नेकपा विवाद :  आ– आफ्नै खेमा बलियो बनाउन दौडधुप

0
894

झापा, 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई प्रतिगामी भन्दै देशभर नै नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अलग अलग खेमाले संगठनमा सदस्य थप्ने र संर्घषका कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।


वुधवार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले झापामा संघर्ष समिति बनाएको छ ।
सो समूहको भेलाले १ हजार १११ सदस्यीय जिल्लास्तरीय संघर्ष समिति निर्माण गरेको हो । जसको संयोजकमा रविन कोइराला रहेका छन् । त्यसैगरी सहसंयोजकमा धर्मशिला चापागाई र सचिवमा विजय साम्पाङ रहेका छन् । जिल्ला तहमा संघर्ष समिति निर्माण भइसकेपछि अब पालिका ,वडा र टोल–टोलमा संघर्ष समिति गठन गरिने संयोजक कोइरालाले बताए । उनले पुष २५ गते जिल्लास्तरीय समितिको बैठक बसेर टोल–टोलसम्म पुगेर संघर्ष समिति बनाउनका लागि कार्यविभाजन गरिने जानकारी दिए ।

संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपा ९दाहाल–नेपाल० समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम पुष १८ गते सार्वजनिक गरेको हो । जसअन्तर्गत पुष २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तरक्रिया, प्रदर्शनलगायतका कार्यक्रम रहेका छन् ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आएको छ । सो समूहले पुष २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, पौष २५ गतेसम्म प्रदेश , जिल्ला , पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने , पुष २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने , पुष २४ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाउने , विरोधपत्रका साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्नेजस्ता कार्यक्रम राखेको छ । केन्द्रीय समितिले सार्वजनिक गरेबमोजिमका संघर्षका कार्यक्रमहरु जिल्लामा जारी रहेको कोइरालाले बताए । ‘ पुष २४ गते देशका सबै जिल्ला प्रशासन कार्यालयमा पुगेर विरोधपत्र बुझाउने कार्यक्रम छ ’उनले भने , ‘झापामा पनि सो कार्यक्रमलाई सशक्त ढंगले गर्नेछौं ।’ उनले सत्तासिन ओली पक्षलाई आफूहरुको आन्दोलनलाई हल्का ढंगले नलिन चेतावनीसमेत दिए ।

अहिले संघर्ष समितिमा रहेका व्यक्तिहरुलाई नै पछि पार्टीको संगठनमा समेटेर लैजाने योजना रहेको कोइरालाले बताए । झापामा नेकपाको १७७ सदस्यीय जिल्ला कमिटी रहेको थियो । पार्टी दुई समूहमा विभाजन भएपछि कार्यकर्ता पनि बाँडिएका छन् । दाहाल–नेपाल समूहले १७७ जनामध्ये १२६ जना आफ्नो पक्षमा रहेको दावी गरेको छ । साविक जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक अर्को समूहमा गइसकेपछि अब कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा छलफल भइरहेको एक जिल्ला नेताले बताए ।

उता इलाममा नेकपाको ओली समूहले १सय ९९ सदस्यीय जिल्ला कमिटी वनाएको छ भने मोरङमा ओलीको कदम विरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले १ हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
इलाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले साविक जिल्ला कमिटीबाट ६४ जनाले पार्टी छाडेर अर्को समुहमा गएपछि रिक्त रहेको पदमा मनोनयन गरेर १ सय ९९ सदस्यीय बनाएको हो । उता विराटनगरमा बसेको जिल्ला सचिवालयको बैठकले नेकपा मोरङका सचिव गणेश उप्रेती सुशिल संयोजक र सचिवालय सदस्य पारुल क्षेत्री सह–संयोजक रहेको संघर्ष समिति गठन गरेको हो ।

यता इलाममा ओली समूहका अध्यक्ष रामबहादुर मगरले जारी गरेको प्रेस विज्ञप्तिमा सदस्यता थप गरिएको उल्लेख गरिएको छ । नेकपा इलामको ओली समुहको तेस्रो बैठक सोमबार र मंगलबार बसेको थियो । विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको कार्यालय सचिव नवराज शंकरले जानकारी दिए ।

