सुरेन्द्र भण्डारी
झापा,
नौमती बाजा संरक्षणका लागि भन्दै ९ जना ब्राम्हणद्वारा तीन वर्षअघि झापामा स्थापना गरिएको एक्टिभ नाइन नामक संस्था अन्य सामाजिक संघसंस्था भन्दा फरक छ ।

स्थापनाको पहिलो वर्ष नै ९ जना ब्राम्हणहरुले नौमती बाजा बजाएर समाजमा फरक सन्देश दिएको यो संस्थाले अहिले सवैलाई रक्तदान गर्न प्रेरित गरिरहेको छ ।
कारण हो– झापामा रगत अभाव हुनु नदिनु । कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गत वर्षको चैत महिनाबाट गरेको लकडाउन लामो समयसम्म लम्विँदा झापामा रगतको अभाव शुरु भयो । अहिले पनि झापामा रगत अभाव कायमै छ । जिल्लामा देखिएको रगत अभावलाई टार्न संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड परिसरमै पुगेर वुधवार रक्तदान गरेको बताउँछन्– एक्टिभ नाइनका सदस्य सुरेश खतिवडा ।

‘फरक काममा एक्टिभ नाइनको हात’ भन्ने मूल नारा लिएर अघि बढेको यो संस्थाले जिल्ला मै पहिलोपटक यसअघि शंख ध्वनि प्रदर्शन कार्यक्रम समेत गरेको थियो । कोरोना कहरकाबीच पनि नेपाल रेडक्रस सोसाइटीले बिरामीलाई रगत उपलब्ध गराउनुपर्ने बाध्यता भएपछि ‘एक्टिभ नाइन’ को अग्रसरतामा रक्तदान गर्दै अरुलाई समेत रगतदान गर्न आव्हान गरिएको छ । कोरोना महामारीको अबस्थामा अन्य कार्यक्रम गर्दा खर्च पनि धेरै लाग्ने जोखिम पनि बढ्ने भएपछि संस्थाले रक्तदान जीवनको सर्बाेत्तम कार्य हो भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष गोविन्द निरौलाले बताए ।

जिल्लामा छरिएर रहेका विभिन्न संस्थाले आयोजना गर्ने गरेको रक्तदान कार्यक्रममा सहभागिता जनाउँदै रक्तदान गर्ने परिपाटीको विकास भएपनि नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा नै गएर रक्तदान गर्नेको संख्या ज्यादै कम भएपछि यस खाले कार्यक्रम गरिएको संस्थाका सदस्य बिनोद दाहालले बताए ।
कोभिडका बिरामीलाई प्लाज्मा अधिक मात्रामा चाहिने बताउँदै रगत अभाव टार्न संस्थाले शुरु गरेको अभियान अत्यन्त सुन्दर र रचनात्मक काम भएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले बताए । नेपाल रेडक्रस सोसाइटी झापाका कोषाध्यक्ष हेम खड्काका अनुसार झापामा बार्षिक २२देखि २४ हजार पिन्ट रगत आवश्यक पर्छ । अझ सवारी दुर्घटना बढेको खण्डमा रगतको माग उच्च हुने गरेको छ ।

पछिल्लो समय कोभिड कारण झापामा रगत अभाव भएपछि जिल्लामा रहेका विभिन्न संघ–संस्थाले स्वतःस्फूर्त रक्तदान गर्न थालेका छन् । जसमध्ये एक्टिभ नाइनले नौलो र उदाहरणीय काम गरेको उनको बुझाइ छ ।
झापामा नयाँ र नौलो कामको शुरुवात गर्दै छुट्टै पहिचान बनाएको एक्टिभ नाइन मात्र होइन अहिले जिल्लामा रगत अभाव देखिन थालेपछि अन्य संघसंस्थाले पनि रक्तदान कार्यक्रम गर्दै आएका छन् । एक्टिभ नाइनले पनि संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष निरौलाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य भानु खनालले सञ्चालन गरेका थिए ।
श्रब्यदृष्य
फोटो फिचर ।































