संसद विघटनपछि उत्पन्न परिस्थिति जटिलतातर्फ उन्मुख भएको छ । खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय नेताहरुमा देखिन थालेको अमर्यादित, अशिष्ट र असभ्य आरोपप्रत्यारोपको बोली समातेर आजका बालबालिकाले पनि त्यसकै अनुशरण गर्ने हुन् कि चिन्ता थपिएको छ । देशको प्रतिनिधित्व गर्ने सरकार प्रमुखको भाषा, हाँस्य, व्यङ्ग्य, उखान, उपमा र अलंकार नै पदीय मर्यादा विपरीतका रहेका छन् भने एकै सिरानी गरेर सुतेका, एउटै वाद, विचार र सिद्धान्तका लागि लामो संघर्ष गरेका भनिने नेताहरुका मुखबाट निस्कने बोलीमा आदर्श, संस्कार र सभ्यताको कुनै अंश पनि भेटिन छाडेको छ । एउटै दल, समूह र परिवारमा रहेकाहरु, एउटै छानामुनि रहेकाहरु आज एकअर्कालाई सिध्याउन लागेका छन् । एक–अर्कालाई इतिहासकै नालायक सिद्ध गर्न कस्सिएका छन् । जनतालाई आकर्षित गर्न राष्ट्रलाई समृद्धिको यात्रामा हिँडाउन सकिँदैन भन्ने कम्तीमा केन्द्रीय नेतृत्वमा रहेकाहरुले भुल्नु हुँदैन ।

‘जे–जे बराजु, सोइ–सोइ नाति’ यो उखानको सार्थकता हुन थालेको छ अहिले । घरमा आगो लगाएर भाँडा माझ्ने खरानी बनाउँछु भन्नु बुद्धिमानी होइन । त्यसै पनि भ्रष्टाचारले देश डुबेको छ, आर्थिक अनियमितता संस्कृति बन्दै गएको छ । यस्तो बेला फिजुल खर्च कटौती गरेर जनताका जिविकालाई सहज बनाउनुपर्ने बेलामा, कोरोना जस्तो महामारीबाट जोगिन र जोगाउन सम्पूर्ण क्षमता लगाउनुपर्ने समयमा सत्ताको खिचातानी गर्नु सत्तारुढ दललाई कुनै अर्थमा पनि शोभनीय छैन र हुँदैन । फरक मत, फरक विचार र फरक सिद्धान्त प्रजातन्त्रका सुन्दर पक्ष हुन् । तर, त्यही प्रजातन्त्रका सौन्दर्यलाई दुरुपयोग गरिँदा समाज द्वेष बढेर, विभाजित हुँदै संघर्ष उन्मुख हुन्छ यो निश्चित छ । नेकपाको आन्तरिक विवाद र स्वार्थले झगडाको प्रभाव अब प्रदेश हुँदै जिल्ला–जिल्लामा विस्तार हुन थालेको छ । हिजोसम्म देवता मानिएका पात्रहरुलाई आज दानवभन्दा तल झार्न थालिएको छ । भोलि फेरि दल एक हुँदा देवता नै मान्नु पर्नेहरुलाई हिजोको उपमा र उदाहरणले कस्तो प्रभाव पार्ला वा जनताले कसरी ग्रहण गर्लान् त्यसको हेक्का नराख्ने हो भने मानिस कसरी भइएला ?
केन्द्रले उत्सर्जन गरेको शब्दवाण जिल्ला सरेको अनुभूति हुन थालेको छ । झापामा पनि ओली समूह र दाहाल–नेपाल समूहको कित्ता निर्माण भएको देखिएको छ । बिर्तामोडमा मंगलबार नेकपा ओली समूहको एक कार्यक्रममा जिल्लाका नेतृत्वले नै त्यस्तै शब्द प्रयोग गरेका छन् । प्रतिनिधिसभामा निर्वाचित दुई सांसदप्रति लक्षित जिल्ला अध्यक्षले ‘दाने’ भनेर फरक विचार राख्नेलाई अपमानित मात्र गरेनन् अहिलेसम्म अविभाजित रहेको जिल्ला संगठन, नेतृत्व र जनप्रतिनिधिको कित्ता छुट्याउन मलजल नै गरेका छन् । अदालतमा विचाराधीन विषयमा दवाव दिने आशय प्रकट गर्नु प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत हुने सामान्य ज्ञान समेत नराखी आउन थालेका अभिव्यक्तिहरुले निर्वाचन त प्रभावित हुन्छ नै सँगसँगै जनमत माथि खेलबाड गरेको ठहरिने छ । आम जनतामा राजनीतिक दर्शन, सिद्धान्त, आदर्श र उच्च नैतिकताको सञ्चार गराएर मात्र गन्तव्यमा पुग्न सकिन्छ । यस्तो संस्कार आजको पहिलो आवश्यकता हो, नैतिकता र शिष्टता त्यसको सौन्दर्य । यसकै प्राप्तिका लागि गरिने प्रयासले मात्र वर्तमानको संकट किनारा लगाउँछ । सरकार यसै दिशातर्फ अग्रसर होस् ।




