जिल्ला बैठकले रामबहादुर मगर अध्यक्ष रहेको कार्यालय टिम बनाएको छ । जसको सदस्यहरुमा महेश बस्नेत, गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई, शोभा पराजुली, तारा गुरुङ, उमेश गुरुङ, कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । त्यसैगरी नवराज शंकर, ओमनारायण खनाल, चित्रकला बराईली, देवेन्द्र विश्वकर्मा,सूर्य पोख्रेल र दिपेन्द्र खनाल सदस्य रहको १५ सदस्यीय जिल्ला कार्यालय गठन गरेको जनाइएको छ ।पार्टीको जिल्ला सचिव सोममाया राई ‘सिन्धु’ पार्टी छाडेर अर्को राजनीतिक समुहमा गएपछि रिक्त पदमा तत्काल कामकारवाहीको लागि कार्यालय सचिव नवराज शंकरलाई दिने समेत निर्णय भएको जनाइएको छ । उपयुक्त मापदण्ड बनाएर जिल्ला कार्यालयको कार्यविभाजन, सचिवालयको पूर्णता र कार्यविभाजन, जिल्ला कमिटीको कार्यविभाजन, नगर तथा गाउँ कमिटीहरुको आवश्यक कार्यविभाजनसहितको निर्णयका साथै पार्टीको राजनीतिक तथा सांगठनिक कार्ययोजना आगामी २७ गते बस्ने जिल्ला कार्यालयको बैठकले तय गर्ने कार्यालय सचिव शंकरले जानकारी दिए ।

बैठकले केपी शर्मा ओलीलाई चौतर्फी रुपमा घेराबन्दीमा पार्दै आफ्नो पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका कारण जुन किसिमको समस्या उत्पन्न गरेर पार्टी फुटाउनेसम्म भएको काम निन्दनीय भएको जनाएको छ । विशिष्ट परिस्थितिमा पार्टीलाई थप मजबुद र एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आएकाले स्वाधिन, अखण्ड, सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एकता कायम गर्दै विकास र समृद्धिको दिशामा अघि बढाउनका सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्न अनुरोध गरिएको छ ।

जिल्ला समन्वय समितिको हलमा पार्टीका केन्द्रीय सदस्य, इलाम जिल्ला अध्यक्ष एवम् प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्यहरु महेश बस्नेत, गणेशप्रसाद बराल, जयप्रकाश राई, नरेन्द्रनाथ भट्टराई, पदम भण्डारी, शोभा पराजुली, तारा गुरुङ र काजिमान कागतेको बिशेष उपस्थितिमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको थियो ।
उता नेकपा मोरङको दाहाल – नेपाल समूहको बैठकले सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरु, नगरक मिटीका सदस्यहरु, पालिका कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला कमिटीका सदस्यहरु सम्मिलित संघर्ष समिति गठन गरेको केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए ।

बैठकले नेकपा केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतको संयोजकत्वमा निर्देशक समिति पनि गठन गरेको छ । पार्टीले घोषणा गरेको संघर्ष लगायतका कामहरुलाई सहि दिशामा लैजान निर्देशक समितिले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । बस्नेतको संयोजकत्वमा गठन भएको निर्देशक समितिमा केन्द्रीय सदस्यहरु र प्रदेश कमिटी सदस्यहरु रहनेछन् ।

बैठकले पार्टी एकताको कामलाई सम्पन्न गर्न सचिव गणेश उप्रेतीको संयोजक र चण्डी राई सहसंयोजक रहेको कार्यदल गठन गरेको छ । कार्यदलले एक हप्ताभित्र पार्टी एकताको बाँकी काम सम्पन्न गर्न आवश्यक सुझाव दिने बताइएको छ ।
बैठकले पुस २५ गतेभित्र सबै कमिटीहरुको बैठक सम्पन्न गर्ने, पुस २५ र २९ गते जिल्लाका १७ वटै पालिकाहरुमा वृहत कार्यकर्ता भेला राख्ने, त्यसै अवधिमा जनसंगठनको भेला, प्रशिक्षण र एकताको काम सम्पन्न गर्ने र संघर्षको कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ । नेकपा मोरङको २०६ जनाको जिल्ला कमिटि रहेकोमा बहुमत अर्थात १०५ जना आपूmतिर रहेको र कतिपयले निर्णय गरिनसकेको पार्टीका सचिब उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here