कवि शिरोमणी पौड्यालको जन्मजयन्तीमा साहित्यिक स्रष्टा सम्मानित

0
883

तुलसीप्रसाद निरौला,बिर्तामोड ।

लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले कवि शिरोमणी लेखनाथ पौड्यालको १३७ औं जन्मजयन्तीको अबसर पारेर साहित्यिक स्रष्टा र विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

 

लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा बरिष्ठ साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष आरती पोखरेलले गरेकी थिइन् ।

कार्यक्रममा लेखनाथ पुस्तकालयबाट प्रत्येक वर्ष लेखनाथ जयन्तीमा प्रदान गरिदै आएको श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कारबाट कोमलप्रसाद पोखरेललाई नगद ५१ हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो । ।यो सम्मान तथा पुरस्कारको लागि रूद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले प्रत्येक वर्ष रकमको व्यवस्था गर्दै आएको छ ।

त्यसैैगरी चूडामणि रेग्मी झर्रो शैली सम्मानको नामबाट रेग्मीका जेठा छोरा प्रदीपमणि रेग्मीले प्रदान गर्दै आएको झर्रो शैली सम्मानबाट सुसेली साहित्यिक परिवार काँकरभिट्टालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यस्तै श्यामकृष्ण – कामक्षा श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कारबाट इलामेली स्रष्टा सोम निरौलालाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने श्यामकृष्ण –कामक्षा श्रेष्ठ छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र मावि चन्द्रगढीमा अध्ययनरत् छात्रा कसिस श्रेष्ठ र एलीना गुरुङलाई जनही दुई हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

 

यसैगरी भक्त –किरण साहित्य सम्मानबाट कवि सुमित्रा वाङ्देल चेलीलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने लेखनाथ पुस्तकालयबाट प्रदान गरिने छन्दकवि सम्मान मेचीनगर ,धुलावारी निवासी स्रष्टा सीसा थारुलाई प्रदान गरिएको थियो ।

त्यस्तै यसवर्षदेखि सकुन्तला भट्टराई र गणेशप्रसाद भट्टराईले स्थापना गरेको सकुन्तला –गणेश भट्टराई छात्रा प्रोत्साहन पुरस्कार गृष्मा अर्याललाई प्रदान गरिएको थियो ।

 

कार्यक्रममा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली ,सम्मानित व्यक्तित्वद्वय कोमलप्रसाद पोखरेल र सोम निरौला ,सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा भद्रपुर – १० निवासी साहित्यकार भानुभक्त कुभिण्डेलीद्वारा लिखित “काँडाभित्रको यात्रा“ उपन्यासको विमोचन गरिएको थियो। विमोचित कृति तथा कृतिकारको परिचय देवीचरण भण्डारीले गराएका थिए ।

कार्यक्रममा केशव भट्टराई, डा. खगेन्द्रप्रसाद दाहाल,सोम निरौला, मीना अधिकारी, इन्द्रप्रसाद कटुवाल,सीसा थारु, खोलाघरे साईँला, इन्दिरा सुवेदी लगायतले कविता वाचन गरेका थिए भने कवि,तथा वाद्यवादक मातृका प्रसाद सङ्ग्रौलाले नाकबाट बाँसुरीको धुन बजाएर सुनाएका थिए ।

कार्यक्रमको सञ्चालन पुस्तकालयका सहसचिव हरिप्रसाद नेउपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here