्पष्ट पार्दै राजनीतिक विश्लेषकहरुले यो उखान उदृत गरेका हुन् । उनीहरुका अनुसार राजनीतिमा विकृतिको रुपमा रहेको गुटको अन्तिम परिणामको शिकार बनेको छ नेकपा ।

जुन नेतृत्व तहको आन्तरिक विवाद र कलहबाट सिर्जित बुद्धिहीन कर्म अर्थात् आफ्नो खुट्टामा आफैले वञ्चरो प्रहार गर्ने परिस्थिति उत्पन्न भएको हो । जसबाट असक्षम नेतृत्वका कारण नेकपामात्र होइन आम नेपाली जनतालाई राजनीतिक अस्तिरताको सास्ती भोग्न विवश पारिएको छ ।

मूसा मार्न घरमा आगो लगाउनु (विरोधी गुट समाप्त पार्न पार्टी फुटाउनु)

अघिल्लो चुनावमा करिब दुईतिहाई जनमत पाएको नेकपाको वर्तमान अवस्था यही उखान अर्थात् मूसा मार्न घरमा आगो लगाउनु जस्तै भएको छ भनेर उपरोक्त उखानको प्रयोग भएको हो । एक धार्मिक अभियन्ताका विश्लेषण अनुसार यस घटनाबाट अहिले नेकपा फुटेर चकनाचुर मात्र भएको छैन, बरु भष्म भएको छ । चकनाचुरमा जोडिने सम्भावना रहन्छ । तर, यतिखेर पार्टी एकताको कुनै सम्भावना देखिँदैन । घरमा आगो लाग्नु अर्थात् सत्तारुढ पार्टी भष्म भएको छ । चकनामा केही सम्भावना रहन्छ, तर भष्म भई समाप्त भएको हो । जनाधार शून्य प्रायः अवस्थामा रहेकोले अब जनताबाट चुनाव मार्फत पार्टी निर्माण गर्नुपर्नेछ ।

सुनारको सय चोट लोहारको एक चोट (प्रचण्ड पक्षको कयौं अवरोधको विरुद्ध ओलीको संसद विघटनको घटना)
कतिपयले प्रम ओलीको संसद विघटनको घटना संवैधानिक असंबैधानिक जे भए पनि संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यको सर्वोत्तम उपायका रुपमा लिएको समेत पाइन्छ । पद भागबण्डा, स्वार्थको बन्धक बनाउँदै सरकारलाई काम गर्न नदिई सधैँ उल्झन लगाइरहेको बेला ओलीले उक्त कदम चालेर उनीहरुलाई सुनारको सय चोट अर्थात् सधैँ किचलो गरिरहने प्रवृत्तिविरुद्ध लोहारको एक चोट अर्थात् कडा प्रहार गरेर उनीहरुलाई ठेगान लगाउन सक्षम भएको समेत बताउँदै प्रशंसा पनि गरेका छन् ।

स्यालको हुय्या मचाउनु (अनर्थको बकवास गर्नु)

पछिल्लो विकसित घटनामा विशेषगरी दुई समूह प्रचण्ड–माधव र ओली समूहबीच चर्को रुपमा एक अर्कालाई दोषारोपण गर्ने क्रम शुरु भएको छ । एकअर्काबीच आफू ठीक अरु गलत भएको पुष्टि गर्ने प्रयास पनि दुबै पक्षमा भइरहेको छ । प्रचण्ड–माधव समूहले ओलीको कदम प्रतिगमनकारी र असंवैधानिक भएको भन्दै विरोधका कार्यक्रम गरिरहेका छन् ।

यसै क्रममा प्रम ओलीले आफूले गरेको संसद विघटन संवैधानिक र सही भएको र जनता समक्ष जान डराएर अर्को समूह प्रतिनिधि सभा पुनस्र्थापनाका लागि स्यालको हुँय्या मचाउनु अर्थात् व्यर्थको बकवास गर्न शुरु गरेको बताएका छन् । अदालतले उनको निर्णय नउल्टाउने ठोकुवा समेत उनले गरेका छन् ।

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी(राम्रो खोज्दा फन्दामा पर्नु)

खासगरी विवाद र कलहका कारण पार्टी फुट देखिएपछि प्रचण्ड नेपालको गिर्दो अवस्थाप्रति संकेत गर्दै यस्तो उखानको प्रयोग गरिएको देखिन्छ । सडकसम्म पुगेका यी नेताको हालत निन्दित बनको त छ नै । अझ ठूलो भाग खोज्दा, लोभ र स्वार्थका कारण पहिलेको साख समेत गुमाउनु परेको अभिव्यक्ति बाहिरबाट समेत आइरहेको छ । ओलीको भनाइ अनुसार उनीहरु ९९ बाट छिटो सय पुग्न खोज्दा वा धैर्य गुमाउँदा लुँडोको खेलमा जस्तै ९९ बाट २ को स्थानमा झरेका छन् ।

दुई हातमा लड्डु (दुबैतर्फ फाइदा)

देशमा सिर्जित नयाँ घटनाक्रमसँगै यसबाट राजनीतिक क्षेत्रमा नाफा–घाटा, फाइदा–बेफाइदाका जोड घटाउ पनि शुरु भएका छन् । क–कसलाई बढी फाइदा छ भन्ने प्रश्नको उत्तरमा राजनीतिक जानकारहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नै सबैभन्दा बढी फाइदा हुने अर्थात् कांग्रेसको दुई हातमा लड्डू भन्ने गरिएको छ ।

चाहे संसदको पुनर्थापना होस् वा निर्वाचन दुबै अवस्थामा नेकपा विभाजनबाट कांग्रेसलाई सबैभन्दा बढी फाइदा हुने उनहरु बताउँछन् । प्रदेशमा त्यसको असर देखिएसँगै कांग्रेस नै निर्णायक शक्ति बन्ने अनुमान छ ।

पिलो निचोरेर फाल्दैमा शरीरको तौल घट्दैन

सडक र सरकारमा रहेको नेकपाका दुबै समूहले आफूलाई शक्तिशाली देखाउने क्रममा हरेक ढंगले प्रस्तुत हुने गरेका छन् । आफू नै ठूलो, मूलधारको र संस्थापन पक्ष ठान्ने गरेका पनि छन् ।

यसै सन्दर्भमा प्रधानमनत्री केपी ओलीले भनेका छन्– प्रचण्ड–माधव नेपाल समूहका दुई–चार नेता नेकपाबाट अलग हुँदैमा बिशाल नेकपालाई असर पर्दैन, पिलो निचोरेर फाल्दैमा शरीरको तौल घट्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here