
युवा भन्ने बित्तिकै नयाँ सोच, जाँगर, जोश र ऊर्जा बोकेका देश निर्माणमा अत्यावश्यक पक्ष हो । विश्व सर्वहारा वर्गका महान दार्शनिक कार्ल माक्र्सको शब्द सापटी लिँदा युवाहरु हो, जिते संसार छ, हारे केही पनि छैन । यसको मतलब संसारभरिका युवा वर्गमा जित्नका लागि साहस र आँटको जरुरत छ । यो यथार्थता बहुसंख्यक श्रमजीवी किसान मजदुरहरुले भरिएको नेपाल जस्तो मुलुकका श्रमजीवी किसानका सन्तानहरुको लागि हिजो, आज र भोलि पनि सान्दर्भिक रहिरहने छ ।
युवाहरुको बारेमा अर्का सर्वहारा वर्गका नेता माओ भनेको छन्– यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो । वास्तवमा युवाहरु नजागेसम्म संसारका कुनै पनि परिवर्तन र क्रान्ति सम्भव भएका छैनन् । युवाहरु नै राष्ट्रका परिवर्तकारी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नविनतम सोच र विचारमा प्रतिबद्ध युवाहरु वास्तव मै राष्ट्रका अमूल्य निधि र उत्पादक शक्ति हुन् । युवाहरुमा प्राकृतिकरुपमा तातो रगत र उच्च मनोबल रहेको हुन्छ । साथै युवाहरु स्वभावले नै विद्रोही प्रवृत्तिका समेत हुन्छन् । क्रान्तिकारी भावना र समाजको अग्रगामी परिवर्तनको नयाँ, नवीन सोच र ऊर्जा युवाहरुमा सल्बलाइरहेको हुन्छ ।
विश्व इतिहासमा मात्र होइन नेपालको गौरवमय इतिहासको किताब पल्टाएर हेर्दा पनि वि.सं. १९९६ को राणा विरोधी आन्दोलनमा गंगालाल जस्ता युवाहरुको सहभागिता, वि.सं. २००६, वि.सं. २०१५, वि.सं. २०३६, वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०५२ देखी सञ्चालित सशस्त्र जनयुद्ध तथा वि.सं. २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको भूमिका र योगदान अतुलनिय रहेको थियो । यसरी विगतदेखि वर्तमानसम्म हेर्दा जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयदेखि राष्ट्रियता, स्वाधीनता तथा निरंकुशता र तानाशाहका सवालमा सशक्त र विराट शक्तिको रुपमा पर्खाल बनेर उभिएको युवा जगतको वीरता विश्व कै लागि अनुपम र ऐतिहासिक दृष्टान्त बनेको छ ।
यसरी हिजोको अंग्रेजको साम्राज्यवादविरुद्धको गोर्खाली युवादेखि आजको गणतन्त्रको पहरेदार र खबरदारी गर्ने नेपाली होनाहार युवाहरुले राष्ट्र निर्माणको महा अभियानमा समर्पित बन्ने चाहना हुँदाहुँदै पनि वेरोजगारीको पिडासँगै स्वदेशको माटोमा भन्दा विदेशीको गुलामी मै विवश बनेको देख्दा कसको मन दुखेको छैन होला र ? मुटुमाथि ढुंगा राखेर भन्नुपर्छ आज ८० लाखको हाराहारीमा ऊर्जाशील र स्वभिमानी युवा–युवती विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् । गोर्खाली र बहादुर युवाहरुको देश भनेर विश्वमा नाम कमाएको मुलुकका हामी नेपाली र नेपालको लागि पक्कै पनि यो राम्रो संकेत भने होइन ।
जबसम्म यसरी विदेशिएका युवाहरुको खुन र पसिनाबाट कमाएको सिमित रेमिट्यान्सबाट समग्र मुलुकको अर्थव्यवस्था धान्न सधैँभरि सकिन्छ भन्ने आत्मकेन्द्रित मनोविज्ञानबाट हामी सबै टाढा हुँदैनौं तबसम्म यस अवस्थाबाट छुटकारा पाउन असम्भव प्रायः छ तथा यस्तो आत्मरतीबाट चाँडो बाहिर ननिस्के इतिहासमा गम्भिर दुर्घटना हुनेछ जसको दोष हामीलाई कालो धब्बाको रुपमा लाग्नेछ ।
