‘हटस्पट’ हुनबाट रोक

२७ पुष २०७७, सोमबार मा प्रकाशित

लागू ओषधको कारोबारमा झापा देशकै तेस्रो जिल्ला मानिन्छ । यसकै नियन्त्रणमा काम गरिरहेको प्रहरीको तथ्यांक अनुसार झापाको पनि बिर्तामोड ‘हटस्पट’ बन्दै गएको छ । झापामा दिनहुँ लागूऔषधका सेवनकर्ता, कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ परिरहेका छन् । प्रहरीले लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ, तर पनि नियन्त्रण भइरहेको छैन । खासगरी किशोरकिशोरी र युवाहरुमा लागूऔषधको कुलत बढ्दै गएको भन्दै प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरिरहेका छन् । लागूऔषधको कारोबारीलाई नियन्त्रणमा लिइएको आधारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको झापामा अहिलेसम्ममा चार सय ७६ जना पक्राउ परिसकेका छन् । झापा प्रहरीको तथ्यांकमा सोह्रदेखि पैंतालीस वर्ष उमेर समूहका मानिस लागूऔषधिको कारोबारमा संलग्न रहेको पाइएको छ । दिनहुँ लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ पर्न थालेपछि आक्रामक शैली अपनाउन थालेको प्रहरीले जनाएको छ ।

लागूऔषधको सेवनले स्वयम्को शरीरलाई हानी गर्छ । परिवार र समाजको शान्ति सुव्यवस्थामा खलल पु¥याउँछ र हिंसा बढाउँछ । किशोरावस्थामै यसको लतमा लाग्ने कारणले प्रहरीले सचेतना शिक्षा प्रदान गर्दै आएको छ । केही गैरसरकारी संस्थाहरु पनि लागूऔषधको दुव्र्यसनविरुद्ध क्रियाशील छन्, तर पनि यसको ओसार–पसार, व्यापार र सेवनको क्रममा कमी आउन सकेको छैन । झापाको पूर्वीनाका काँकरभिट्टा, दक्षिणी नाका गौरीगञ्ज हुँदै लागूऔषध भित्रिने गरेको छ । यस बाहेकका अन्य सीमानाकाहरुबाट पनि लागूऔषध भित्रिने गरेको विवरणले नै देखाएको छ । गएको मंसीरमा जिल्लामै ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ परे । यसरी पक्राउ पर्नेहरु सार्वजनिक भइरहँदा पनि कारोबारमा कमी नआउनुले युवापिढी दुव्र्यसनको दलदलमा फस्दै गएको अनुमान गर्न सकिन्छ ।

भारतसितको लामो र खुल्ला सीमाना, हाम्रो सुरक्षा निकायको अपर्याप्त उपस्थिति र भारतीय सीमावर्ती बजारमा हुने खुल्लमखुल्ला व्यापार जस्ता कारणले झापा लागूऔषध कारोबारको ‘हटस्पट’ बनेको हुनसक्छ । त्यसमा पनि उदाउँदो शहरका रुपमा विकास हुन थालेको बिर्तामोडमा दुव्र्यसनको ‘ग्राफ’ उक्लिँदै गएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न गतिविधिको जानकारी दिँदै यसअवधिमा उन्नतीस जना लागूऔषधको कुलतमा फसेकालाई पक्राउ गरिएको बताए । बिर्तामोडका भेटनरी, किराना पसल लगायतका क्षेत्रबाट समेत लागूऔषध बरामद भएपछि विशेष रणनीति बनाएर यसमा संलग्नहरुलाई नियन्त्रणमा लिने योजना बनाएको उनले बताएका छन् । लागूऔषधले पार्ने प्रभाव, असर र क्षतिको बारेमा जानकारी दिँदै उनले युवापुस्तालाई त्यसबाट अलग राख्न विद्यालय तहबाटै सचेतना शिक्षा दिइए पनि यसको विस्तारमा कमी आउन नसकेको बताए । तसर्थ, यसको नियन्त्रणका लागि कानून बनाएर मात्र पुग्दैन, कार्यान्वयनमा पनि कठोर हुन आवश्यक छ । त्यसो नभए हाम्रो भोलि अनिश्चित र दुर्बल बन्ने पक्का छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here