तुलसीप्रसाद निरौला,बिर्तामोड ।
सुनकोशी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य पुण्यप्रसाद कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सीता थापा लिङ्देनले स्वागत गरेकी थिइन् ।
संस्थाको डाँगीवारी सेवाकेन्द्रमा भएको साधारण सभामा संस्थाका अध्यक्ष गंगाराम ओडारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा शेयर सदस्य तीन हजार आठ सय ४१ जना , शेयर पुँजी एक करोड ५७ लाख रुपैयाँ , निक्षेप संकलन नौ करोड ४७ लाख ४९ हजार दुई सय १८ रुपैयाँ, कर्जा लगानी नौ करोड ६४ लाख आठ हजार छ सय दुई रुपैयाँ , वार्षिक कारोवार ४७ करोड ७९ लाख ७७ हजार तीन सय २३ रुपैयाँ १८ पैसा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले शेयर सदस्यको मृत्यु हुँदा काजकिरीया खर्च वापत उपलव्ध गराउँदै आएको रकम १० हजार रुपैयाँ पुर्याएको, शेयर सदस्यका बाबु /आमा र श्रीमान /श्रीमतीको मृत्यु हुँदा काजकिरीया खर्च वापत पाँच हजार रुपैयाँ र महिला शेयर सदस्यको हकमा अविवाहित भए बाबु /आमा, विवाहित भए सासु/ससुराको मृत्युमा कोषको रकम प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै एसईईमा उत्कृष्ठ शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरी छात्रवृत्ति रकम प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्षदेखि प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्ने शेयर सदस्यका छोराछोरीलाई ११ प्रतिशत व्याजदरमा दुई लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलव्ध गराइने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाले कोरोना कहरको समयमा बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा ३७ हजार पाँच सय रुपैयाँ र बाह्दशी गाउँपालिकाले स्थापना गरेको कोरोना कोषमा २५ हजार रुपैयाँ प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थामा विगत आठ वर्षदेखि लेखापालको रुपमा कार्यरत् बिर्तामोड –८ मेथीवारी निवासी पदम मिश्रको ठूलो आन्द्राको क्यान्सरका कारण मृत्यु भएकोमा संस्थाले गरिदिएको बिमा रकम दुई लाख ३७ हजार छ सय ३२ रुपैयाँ मिश्रकी श्रीमती मोना मिश्र आचार्यलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले यस अघि लेखापाल मिश्रलाई काजकिरिया खर्चवापत ५० हजार रुपैयाँ र उपचाररत् रहेको समयमा उपचार खर्चवापत दुई लाख ३६ हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ ।
त्यस्तै शेयर सदस्य सरेश राजवंशीको मृत्यु भएकोमा उनको नाममा रहेको ऋण ७८ हजार नौ सय ९३ रुपैयाँ मिनाह गरि उनकी आमा सुवासी राजवंशी र छोरा सिसु राजवंशीलाई ३९ हजार आठ सय २३ रुपैयाँ हस्तान्तरण गरिएकोे प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी शेयर सदस्यलाई निःशुल्क दुर्घटना बिमाको सुविधा , रेमिट्यान्स सेवा, ट्याव मार्फत रकम संकलनको व्यवस्था लगायतका योजना प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका लेखा समितिका संयोजक नरेशकुमारसिंह राजवंशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा व्यवस्थापक कमल पराजुलीले गरेका थिए ।