आजको विश्व परिस्थिति कोरोना कहरको जालोमा फसेको छ । नेपाल पनि यसको मारबाट अछुतो पक्कै रहको छैन । यस्तो असहज र जटिल समयमा नेपालका युवा शक्तिलाई राजनीतिको गोटीका रुपमा प्रयोग गर्ने परिपाटी पनि बढेको देखिन्छ । युवामा भरिएको परिवर्तनको चाहनालाई ललिपपको रुपमा देखाएर आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न पल्केका महाशयहरुबाट युवाको युगान्तकारी परिवर्तनको सपनालाई चकानाचुर पार्ने र अन्तत्वगत्वा विदेशी भूमिमा श्रम गर्न बाध्य पार्ने परिपाटी नै नेपाली युवाहरुको अभिषाप हो । अब त देशले केही कोल्टे फेर्ला, जनजिविकाका सवालहरुले महत्व पाउलान र देशभित्र युवाहरुले रोजगारीको अवसर पाएर देश समृद्ध बन्ला भन्ने सपना बोकेर ल्याइएको नेकपाको बहुमतको सरकारसँगै घेरिएको राजनीतिक अस्थिरताले फेरि पनि युवाहरुको सपना र भविष्यलाई दाउमा पारेको छ ।
स्थायी सरकारको परिकल्पनामा ढुक्क भएर सोचे जतिको काम नभए पनि चुपचाप आफ्नो र समाजको वर्तमान र भविष्य बनाउन उद्यत युवाहरु थोरै विकास र धेरै काण्डहरुको बीचमा मुकदर्शक भएर बस्यो । यसले वर्तमानका युवा शक्तिहरुलाई या त राजनीतिप्रतिको वितृष्णा या त स्वविवेक प्रयोग गर्न नसक्ने युवाको जमात हो भन्न सकिन्छ ।
तर, यसो भनेर आजका युवाले कहाँ छुटकारा पाउँछन् र ? युवा भनेको देशको अनमोल र अनन्त शक्ति हो, देशको भविष्य बोकेको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र र समाज निर्मााणमा प्रयोग गर्न नसक्नु भनेको राष्ट्र असफल हुनु हो । तसर्थ, आजका युवाले राष्ट्रलाई असफल बनाउन दिनुहुँदैन र प्रत्येक राष्ट्रिय मुद्दामा आफ्नो स्पष्ट सहभागिता र निर्णयको अधिकार सुनिश्चित गर्न सक्नु पर्छ । यो शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ । विगतको भूल र चिन्तामा अनावाश्यक अल्झाउने होइन, भविष्यको कार्यभार दिनुपर्छ । अमुक व्यक्ति र पार्टीको जय जयकार होइन, स्वविवेक प्रयोग गर्न दिनुपर्दछ ।
महान तथा अमर शहीदहरुको त्याग र बलिदानलाई खेर जान नदिन युवा जगत कदापि मौन बस्नु हुँदैन । अब युवाहरुले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक विकास निर्माणमा नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नु पर्दछ । मण्डेला, ओबामा, गान्धी, बुद्ध, आइन्सटाइन, वीपी कोइराला, गणेशमान, मनमोहन, मदन भण्डारी सबैले आ–आफ्नो युवा अवस्थामा गरेका असाधारण र परिवर्तनकारी ऐतिहासिक कार्यले आजसम्म विश्वमा छाप छोड्न सफल भएका छन् । त्यसैले आउनुहोस् हामी पनि युवा अवस्था मै केही रचनात्मक कार्य गरौँ । युवा अवस्था रहिञ्जेल जालझेल, चाप्लुसी, ढाकछोपको ढोंग गरेर बुढेसकालमा असल राजनीति र अध्यात्मका कुरा गरेर हुनेवाला केही छैेन । बेलैमा होस गरौँ ।


























