अर्जुनधारा ।

यलम्बर टाइम्स साप्ताहिकको नवनिर्मित भवन बुधबार शिलान्यास भएको छ । विगत १३ वर्षअघिबाट ग्रामीणमुखी समाचारलाई प्राथमिकता दिँदै प्रकाशित हुँदै आएको यस साप्ताहिक अर्जुनधारा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा शिलान्यास भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, नगरपालिकाका नगर प्रमुख हरिकुमार राना र नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले भवनको शिलान्यास गरेका थिए ।
प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले अर्जुनधारा नगरको गहनाको रुपमा प्रकाशित हुँदै आएको यलम्बर टाइम्स साप्ताहिकले थालेको प्रयास प्रशंसनीय नगरकै गहना भएको हुँदा चाडो निर्माण गर्न सबैको सहयोग आवश्यक भएको बताए ।
प्रमुख अतिथि बुढाथोकीले राष्ट्रिय राजनीतिक जे–जस्तो भए पनि गाउँको समाचार उठान गरेर सहरबासीलाई सचेत गराउन यलम्बर टाइम्सले खेल्ने भूमिका कसैले बिर्सनु नहुनेमा जोड दिए । उनले भने– ‘समावेशी समाचार र विचार लोकतन्त्रको बलियो आधार भएको हुँदा यस्ता अखबारहरुलाई सबैले संरक्षण गर्नुपर्ने हुन्छ ।’
अर्का विशिष्ट अतिथि नगर प्रमुख हरिकुमार रानाले नगरको विकास प्रबद्र्धनमा यलम्बर टाइम्सले खेलेको भूमिका प्रशंसनीय भएको औल्याए । नगरले यस अखबारको भवन निर्माणमा सकारात्मक कदम राखेको बताउँदै चाडै भवन निर्माण बनोस् भन्ने शुभकामना दिए ।

विशिष्टि अतिथि रानाले नगरमा आइपरेका समस्याको जानकारी गराउँदै विकासका कामहरु भएका बारे अवगत गराएका थिए । अर्का विशिष्ट अतिथि उद्वव थापाले ग्रामीणमुखी पत्रकारिता विकास र समृद्धिको बलियो पाटो भएको हुँदा यलम्बर टाइम्सले प्रकाशन गरेका समाचारहरु पठनीय भएको बताए । उनले पत्रकार र पत्रकारिता विश्वसनीयताको आधार बनेर जान सकोस् भन्दै भवन निर्माणमा नगरपालिकाले उल्लेख्य भूमिका खेल्नुपर्ने सुझाव दिए ।
यलम्बर टाइम्सका संरक्षक माइली राईनीको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष नवीन ढुंगाना, अग्रज पत्रकारद्वय कृष्ण हुमागाँई, मोहन काजी लगायतले यलम्बर टाइम्सको बारेमा आ–आफ्नो विचार राखेका थिए । यलम्बर टाइम्स सहसम्पादक तथा यलम्बर अनलाइनका सम्पादक राजन साम्पाङ राईले स्वागत गरेको कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत महेन्द्र खाम्मेहाङ, जनमुक्ति पार्टीका नगर अध्यक्ष राज खालिङ, एमालेका वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडा, भूपू सैनिकका पूर्वाञ्चल अध्यक्ष दुर्गाबहादुर कटुवाल, प्रेस क्लव अर्जुनधाराका अध्यक्ष कुमार भट्टराई, वाणिज्य संघ अर्जुनधाराका सचिव चतुर्भुज काफ्ले, ग्यालेक्सी फिसनेटका प्रोप्राइटर चन्द्र राना लाफा, इन्सेक झापा प्रतिनिधि नरेश खाती, अर्जुनधारा खेलकुद समितिका अध्यक्ष अर्जुन मेचे, गायककार पदम कन्दङ्वा लगायतको आतिथ्य रहेको थियो ।
समावेशी सूचना केन्द्रबाट सञ्चालित यलम्बर टाइम्स साप्ताहिक, यलम्बर टाइम्स अनलाइन खबर र यलम्बर टाइम्स अनलाइन टिभी सञ्चालानार्थका लागि भवन निर्माण हुन लागेको सम्पादक तथा कार्यक्रमका सञ्चालन दिपीन राईले पूर्वाञ्चललाई बताए । भवन अर्जुनधारा नगरपालिका– ७ रमाइलो बस्तीस्थित लालुचोकमा निर्माण हुँदैछ, भवन तीन कोठाको रहने छ ।































