बिर्तामोड ।
स्वस्थ समाजका लागि सामाजिक अभियान झापाले कन्काई नगरपालिका बडा नं. ५ हनुमानचोक मण्डलवस्तीकी तीन वर्षिया प्रिती मण्डललाई चालीस हजार रुपैयाँ सहयोग गरेको छ ।

स्वस्थ समाजका लागि सामाजिक अभियानका संयोजक तथा गायक गणेश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण ब्यवसायी शेरबहादुर थापा, पीए नेपालका झापा शाखा संयोजक जगतबहादुर रानामगर, नेपाल लाइफ इन्स्योरेन्स झापाकी एजेन्सी मेनेजर सुनिता धिमाल, ब्यवसायी बिरेन्द्र उदास, नेपाली काँग्रेस कनकाई – ५का वडा सभापति रमेशचन्द्र दाहाल, उमा तिम्सिना, भुपालमान कार्की, कुमारमणि पोख्रेल, त्रिलोचन चिमरिया लगायतले मण्डललाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
उनीहरुले प्रितीको पालनपोषण गर्न र शिक्षामा खर्च गर्न भन्दै उक्त रकम उनका पिता गणेश मण्डललाई हस्तान्तरण गरेका थिए ।
हनुमानचोक मण्डलवस्ती निवासी गणेश मण्डलले आफुसंग भएको जग्गाजमिन र एउटा ट्याक्टर समेत बिक्री गरेर आफ्नी श्रीमती सीता मण्डलको क्यान्सरको उपचार गरेता पनि उनलाई बचाउन नसकिएको र उनको उपचारमा आफुसँग भएको जायजेथा सकिएपछि अभियान समक्ष सहयोगको अपिल गरिएको बताए ।
आफूलाई समस्या परेको वेलामा स्वस्थ समाजका लागि सामाजिक अभियानले घरमै आएर आर्थिक सहयोग गरेर ठूलो गुन लगाएको बताउँदै मण्डलले आफूलाई सहयोग गर्न सवैलाई आग्रह गरे ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रञ्जित परियारले गरेका थिए ।






























