
भद्रपुर । भद्रपुरका सामाजिक व्यक्तित्व रमेश पोखरेलको परिवारले आफ्ना दिवंगत पिता शिवप्रसाद पोखरेलको वार्षिक पुण्यतिथिको दिन पारेर विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग प्रदान गरेका छन् ।
माता देवीमाया र पिता शिवप्रसादको स्मृतिमा पोखरेल परिवारले नारी सञ्चार गृह झापासहित पाँच वटा सामाजिक संघ–संस्थालाई सहयोग रकम प्रदान गरेको हो ।
भद्रपुरस्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलमा अक्षयकोष स्थापनाका लागि ५० हजार संस्थाका अध्यक्ष राजेन्द्र चापागाँईलाई प्रदान गरिएको थियो । त्यसैगरी चन्द्रगढीस्थित कालीमन्दिर निर्माण समितिलाई २५ हजार, नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र क्षितिज नाट्य समूहद्वारा निर्माणाधीन नाटक घरलाई ११÷११ हजार रुपैयाँ र भारद्वाज गोत्रीय बंश प्रतिष्ठान चितवन देवघाटलाई एक लाख दुई हजार प्रदान गरिएको थियो ।
गोविन्द पोखरेको अध्यक्षता तथा बालानन्द दूग्ध पोखरेल प्रतिष्ठानका अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरेलले रमेश पोखरेलका परिवारले गरेको कामले समाजलाई सामथ्र्यवान बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरीले बुबाले देखाएको बाटोमा हिँड्ने पोखरेल परिवारको सहयोगले समाजमा सत्कर्ममा लाग्ने प्रेरणा मिल्ने धारणा राखेका थिए ।
त्यस्तै नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले संस्थाले स्थापना गरेको सहयोगले दीर्घकालीन महत्व राख्ने बताउँदै पोखरेल परिवारलाई धन्यवाद दिइन् । क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले पूर्वीय दर्शन अनुसार पिता, पुर्खाले देखाएको बाटो हिँड्नु असल सन्ततिको कर्तव्य र दायित्व भएको बताए ।
त्यसैगरी दुई करोड रुपैयाँको अक्षयकोष स्थापनाको लक्ष्य राखेको जानकारी गराउँदै कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलका अध्यक्ष राजेन्द्र चापागाँईले दाताले पितृको नाममा स्थापना गरेको अक्षयकोषमा प्राप्त रकमबाट पितृको पुण्यतिथिका दिन बटुकलाई भोजन गराइने जानकारी दिए ।
त्यस्तै कालीमन्दिर निर्माण समितिका अध्यक्ष भीम पौडेलले पूर्वकै नमूनाका रुपमा बनाउन लागिएको कालीमन्दिरको ऐतिहासिकता, वर्तमान र मन्दिर निर्माणको भावी लक्ष्यबारे जानकारी गराएका थिए ।
विष्णु पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै दाता रमेश पोखरेलले आफ्ना पिताजीले समाजमा गर्छु भनेर अधुरा छोडेर गएका कामहरुलाई पूर्णता दिने कार्यको प्रारम्भ स्वरुप सहयोग रकम हस्तान्तरण गरिएको बताए ।
लेखापढी व्यवसायी पोखरेल लेखापढी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य तथा झापा अध्यक्ष एवं भद्रपुर जेसीजका पूर्व अध्यक्ष हुन् ।
































