प्रधानमन्त्रीको अभिव्यक्ति स्तरहीनः बुढाथोकी

0
720

बिर्तामोड ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विगठन गर्ने प्रतिगामी कदमको कांग्रेसले एकढिक्का भएर विरोध गर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाद्वारा मंगलबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता बुढाथोकीले कांग्रेस विधिको शासनको पक्षमा रहेकाले विधि मिचिँदा रमिते बनेर बस्न नसक्ने स्पष्ट पारे ।
कम्युनिस्ट पार्टीको आन्तरिक झगडालाई लिएर प्रधानमन्त्री ओलीले सिंगो संविधानमाथि हमला गरेकोमा आपत्ति जनाउँदै पूर्वमन्त्री बुढाथोकीले संसदको सामना गर्नबाट भागेर विघटन गर्ने व्यक्तिले आम निर्वाचन गराउनेमा विश्वास नभएको बताए ।

प्रत्येकजसो सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीका स्तरहीन अभिव्यक्तिले चुनाव गराउनेभन्दा उत्तेजना र आवेग सिर्जना गरेर परिस्थितिलाई झन् जटिल बनाउने योजना बुनिएको नेता बुढाथोकीको भनाइ छ ।
अर्का केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री सरिता प्रसाईले केपी ओलीको असंवैधानिक कार्यको आन्दोलनमार्फत सशक्त प्रतिरोध गर्दै सर्वोच्च अदालतले चुनावको पक्षमा फैसला दिए आन्दोलनलाई निर्वाचन तयारीमा रुपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

भातृ संघसंस्था र शुभेच्छुकहरुका कार्यक्रमहरुलाई जनस्तरमा पु¥याई आन्दोलनको माहौल बढाउनुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा पाँचवटा निर्वाचन क्षेत्रका पदाधिकारी, १० वटा प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी, गाउँ÷नगरपालिकाका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार संसद विगठनकाविरुद्ध आगामी पुस २५ गते झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रहरुमा एकैपटक विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । जस अनुसार क्षेत्र नं. १ क को काँकरभिट्टा र ख को चारआली, क्षेत्र नं. २ क को गरामनी र २ ख को खुदुनाबारी, क्षेत्र नं. ३को क भद्रपुर र ख को राजगढ, क्षेत्र नं. ४को ख शिवगञ्ज र क्षेत्र नं ५ ख को दमकमा विरोध प्रदर्शन र कोणसभा आयोजना गरिनेछ । त्यसैगरी क्षेत्र नं. ४को क र ५ को क मा भने क्षेत्रीय समितिले स्थान तय गर्ने बताइएको छ ।

त्यसैगरी आगामी माघ ३ गते १५ वटै पालिका र माघ ८ गते १३१ वटै वडाहरुमा बिरोध प्रदर्शन र कोणसभा सम्पन्न गरिने भएको छ । पालिका र वडातहको आन्दोलन तयारीका लागि जिल्ला समितिको निर्देशन अनुसार आगामी पुस २८ गते पालिकास्तरमा बैठक तोकिएको पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here